न्यु योर्कको राजधानी अल्बानीमा नेपाली समुदाय दिवस मनाइयो
अल्बानी, न्यु योर्क/ न्यु योर्कको राजधानी अल्बानीमा मंगलवार नेपाली समुदाय दिवस मनाइएको छ। नेपाली समुदायलाई न्यु योर्क स्टेट एसेम्ब्ली फ्लोरमा औपचारिक रूपमा परिचय गराएर दिवसको सुरुवात भएको छ।
सभासदहरु स्टिभन रागा, सरहाना श्रेष्ठ र जेनिफर राजकुमारको सहकार्यमा नेपाली महावाणिज्य दूतावास, न्यु योर्क राज्यभरका ३० भन्दा बढी नेपाली संस्थाहरूसँगको साझेदारीमा नेपाली समुदाय दिवस मनाइएको हो।
नेपाली समुदायका दुई सय भन्दा बढी सदस्यहरूले स्वागत समारोहमा भाग लिएका थिए। संसद् बैठकमा सांसद स्टिभन रागाले सभामुखसँग नेपाली दिवसको बारेमा औपचारिक परिचय गराएका थिए। त्यस पछि न्यु योर्क राज्य विधान सभा सभामुख कार्ल हेस्टीले नेपाली दिवस अनुमोदन गराएका थिए।
सभासद् स्टिभन रागाले आफ्नो जिल्लाको मात्रै नभई न्यु योर्क राज्य र बाहिरका सबै नेपाली समुदायको उपस्थिति रहेको उल्लेख गर्दै न्यु योर्क राज्यको विधायी प्रक्रियामा नेपाली समुदायको बढ्दो प्रभाव र उपस्थितिलाई जोड दिए।
सभामुखलाई समुदायको परिचय दिँदा, उनले भने, “यो एक समुदाय हो जुन धेरै जीवन्त, ऊर्जावान् र दयालु छ, न्यु योर्क शहर र न्यु योर्कको ग्रेटर स्टेटको प्रतिबिम्बित छ।”
दिनको महत्वलाई थप्दै, सिनेट फ्लोरमा नेपाली समूहलाई सिनेटर माइकल जियानारिसले सम्बोधन गरेका थिए। उनले राज्य शासनमा नेपालीहरूको योगदान र उनीहरूको उपस्थितिको महत्त्वलाई थप प्रकाश पारे।
अल्बानी सांस्कृतिक कार्यक्रममा नेपाली सामुदायिक दिवसको पछिल्लो खण्डमा सभासद् नादेर सायेघ, जर्ज अल्भारेज, ग्रेस ली, युडेल्का तापिया, जेक ब्लुमेन्क्रान्ज, म्यान्नी डे लस सान्तोस, महान्यायाधिवक्ताका कार्यालयका प्रतिनिधिहरूलगायत उपस्थित थिए।
कार्यक्रममा न्यु योर्क राज्य एशियन अमेरिकन प्यासाफिक आइल्याण्डर (एएपीआइ) टास्क फोर्स कार्यकारी सदस्यहरू र अन्य निर्वाचित अधिकारीहरू सहभागी थिए।
वक्ताहरूले राज्यका निर्णयहरूमा नेपाली समुदायको दृश्यता र प्रभाव बढाउनको लागि यो दिनलाई महत्त्वपूर्ण क्षणको रूपमा मान्यता दिए।
सभासद् स्टिभन रागाले टिप्पणी गरे, “आजको कार्यक्रम न्यु योर्क राज्यमा नेपाली समुदायको जीवन्त योगदानको प्रमाण हो। आज क्यापिटलमा उनीहरूको उपस्थिति उनीहरूको सांस्कृतिक समृद्धिको प्रतीक मात्र होइन, हाम्रो राज्यको भविष्यलाई आकार दिन उनीहरूको बढ्दो भूमिका पनि हो। ”
सभासद् सरहाना श्रेष्ठले भनिन्, ‘हाम्रो प्रदेशको व्यवस्थापिका प्रक्रियामा नेपाली समुदायको सहभागिता गर्वको कुरा हो । यसले थप समावेशी र प्रतिनिधिमूलक शासनतर्फ हामीले चालेका कदमहरूलाई सङ्केत गर्छ।”
सभासद् स्टिभन रागाको कार्यालयका सामुदायिक मामिला निर्देशक डोल्मा लामाले कार्यक्रम ऐतिहासिक भएको बताइन्। उनले कार्यक्रम भव्य सफल भएको र भविष्यमा पनि निरन्तरता पाउने जनाइन्।
‘नेपाली समुदायका सदस्यहरू जो यस महत्त्वपूर्ण दिनलाई सम्भव बनाउन उत्सवमा देखा परे, हाम्रो वकालतलाई अझ प्रभावकारी बनाउन हामीले हरेक वर्ष अल्बानीको न्यु योर्क राज्यको क्यापिटलमा नेपाली समुदाय दिवस मनाउने छौँ।’ उनले भनिन्।
नेपाली दिवस संसदमा अनुमोदन पछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाली-अमेरिकीहरूको समृद्ध सांस्कृतिक सम्पदा र योगदानलाई प्रकाश पारिएको थियो।
कार्यक्रममा परम्परागत नेपाली सङ्गीत, नृत्य र नेपाली खाना प्रस्तुत गरिएको थियो। मिथिला नृत्य, शेर्पा नृत्य, अन्य धेरै नेपाली परम्परागत नृत्यहरू र सङ्गीत प्रस्तुत गरिएको थियो।
तस्विरहरु इन्द्र थोकर