इजरायलसँग नयाँ वार्ताको प्रस्ताव हमास प्रतिनिधिद्वारा अस्वीकार

काठमाडौं । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गरेका छन् ।
अल जजीरा अरेबीसँगको हालैको टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए ।
हमासले युद्धविराम प्रस्तावलाई पहिले नै स्वीकार गरिसकेको र इजरायलले भने प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै वार्ताको नयाँ प्रस्ताव आवश्यकता छैन तर बन्धक फिर्ता र युद्धविरामलगायत इजरायली सेना गाजाबाट फर्किने शर्त वार्ताका प्राथमिकता हुनु पर्नेमा जोड दिएका छन् ।
यस महिनाको सुरुमा हमासले इजरायलले प्रस्ताव अपर्याप्त ठानेको भएपनि सात महिनाको गाजा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो । इजरायली सञ्चारमाध्यममा आएका रिपोर्टहरूले पेरिसमा मध्यस्थकर्ताहरूसँगको छलफलपछि गाजा बन्दी मुक्तिसम्बन्धी सम्झौताको लागि नयाँ वार्ताको सुझाव दिएको अल जजिराले जनाएको छ ।
इजरायली गुप्तचर प्रमुख डेभिड बार्नियाले सीआईएका निर्देशक बिल बन्र्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग नयाँ वार्ताका लागि सहमति जनाएका थिए । यद्यपि, कुनै पनि अस्थायी युद्धविराम सम्झौताले इजरायलसँगको शत्रुताको समाधान भविष्यसम्मका लागि प्रशस्त नहुने चिन्ता प्यालेष्टिनी रक्षा मन्त्रालयले व्यक्त गरेको छ ।
हमास अस्थायी युद्धविरामका समाधान गर्नुको सट्टा युद्धको स्थायी अन्त्यमा जोड दिँदै आफ्नो पक्षमा अडिग रहेको छ । इजरायलले भने हमासको पूर्ण विघटनसहित आफ्ना उद्देश्यहरू प्राप्त गरेपछि मात्र द्वन्द्व अन्त्य गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
अन्तर्राष्ट्रिय न्याय अदालतको रफाह आक्रमण रोक्ने आदेश र अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली नेताहरूविरुद्ध गिरफ्तारी आदेश जारी गरेको जस्ता हालसालैका घटनाक्रमले बढ्दो कूटनीतिक गतिरोधलाई प्रतिबिम्बित गर्दछ । आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई मान्यता दिने निर्णयले इजरायलको कूटनीतिक चुनौतीलाई थप जटिल बनाएको छ ।