टी-२० विश्वकपको संघारमा क्यानडाका प्रशिक्षक पुबुदु बर्खास्त
पेन्सिल्भेनिया । आईसीसी टी-२० विश्वकप शुरू हुन केही दिन बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायेकेलाई बर्खास्त गरेको छ।
श्रीलंका-क्यानाडाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी पुबुदु सन् २०२२ को जुलाईमा क्यानाडाको प्रशिक्षकका रूपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।
पुबुदुले क्यानाडालाई विश्वकपमा छनोट गराएका थिए। यस्तै, उनले सन् २०२३ मा क्यानडालाई ओडीआई मान्यता पुन: दिलाएका थिए। उनकै प्रशिक्षणमा क्यानडाले सीडब्ल्यूसी च्यालेन्ज लिगबाट सीडब्ल्यूसी लिग २ मा पदोन्नति पनि गरेको थियो।
क्रिकेट क्यानडाका नवनिर्वाचित उपाध्यक्ष गुरदीप क्लेयरले पबुदु टोलीका लागि अब आवश्यक नरहेको बताएका छन्।
क्रिकबजका अनुसार उनीसँग खेलाडीहरू असन्तुष्ट रहेका थिए। त्यसैले खेलाडीहरूले बोर्डलाई पत्र लेखेका थिए। उक्त पत्रमा खेलाडीहरूले आफ्नो नाम राखेका थिएनन्।
क्रिकेट क्यानाडाले उक्त पत्र हात पारेसँगै पबुदुलाई बर्खास्ती गरेको हो। बुधबार साँझ बोर्ड बैठक बस्ने अपेक्षा गरिएको छ। क्यानडाले पबुदुको स्थान कसले लिने भन्नेबारे कुनै जानकारी दिएको छैन।
क्यानडाले टी–२० विश्वकपको उद्घाटन खेल जुन १ मा आयोजक अमेरिकासँग खेल्नेछ ।