कान्सासको यात्रा र शनिवारको दिन
पहिलो दिन
हाम्रो कान्साससिटी जाने तयारी दुई साता अगाडी बनेको थियो। त्यसकालागि अमेरिकन एयरलाइन्सको अनलाइन टिकट बुकिङ गरेका थियौ। कान्सासको कार्यक्रम र समयले हामीलाई शनिवारको दिन यात्रा गर्नु पर्ने भयो।भतिज निरव खनालले युनिभर्सिटी अफ मिजोरी कान्साससिटीबाट सिभिल(स्ट्रकचरल ) इन्जिनियरिङमा स्नातकोत्तर सकेका थिए। १२ मे २०२४ मा उनको दीक्षान्त समारोह हुँदै थियो। शनिवार नगए कार्यक्रममा सहभागी हुन सकिन्थेन। त्यही कार्यक्रममा सहभागी हुन कान्साससिटी गएका थियौ। म अगिल्लो वर्ष १४ नोभेम्बर २०२३ मा छोरा सूर्य खनालको ग्र्याजुएसन सेरोमोनिमा सहभागी हुन अष्ट्रेलिया गएको थिए। उनले माष्टरर्स इन बिजनेस एड्मिनिष्ट्रेसनमा स्नातकोत्तर सकेका थिए। छोराहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त गरेको डिग्रीको राम्रो उपयोग हुनेमा हामी विश्वस्त छौ। अष्ट्रेलियाको ग्र्याजुएसन सेरोमोनिमा सहभागी भएर फर्के पछि कान्साससिटीमा हुने ग्र्याजुएसन सेरोमोनीमा सहभागी हुन कान्साससिटी जान शनिवार बिहानै घरबाट निस्कियौ। शनिवारको यात्रा त्यति उल्लासमय हुँदैन। परिस्थिति यस्तो बन्यो कि त्यही दिनमा कान्सास जानु पर्ने भयो । हामीले बोर्डिङ पनि अनलाइन गरेका थियौ। प्रविधिको उपयोग गरेर समय घटाएका थियौ। त्यसै अनुसार एयरपोर्ट पुग्ने समय मिलाएका थियौ।
घरबाट निस्कन पन्ध्र मिनट जति ढिलो भयो । हामीलाई लाग्यो बोर्डिङ अनलाइन भई सकेको छ भनेर। हामी ढुक्क भएर एयरपोर्ट पुगेका थियौ। एयरपोर्ट पुग्दा ६.३० भएको थियो। ७.१५ को फ्लाइट थियो। तर सुरक्षा जाँचका लागि लामो लाइनको सामना गर्नु पर्यो। समयले हामीलाई पर्खिएन। समय घर्किसकेको थियो। सुरक्षा जाँच छिटो भइदिएको भए फ्लाइट भेटिने कुरामा दुबिधा थिएन। परिणाम सुरक्षा जाँचमा समस्या देखियो। सबै तिर हुने सुरक्षा जाँच एकाएक रोकियो। हामी भन्दा ठिक अगाडि भएको व्यक्तिको ब्यागबाट चक्कु जस्तै देखिने एउटा सामानलाई एक्स-रे मेसिनले देखाएछ । सुरक्षा पङ्क्तिमा हलचल पैदा भयो। सुरक्षा जाँच रोकियो। एक्स-रे मेसिनले देखाएको सामान सानो थियो। हेर्दा सामान्य लाग्थ्यो। फलामबाट बनेको व्यक्तिगत प्रयोगमा आउने सामान थियो। तर त्यही सामानले सुरक्षा चुनौती उत्पन्न गर्यो। जसको कारण सुरक्षा जाँच कडा भयो। त्यो व्यक्ति दौडेर जहाजको नजिक पुग्यो र जहाज चढेर गयो।
सुरक्षा जाँच करिब पौने घण्टा रोकियो । छोटो समय लिएर एयरपोर्ट पुगेका हामीलाई सुरक्षा जाँच रोकिए पछि हाम्रो फ्लाइट छुट्नु स्वाभाविक थियो र छुट्यो पनि। धेरै फ्लाइटहरूलाई सुरक्षा निकायले रोक्यो। हाम्रो फ्लाइट रोकिएन। तोकिएको समय भन्दा पन्ध्र मिनट अगाडि एयरपोर्ट पुग्न सकेको भए त्यो परिस्थितिको सामना गर्न पर्थेन जस्तो लागि रह्यो ।पन्ध्र मिनट ढिला भएकोले हाम्रो फ्लाइट छुट्यो। टिकट पैसा फिर्ता नहुने सर्तको थियो। कुनै अवस्थामा पनि त्यो टिकटको उपयोग गर्नका लागि जानु नै पर्थ्यो ।
शङ्कास्पद ब्यागको ठिक पछाडि हाम्रो ब्याग थियो। हाम्रो ब्यागहरू पनि सुरक्षा नियन्त्रणमा पुगे। कृष्टिना छोरीको ब्यागलाई पुन एक्स-रे मेसिनमा राखियो र क्लियरेन्स दिइयो। मेरो र कल्पनाको ब्याग फिजिकल चेकिङमा पर्यो। सेक्युरिटी पर्सनले सोध्यो ब्यागमा के छ? मैले भने कुकिज र नट्सहरू छन्। अमेरिकाका आन्तरिक उडान भर्ने जहाजमा जति सुकै समय लागोस् भोक मेटाउने गरी खानेकुरा दिँदैनन्। त्यसैले खानेकुराको बन्दोबस्त गरेको थिए मैले। सुरक्षाकर्मीले मेरो ब्यागको चेन खोल्यो हेर्यो। ब्यागमा राखिएको कुकिज र नट्स देखे पछि ब्याग क्लियरेन्स दियो। सुरक्षा प्रक्रिया पुरा गरेर बोर्डिङ गर्ने काउन्टरसम्म पुग्दा हामीले उडान भर्ने अमेरिकन एयरलाइन्सको जहाजले केही माइल्सको यात्रा पार गरिसकेको थियो। जहाजले जमिन छोडिसकेको पनि पन्ध्र मिनट जति बितिसकेको थियो।
सधैँ बिग्रिरहने मौसम आज भने बडो रमाइलो किसिमले खुलेको थियो। फ्लाइट छुट्दा पनि मन कत्ति पनि आत्तिएको थिएन। चिन्ता पनि लागेन, मेरो मन ढुक्क थियो। मैले जे अनुमान गरेको थिए। त्यही भयो।अनुमान अनुसार मैले मनलाई सम्हालेको थिए।परिणाम जे सुकै आवास। फ्लाइट छुटेको नरमाइलोलाइ पनि मौसमले सान्त्वना दिइरहेको थियो। मेरो अमेरिकाको आन्तरिक फ्लाइट छुटेको यो पहिलो पटक थिएन। तेस्रो पटक थियो।पहिलो पटक अमेरिका आउँदा नेवार्कबाट आरडियू नर्थक्यारोलिनाको फ्लाइट छुटेको थियो। दोस्रो पटक न्यूयोर्कबाट आरडियू नर्थक्यारोलिनाका लागि फ्लाइट छुटेर न्यु योर्कमा नै रात बिताउन परेको थियो। अमेरिकामा फ्लाइट छुट्ने सिलसिला अब अन्तिम भइदिए हुन्थ्यो जस्तो लाग्छ। किन भने फ्लाइट छुटेको तीन पटक भइसकेको छ।
अमेरिकाका हरेक स्थानहरूमा फ्लाइट मार्फत जाने हो भने ट्रान्जिटको उपयोग अनिवार्य जस्तै रहेछ। तर डाइरेक्टर फ्लाइट पनि नभएका भने होइनन्। सामान्यतया टिकटको मूल्य अलि बेसी हुने रहेछ। हाम्रो कान्सास यात्राको ट्रान्जिट सार्लोटमा थियो। बिहान सात बजेको उडानबाट कान्साससिटी ११ बजे पुगिने समय तालिका थियो। त्यही अनुसार कान्साससिटी घुम्ने तालिका पनि तय गरेका थियौ। समयले साथ दिएन तालिकामा परिवर्तन गर्नु पर्यो। अब हाम्रो तालिका अनुसार दिनको तीन तीस बजे मात्र कान्साससिटी पुगिने गरी अमेरिकन एयरलाइन्सले हामीलाई बोर्डिङ गरायो दुई घण्टा पछि।
यो फ्लाइट हाम्रो अधिकारको थिएन अनुरोधमा थियो। सान्त्वना फ्लाइट थियो। अमेरिकन एयरलाइन्सको सदाशयतामा मात्र जाँदै थियौ। फेरि सबै एकैचोटी जान पाइने र नपाइने निश्चित थिएन । तर यति वेला समयले हामीलाई थोरै साथ दियो। हामी चारै जना एउटै फ्लाइटमा जान पाउने भयौ र गयौ। नत्र भने फ्लाइट स्प्लिन पनि हुन सक्ने सम्भावना थियो। तर एकसाथ यात्रा गर्न पायौ।
समयले मानिसलाई धेरै कुरामा निर्देश गर्छ। तर समयलाई हामीले बेवास्ता गर्छौ र अप्ठेरोमा पर्छौ । त्यसैले समयसँगै हिँड्न सक्नु पर्छ। समयलाई छोप्नु सक्नु पर्छ । समयले सबैलाई सजिलो पनि बनाउँछ र समयलाई बेवास्ता गर्दा असजिलो बछाउन्। दुःखको अनुभूति दिन्छ। समय सधैँ बलवान हुन्छ त्यसै भनिएको होइन। त्यसैले समयको ख्याल गरौँ। यही सन्देश दियो मे ११ गतेको शनिवारले।
हामीलाई अप्रत्याशित अप्ठेरो आइपर्यो। जुन अप्ठेरोलाई हामीले सहज रूपमा लियौ।सायद सुरक्षामा समस्या नआएको भए फ्लाइट छुट्थेन। अन्य कुनै समस्याले हामीलाई पिछा गर्थ्यो होला। अब मन रमाइलो भएको छ। अमेरिकन एयरलाइन्सको दोस्रो फ्लाइटमा हाम्रो फ्लाइट भयो। दुई घण्टाको पर्खाइ पछि अमेरिकन एयरलाइन्सले हामीलाई लिएर उड्यो। हामीलाई छोटो दुरीमा रहेको सार्लोट ट्रान्जिटमा छोड्यो । खुलेको मौसमले सबैलाई रमाइलो दिइरहेको थियो। घरबाट हिँडेको तीनघन्टा पछि मात्र अमेरिकन एयरलाइन्स भित्र प्रवेश गरेका थियौ । दोस्रो फ्लाइटमा सिट उपलब्ध गराएर हाम्रो फ्लाइटलाई निरन्तरता दियो अमेरिकन एयरलाइन्सले । अमेरिकन एयरलाइन्सको सेवा व्यवस्थापनले त्यति गुनासो गर्ने ठाउँ दिएन।
९ बजेर १७ मिनटमा जहाजले जमिनमा एप्रोच लिएको थियो भने ९ बजेर २५ मिनटमा जहाजले जमिन छोड्यो। अब हामी सत्ताइस हजारको उचाइमा थियौ । सिट एकै ठाउँमा मिलेन म एक्लै बस्न पर्यो बायाँ तर्फ साउथ अफ्रिकन मूलको जस्तो लाग्थ्यो गजधम्मे शरीर भएको मानिस थियो उसलाई जाडो भएर हो वा किन हो कपडा ओढिरहेको थियो। दायाँ तर्फ सुकोमल शरीर भएको एक युवा थियो।मोबाइलमा व्यस्त थियो। अमेरिकन मूल बासी जस्तो लाग्थ्यो। हँसिलो अनुहार थियो भने अर्को हेर्दैमा रिसाहा जस्तो देखिन्थ्यो। युवक झ्यालको सिटमा थियो। मलाइ फोटो खिच्न पर्ने भएकोले मैले उ सँग झ्यालबाट फोटो खिच्नका लागि अनुमति लिए। मुस्कुराउँदै उसले मलाइ झ्यालबाट फोटो खिच्ने अनुमति दियो। फोटो खिचे। आकाशमा नै जहाजले दुई मोड लियो। नर्थक्यारोलिनाको हरियाली र आजको मौसमको बडो सुरत मिलेको थियो। मानिसहरूको मन चञ्चल बनाउने वातावरण थियो। यस किसिमको मौसम बिरलै प्राप्त हुन्छ। निलो आकाश, हरियो जमिन र न्यानो घामको संयोजन आज बेजोड थियो। दश बजेर छ मिनटमा जहाजले सार्लोट एयरपोर्टमा ल्यान्ड गर्यो।
४६ मिनटको उडानमा सार्लोन पुगियो। सार्लोटमा अरू एकघन्टा उडान ढिला भयो। सार्लोट एयरपोर्ट मैले नसोचेको व्यस्त रहेछ। सैयौ उडानको ट्रान्जिट पोइन्ट रहेछ। न्यु योर्कका लागि आर डी यूबाट डाइरेक्ट उडान हुँदा पनि कतिपय मानिसहरूले सार्लोट ट्रान्जिट भएर न्यु योर्क उडान गर्दा रहेछ। करिब २.३० घण्टाको समय एयरपोर्टमा खर्च गरियो। १.४६ बजे जहाजले बोडिर्ग गरायो । अमेरिकाकामा हजारौँ मानिसहरूले जहाजले दिने सेवाको उपयोग गरिरहेका हुनेरहेछन। जमिनको यात्रा भन्दा आकाशको यात्रा तुलनात्मक रूपमा सुरक्षित मानिने रहेछ।
जहाजले २.०७ मा ग्राउन्ड एप्रोच लियो पुरै शक्ति लगाएर २.४२ मा आफ्नो सम्बन्ध जमिनबाट विच्छेद भयो। जहाजले चौतिस हजार फिट माथिबाट उडान गर्नु पर्ने भएकोले एकै छिन कुहिरो भित्र जहाज पस्यो। कुइरोको उचाइलाई पार गरेर जहाजले ३४ हजार फिट माथिबाट उडान गर्यो। कुइरोको सतह धेरै तल देखिन्थ्यो। रमाइलो पक्ष के थियो भने जहाजको रुटमा साना साना पहाडहरू देखिए। पहाडको खोचहरूमा बस्तीहरू देखिन्थ्यो। कतै पहाडहरूको बिचमा शहरहरू देखिन्थ्यो। त्यो हेर्दा लाग्थ्यो नेपालमै जहाजको यात्रा गरिरहेको छु कि जस्तो लाग्थ्यो ।
पहाड ठुला थिएनन् साना थिए। पहाडकै खोचबाट सडकहरू बनाइएका थिए। खोला र सडकहरू पहाडको खोचमा देखिन्थ्यो। नेपालकै यात्रा अनुभूति गरायो मलाइ। अब सेतो कुइरोले पुरै जमिन ढाक्यो। केही देखिएन। केही समयको उडान पछि लामा नागबेली नदीहरू देखिए। नदीका वरिपरि धमिलो पानीले ढाकेको जस्तै पुरै रातो जमिनहरू देखिन्थ्यो। जमिन भरि पानी थियो।उत्तरबाट बग्ने नदीहरूको पानीले जमिनलाई धमिलो बनाइ रहेको देखिन्थ्यो। फराकिला जमिनहरूमा साना साना शहरहरू प्रशस्त देखिन्थे। उत्तरी भागमा परेको पानीको प्रभाव नदी र जमिनमा देखिन्थ्यो।
२०-२२ हजार फिट माथि उडान भर्ने ७०-१००सिट क्षमताका जहाजहरू, हाम्रो जहाजको उचाइ भन्दा तल्लो भागबाट उडान गरिरहेका देखिन्थे। ती जहाजहरूको गति यति तीव्र थियो कि नेपालमा कुद्धने माइक्रो बसको अनियन्त्रित गति जस्तै यहाँका जहाजको गति तीव्र देखिन्थ्यो। ३.३९ मा कान्सास सिटीमा जहाज अवतरण भयो। नर्थक्यारोलिनाको समय अनुसार ४.४१ भएको थियो कान्साससिटी पुग्दा।
तेस्रो दिन
एयरपोर्ट तिर आउँदै गर्दा अमेरिकन एयरलाइन्सको उडान तालिकामा परिवर्तन भएको मेल आयो । फर्कने कार्यक्रम पूर्वनिर्धारित थियो। बेलुकाको ६.३० को उडानको तालिका थियो। दिनभर मिजोरी नदीको आकार प्रकार र बहावको बारेमा नजिकबाट अनुभव लिन एकघन्टाको ड्राइभमा गएका थियौ। मिजोरी र मिसिसिपिको सम्बन्धका बारेमा पनि जानकारी लिने काम गर्यौ । मौसम भने शीतल थियो। कहिलेकाहीँ सिमसिम पानी पर्ने र कहिले बन्द हुने क्रम चलिरहेको थियो।दिनको तीन बजिसकेको थियो। हामी खाना खाने तरखरमा लाग्यौ र एसियन फुड हिबाचीमा गएर बफेटखाना खाने निर्णयमा पुग्यौ।
हिबाची बफेट एयरपोर्ट पुग्न भन्दा अगावै दश मिनटको दुरीमा रहेछ। हिबाचीमा गएर खाना खाने र एयरपोर्ट जाने कार्यक्रम बनायौ । ६.३० को फ्लाइटबाट हामी निर्धारित समय ११.३० बजे रातको समयमा आरडियू नर्थक्यारोलिना पुग्ने कार्यक्रम थियो। बाटोमा आउँदै थियौ अमेरिकन एयरलाइन्सको मेल हेर्यौ । जुन मेलमा फ्लाइटको रिभ्यू थियो। दुई वटा विकल्प दिएर मेल पठाएको रहेछ। दुई मध्ये एउटा छान्नु पर्ने थियो। ७.३० को फ्लाइटमा गएर सार्लोट बस्ने कि कानसाससिटीबाट भोलिपल्ट ६.३० को फ्लाइटमा नर्थक्यारोलिना जाने। दुई वटा विकल्प थियो। उनीहरूले हामीलाई बाटोबाटै कानसाससिट फर्काउने वा सार्लोटमा गएर बस्ने कुरा स्वयम स्वीकार गराउन खोजे। हामीलाई शङ्का लाग्यो। फ्लाइट यस्तो हुनुको कारण खोज्न सम्बन्धित एयरलाइन्सको काउन्टरमा गएर बुझ्ने निधो गर्यौ। उडान तालिकामा आएको फेरबदलको कारण प्रभाव बुझ्यौ
मौसमको कारण भएको भए एयरलाइन्सले जिम्मा लिन नपर्ने रहेछ। एयरलाइन्सको कारणले फ्लाइटको समय नमिलेको हो वा क्यानसिल भएको हो भने एयरलाइन्सले जिम्मा लिन पर्ने रहेछ। तर एयरलाइन्स स्वयंले जिम्मा लिन नपर्ने गरी हामीलाई विकल्प प्रस्तुत गरेको रहेछ। जति मानिसले उनीहरूले भानेअनुसारको विकल्पमा स्वीकार गर्छन् त्यति वेला एयरलाइन्सले उनीहरूको व्ययभार बहन गर्नु नपर्ने भएकोले यस किसिमको परिबन्धमा धेरैलाई पारेको रहेछ।
हामीले बुझे पछि थाहा भयो विकल्प छान्न हुँदो रहेनछ। सार्लोट जानेलाई खाने र बस्ने व्यवस्था एयरलाइन्सले गर्नु पर्ने रहेछ र गर्यो पनि। उनीहरूले हामीलाई ढाँट्न सकेनन् र खाने र बस्ने भौचर दिए। त्यो पनि होटेल एमबास्डर जुन फाइभ स्टार स्तरको होटेल थियो। प्रत्येक यात्रुहरूलाई एम्बासडर होटेलको सुइट्स रुम उपलब्ध गराएको थियो । यदि उसले पठाएको म्यासेज स्वीकार गरेको भए हामी कि कानसाससिटीमा नै फर्कनु पर्थ्यो। कि सार्लोट एयरपोर्टमा रात बिताउनु पर्ने हुन्थ्यो। ती दुवै परिस्थितिलाई हामीले सामना गर्न परेन तर नर्थक्यारोलिना फर्कन भने एक दिन ढिला भयो। एयरलाइन्सको रणनीति नबुझ्नेहरू सबैले दुख पाए। त्यसैले फ्लाइटको तालिका तलमाथि हुँदा वा क्यान्सिल हुँदाँ धैर्यताका साथ बुझ्नु पर्ने रहेछ।
कमल खनाल