सन्दीपलाई अमेरिका पठाउने प्रक्रिया अगाडि बढ्यो : क्यान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढाएको छ ।
क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।
उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समेत पहल भइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यसअघि नै टी-२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् ।
बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट गत बुधबार सफाइ पाएका थिए । यससँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ ।
सन्दीपले कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका छन् । टी–२० विश्वकप यही जुन १ देखि शुरू हुँदैछ । यो प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।