अमेरिकामा रहेको तेक्वान्दो स्कुलको लोगो सगरमाथा चुचुरोमा
मेरील्याण्ड/ बाल्टिमोरमा सञ्चालनमा रहेको एभरेष्ट वल्ड क्लास तेक्वान्दो स्कुलको लोगो सगरमाथाको चुचुरोमा पुराइएको छ।
एभरेष्ट वल्ड क्लास मास्टर कुमार कार्की र कल्पना कार्कीले सञ्चालन गरेको स्कुल हो।
यो स्कुलले दोस्रो एभरेष्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मे १८ तारिख शनिवार बाल्टिमोरमा आयोजना गर्दै छ। च्याम्पियनसिपको पूर्वसन्धामा स्कुलको लोगो मे १३ तारिख बिहान ७:३० बजे सगरमाथाको चुचुरोमा पुराएको हो।
प्रशिक्षक कुमार कार्कीका अनुसार पूर्व तेक्वान्दो खेलाडी सुजन गुरुङले एभरेष्ट वल्ड क्लास तेक्वान्दोको लोगो अङ्कित झन्डा विश्वको छानामा पुराएका हुन्।
‘दोस्रो एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपको घोषणा सगरमाथाको शिरबाट गर्ने प्रतिबद्धता अनुसार नेपाली माउन्टेन गाइड तथा पूर्व तेक्वान्दो खेलाडी सुजनले हाम्रो झन्डा शिखरमा पुराएका हुन्।’ प्रशिक्षक कार्कीले समाज टाइम्स सँग भने।
कार्कीका अनुसार गुरुङलाई एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसनले प्रबन्ध तथा सहयोग गरेको थियो। कार्की फाउन्डेसनका संस्थापक हुन्।
‘खेल प्रेमी समुदायलाई तेक्वान्दो खेलको महत्त्व तथा यसको विशेषता सगरमाथाको शिरबाट घोषणा गर्न पाउँदा हर्षित छु।’ मास्टर कार्कीले भने, ‘एउटा पूर्व खेलाडीले सगरमाथाको सफल आरोहण गरेकोमा बधाई समेत दिन चाहन्छु।’
कार्कीले आगामी दिनहरूमा फाउन्डेसन मार्फत नेपाली खेलकुदको विकासका सहयोग गर्ने पनि जानकारी दिए।