नेपालले अमेरिका र क्यानडा सँग वार्म-अप म्याच खेल्ने
पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पुरुष टी-२० विश्वकप अगाडी नेपालले अमेरिका र क्यानडा सँग वार्म-अप म्याच खेल्न भएको छ।
आइसीसीले बिहीबार वार्म अप म्याचको आधिकारिक घोषणा गरेको हो। अभ्यास खेलहरू मे २७ तारिख सोमबार देखि जुन १ शनिवार सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने छन्।
आइसीसीले विश्व कप अगाडी १६ वटा अभ्यास खेलको तालिका बिहीबार सार्वजनिक गरेको हो।
नेपालले मे २७ मा टेक्सस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा क्यानडा सँग अभ्यास म्याच खेल्ने छ। सो खेल बिहान १०:३० शुरु हुने छ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेल मे ३० तारिख बिहीबार अमेरिका सँग खेल्ने छ। नेपाल र अमेरिका बिचको खेल पनि ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नै हुने छ।
सोही मैदानमा नेपालले जुन ४ तारिख विश्वकपको पहिलो खेल नेदरल्याण्ड सँग खेल्ने छ। नेपालले समूहको दोस्रो खेल जुन ११ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ।
समुह चरणमा नै नेपालले जुन १४ मा साउथ अफ्रिका र जुन १६ मा बंगलादेश सँग खेल्ने छ।
विश्व कपमा यस पटक २० मुलुकले भाग लिँदै छन्। जुन १ देखि २९ तारिख सम्म दुई देशका नौ शहरमा हुने विश्व कपमा कुल ५५ खेल हुने छन्। प्रतियोगिताको उद्घाटन खेल अमेरिका र क्यानडा बीच टेक्ससमा हुने छ।