डा. गोविन्द रिजालः भुटानी समूदायको असल अभियन्ता
काठमाडौं । डा. गोविन्द रिजाल । नाम नै भुटानी समूदायका लागि काफी छ । उनी भुटानी शरणार्थी हुन् भन्ने कुरा भने कमैलाई थाहा थियो । झापाको बेलडाँगीस्थित शिविरमा भुटानका राजाले लखेटेपछि नेपाल आएका १ लाख ३० हजार भुटानी शरणार्थीहरु जस्तै व्यक्ति गोविन्द ।
शिविरमा आइपुग्दा २१ वर्षका गोविन्दले भूटानी शरणार्थीको परिचयपत्र (नम्बर ५३४–०५२०२२००) बोकेर रामपुरमा कृषि विज्ञान अध्ययन पूरा गरि जापानबाट विद्यावारिधी अनुसन्धान सम्पन्न गरे । त्यसपछि फिलिपिन्स गई पोष्ट डक डिग्री हासिल गरेर कृषि वैज्ञानिक बने । सहपाठी डा. शान्ता कार्कीसँग उनको विवाह भयो ।
डा. गोविन्द कीर्तिपुरको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा प्राध्यापनरत उनी मे ५, २०२४ को दिन कक्षा लिन बनियाँटारबाट साइकलमा कीर्तिपुर आए । अनि १२० जना विद्यार्थीलाई सेमेस्टरको अन्तिम कक्षा सकाए । घर फर्कनेबेला २० वर्षपछि भौतिक रुपमा भेट भएको एकजना साथीसँग आइपुगे । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको क्यान्टिनमा चियानास्ता गर्न साथीसँग गएका थिए । लामो गफगाफपछि सम्झनाका लागि एउटा सेल्फी खिज्दै थिए आयुर्वेद केन्द्रको गेटमा ।
कीर्तिपुरबाट आएको अनियन्त्रित सार्वजनिक बस उनीमाथि पल्टियो । उनको घटनास्थलमै निधन भयो । उनको निधनपछि अहिले भुटानी समूदाय स्तब्ध छ । उनको पशुपति आर्यघाटमा मे ८ तारिखका दिन अन्त्यष्टि हुँदा झापाकै शिविरबाटै आएकाहरु डाको छाड्दै थिए । भुटानी शरणार्थी नेताहरुका साथै नेपालका उच्च व्यक्तिहरुको अन्त्यष्ठीमा उपस्थिीति थियो ।
डा. गोविन्द रिजाल निधन भएको कुरा सामाजिक सञ्जालमा देखियो । ‘कीर्तिपुरमा वस दुर्घटना हुँदा एक जनाको मृत्यु…’ शीर्षकमा समाचारहरु प्रकाशित भए । केहीबेरपछि प्रहरीले पुष्टि गर्योः मृतक डा. गोविन्द रिजाल त्रिवि कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका प्राध्यापक । त्यतिन्जेलसम्म उनको परिचय यतिमै सिमित थियो ।
ह्यारिसबर्गमा रहेका भुटानी समूदायले शोक विज्ञप्ति निकालेपछि समाज टाइम्सले पनि यस विषयमा चासो दियो । अनि उनको बारेमा सोधी खोजी गर्दा सुरुमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम ओझासँग सम्पर्क भयो । उनले डा. गोविन्द रिजालसँग निकट रहेर काम गरिरहेका त्रिविकै उप प्राध्यापक डा. तारालाल श्रेष्ठको नम्बर उपलव्ध गराए । उनले उपलव्ध गराएको नम्बरमा कुरा गरेपछि डा. श्रेष्ठसँग कुरा गर्न समाजटाइम्स प्रतिनिधि कीर्तिपुरस्थित अंग्रेजी केन्द्रीय विभागमै पुगे । त्यहाँ पुग्दा डा. श्रेष्ठ एक जना थिसिस विद्यार्थीसँग कुरा गर्दै थिए । हामी पुग्नासाथ विद्यार्थीलाई विदा गरेर हामीसँग कुरा गर्न तयार भए ।
हामीले सोध्यौं, तपाईं कसरी डा. गोविन्द रिजाललाई चिन्नुहुन्छ ?
म भुटानी शरणार्थीहरुसँग नजिक रहेर काम गरिरहेको थिएँ । मेरो विद्यावारिधीको विषय ‘सबाल्टर्न अध्ययन’ थियो । सवाल्टर्न अध्ययन शक्तिले थिचिएको, शक्तिविहीन, देशविहीन, अस्तिवविहीन व्यक्ति वा समूदाय केन्द्रित रहन्छ । मैले विद्यावारिधी सन् २००३/४ मा थाल्दाखेरि यो समूदाय नेपालमा को होलान् भन्दा भुटानी शरणार्थीले मलाई तानिहाल्यो । ओहो, वर्ग, लिङ्ग, क्षेत्र, जात, धर्म, संस्कृतिको आधारमा मान्छेलाई शक्तिविहीन बनायो, तर, नेपाली भाषी भुटानीलाई त राज्यविहीन, नागरिकता विहीन नै बनायो । यो भन्दा ठूलो पीडा शक्तिकै कारण थिचिएको समूदाय त को होला भन्ने लागेर मैले भुटानी शरणार्थीको विषयमा अध्ययन गर्ने निधो गरे।
त्यो बेला झापाको भुटानी शरणार्थी शिविरहरुमा १ लाख बढी मानिसहरु थिए । शिविर पनि सात वटा थियो । सबै क्याम्पहरु घुमेर हिँड्थे । क्याम्प घुम्नजाँदा त्यस समय डरमोर्दो अवस्था थियो । त्यतिबेला भुटानी शरणार्थीहरुलाई तेस्रो देशमा लाने की नलाने भन्ने कुरामा भयंङ्कर बहस (लडाईं) जस्तै थियो । त्यतिबेला तेस्रो देश जानु ठिक भन्ने मान्छेले कुटाई खान्थ्यो । बेला बेलामा झडप हुन्थ्यो । एक्टिभिस्ट (अभियन्ता)हरुको हत्या पनि भएको थियो । त्यहाँ गएर म खुलेयाम रिसर्च गर्न आएको भन्ने अवस्था थिएन । त्यसैले म जासुस जसरी त्यहाँ गएर अध्ययन गर्थे । एउटा सानो बाथरुम जस्तो स्पेसमा परिवार अटेका थिए । त्यहाँ विभिन्न घटनाहरु भइरहन्थ्यो । भारत भुटानको विषयमा बोल्न नचाहने, नेपालमा माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । भूराजनीतिक परिस्थीतिले युरोप अमेरिकाहरु भुटानी शरणार्थीहरु सबै माओवादी त बन्ने होइन भन्ने डरमा थिए । मेरो सुपरभाइजर अभि सुवेदी हुनुहुन्थ्यो । उहाँलाई पनि भनेको थिइनँ । म सुटुक्क शिविरमा जान्थे । भुटानी शरणार्थीहरुसँग मेरो संगत बढ्यो ।
काठमाडौंमा पनि थुप्रै शरणार्थी साथीहरु रहेछन् । अधिकांश ठाउँमा उहाँहरुले आफ्नो पहिचान लुकाउनु हुन्थ्यो । अलिअलि लेख्न थालेको थिए । त्यसैमा उपन्यास ‘सपनाको समाधी’ लेखे । डा. गोविन्द रिजालले नै विदेशबाट फोनगर्नुभयो । मेरो किताव प्रकाशित हुनेवित्तिकै अनलाइन मगाएर पढेर सबै ‘रिभ्यू’ गर्नुभएछ ।
शिविरमा गोविन्द सरको सम्बन्ध ?
शान्ता कार्की उहाँको सहपाठी हुनुुहुन्थ्यो । उहाँहरुले विवाह गर्नुभयो । नेपाली केटीसँग विवाह गर्नुभयो र लामोसमय विदेशमा बसेर अध्ययन गर्दा क्याम्पमा आएर शरणार्थी कार्ड नविकरण गरिरहने कुरा पनि भएन । शिविरमा उहाँको छाप्रो त छ तर उहाँको नविकरण छुटेकाले हो पनि होइन पनि भन्ने अवस्थामा थियो । नेपाली केटी विहे गरेको, उच्च शिक्षा हासिल गरेको उहाँ त ‘पोस्ट डाक्टर’ गरेको व्यक्ति हो । उहाँ ‘सी फोर धान प्रजातीको’ विज्ञ (वैज्ञानिक) हुनुभएको थियो । उहाँको जीवनसाथी शान्ता कार्की पनि पीएचडी होल्डर, पोष्ट डक हो । गोविन्द रिजालको परिवारका अन्य सदस्यहरु प्रक्रिया पूरा गरेर अमेरिका प्रस्थान गर्नुभयो ।
बाबुआमालाई भेट गर्न जानका लागि ट्राभल डकुमेन्टको तयारी गर्नुभएको थियो । चैत ५ मा शिविरमा दिएको निवेदनको प्रक्रिया जारी थियो क्यार । अमेरिकामा रहनु भएका मातापिता विरामी भएको र जेठा छोरा गोविन्दलाई भेट गर्ने इच्छा रहेकाले जाने तयारी गर्दै हुनुहुन्थ्यो । नेपालीसँग विहे भएकै कारण नेपाली नागरिकता पनि सहज पाउने अवस्था थिएन । नेपालमा कृषिको विषयमा उहाँजत्तिको विज्ञ मान्छे अर्कोसँग मैले सँगत नै गरेको छैन । पोस्ट डक्टरसकेपछि नेपाल आउनु भयो र मेरो सम्पर्क झन बढी बाक्लो भयो । उहाँसँग मिलेर हामीले बौद्धिक काम गरिरहन्थ्यौं ।
नागरिकता नहुँदा कसरी त्रिविमा ?
उहाँहरुलाई निश्चित अधिकार दिएको हुन्छ । उहाँ स्थायी हुन पाउनु भएन, ठोस जागिर पाउनु भएन । तर काम गर्न निश्चित अधिकार थियो । उहाँलाई देख्दा विश्वका अन्य देशको तुलनामा नेपालमा काम गर्न स्वतन्त्रता छ जस्तो लाग्छ । गोविन्द सरलाई अप्ठेरो पनि थियो । यात्रा अनुमति (ट्राभल डकुमेन्ट) का कारण विदेश जान पनि बेलाबेला रोकिनु पर्ने अवस्था थियो । त्यसले गर्दा मसँग उहाँले साथ खोज्नुहुन्थ्यो । म पनि परराष्ट्र मन्त्रालय पुगेको छु । एक जना साथी हुनुहुन्थ्यो पहिला त्रिविका सहकर्मी । पछि परराष्ट्रमा जानु भयो । अहिले राजदूत हुनुहुन्छ । उहाँको विषयमा साथीले सक्ने सहयोग पनि गर्नुभयो । शिविर पनि गइरहनु हुन्थ्यो । शिविरसँग वहाँ जोडिएकै थियो ।
साइकल लभर
शिविरमा रहदा साइकल अभिन्न अंगझैँ भइहाल्यो । डा. गोविन्द र डा. शान्ता फिलिपिन्स र जापानमा बस्दाखेरि पनि दुवै जना साइकल चढ्नुहुन्थ्यो । त्यहाँ साइकल चोरि भएको कुरा पनि गर्नुहुन्थ्यो । विश्वका धेरै देशमा साइकल कल्चर छ । विश्व विद्यालयका प्रोफेसर साइकल नै प्रयोग गर्छन् । उहाँहरु दुवै जना कृषि वैज्ञानिक भएकाले साइकलमा लगाव थियो । म पनि साइकल एक्टिभिस्ट भएको नाताले सम्बन्ध अझ गाढा भयो । उहाँले मलाई तपाईं साइकल एक्टिभिस्ट, यसलाई कृषिसँग जोड्नु पर्छ भन्नु हुन्थ्यो । सामान्य कृषि गर्ने मान्छेले त सबै कुरामा साइकलको प्रयोग गर्न सक्छन् भन्ने उहाँको अभियान नै थियो । उहाँले मलाई जहिल्यै साइकल चढ्ने देखेपछि साइकलमा आकर्षित हुनुभयो । डा. शान्ता वगावानीमा प्रमुख भएपछि उहाँको घर बाँनियाटार । गाडी लिन जान्थ्यो र त्यसमा आएर कीर्तिपुरमा मसँग दिनभरी बस्नुहुन्थ्यो । दिनभरी लेख्नुहुन्थ्यो भने मैले एडिट गर्थे ।
‘अ परदेशी इन प्याराडाइज’ पुस्तक मैले नै एडिट गरेको थिएँ । म धेरै पटक उहाँको घरमा गएको छु भने उहाँ र मेडम पनि मेरो घरमा आउनुहुन्थ्यो । मेरो पारिवारिक सम्बन्ध नै थियो । चार पाँच वर्ष काठमाडौंमा भौतारिनुभयो । झापा पनि पुगि रहनुहुन्थ्यो । एक दिन राति उहाँले मलाई बुटवलबाट फोन गर्नुभयो र भन्नुभयो ‘तपाईंले साइकल चलाएको कुराले मलाई निकै छोयो । म अर्को हप्ता काठमाडौं आउँदै छु । कीर्तिपुरमा नियमति कक्षा लिन आउनु पर्ने भएको छ । त्यसले गर्दा मलाई अब साइकल चढ्नु पर्छ ।’ तपाईंको जस्तै साइकल किन्नु पर्यो भनेर उहाँ काठमाडौं आउनु भयो ।
विदेशमा बसेर साइकल कल्चरमा हुर्किएकाले सबै कुरा थाहा थियो । मैले चढेको जस्तै साइकल किन्नुभयो । म अलि स्पोर्टी तरिकाले साइकल चढ्ने मान्छे तर उहाँले भने क्यारेजसहितको साइकल लिनुभयो । साइकल फिट गरेर फर्किँदा राती भइसकेको थियो । साइकल मज्जाले हाँकेर उच्च ट्राफिकमा पनि मज्जाले घर जानुभयो । म साइकलबाट जहाँतही पुग्ने गरेको छु । मैले साइकलबाट थोरङ्ला पास पार गरेको छु । याक अट्याकमा गएको देखेर उहाँले अर्को बर्ष त्यसमा आफू पनि जाने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँ दैनिक साइकलमा बानियाँटारबाट कीर्तिपुर आउन थाल्नुभयो । उहाँ कीर्तिपुर आएको छु चिया खाउँ भन्नुहुन्थ्यो । उहाँले भन्दा अधिकांश समय म घरमा खाना खाइरहेको हुन्थे । तैपनि म साइकल हाँक्दै उही आयुर्वेद केन्द्रको क्यान्टिनमा हामी भेटेर चिया खान्थ्यौं । उहाँ जीवनको अन्तिमसमयसम्म साइकल चढ्नु भयो । काठमाडौंमा उहाँले साइकल चढ्न थालेको ४ वर्ष जति भएको थियो । त्यो साइकल अहिले सकुसल वहाँको त्रिवि विभागभित्रै छ ।
यसरी निधन
उहाँ साइकलमै हुनुहुन्थ्यो । उहाँ बानियाटारबाट साइकलमै कीर्तिपुर आउनुभयो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको गेटको अपोजिट उहाँको कलेज छ । त्यो भित्रको पार्किङमा साइकल राख्नुहुन्छ । उहाँको तीन वटा कक्षाका १२० जना विद्यार्थीहरु लास्ट कक्षा लिन आएका थिए । उहाँले निकै महत्वपूर्ण कक्षा ‘टेक्निकल राइटिङ’ ‘स्टाटिक्स’ र साइन्सको महत्वपूर्ण विषय पढाउनुहुन्थ्यो । पढाइसकेपछि घर जान लाग्दा उहाँसँग डा. सुमनबन्धु कोइरालाको भेट भयो । उहाँहरुले २ दशक अघि एकै ठाउँमा चार वर्षसम्म सहकार्य गर्नुभएको थियो । २ दशकपछि भेट गर्ने दिन जुरेछ । मलाई पनि भेटाउने कुरा थियो, खबर गर्न भ्याउनुभएन ।
म आइपुगिन त्यसदिन । उहाँहरु पारि चिया खान जानु भएछ । साइकल कलेजमै छ । साइकल चढिरहेका बेला दुर्घटना भएको होइन । आयुर्वेदको क्यान्टिन गेटसँगै जोडिएको छ । त्यही बसेर उहाँले चिया खानुभयो । उठेर जाम गफ गर्दै गर्दै धेरै बेर भयो । दुई तीन पटक सर्दै सर्दै उभिएर गफ गर्नुभयो । अन्त्यमा फोटो लिएर छुट्मि भनेर मोबाइल निकालेरे फोटो लिन खोज्दा बस हुत्तिएर आएर पल्टिएछ । उहाँ त्यही बसमा च्यापिनु भयो र कम्मरदेखि मुनिको भाग काम नै नलाग्ने अवस्था थियो ।
घटनास्थलमै वहाँको निधन भयो । उहाँको साथी सुमनबन्धु भने फुत्त छल्लिएकाले एक दुई इन्चीले बाँच्नुभयो । म त्यो घटना सुनेपछि झण्डै बेहोस भए । उहाँसँग मेरो सम्बन्ध भएको पनि १५ वर्ष भइसकेको थियो । म अहिले पनि घटनास्थलमा पटक पटक गइरहेको छु । कतै गोविन्दले बोलाउनुहुन्छ की भनेर झझल्को आउछ । साइकल कलेजमै छ । त्यसको फोटो पनि खिचेको छु ।
भुटानी समूदायप्रति
गोविन्द जी कस्तो मान्छे हो भने, उहाँले चाहँदा विश्वको जुन कुनै देशमा पनि गएर बस्न सक्नुहुन्थ्यो । उहाँ त्यो चाहनु हुन्नथ्यो । उहाँ भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा लैजाने कुरामा पनि पूर्ण सहमत हुनुहुन्नथ्यो । उहाँलाई अमेरिका बस्नका लागि आफ्नै समूदायकाले आग्रह गर्दा जान मान्नु भएन । उहाँको एकमात्र तर्क थियो ‘हामी सबै तेस्रो मुलुकमा जाने हो भने भुटानी राजासँग गरेको आन्दोलन त सकियो त्यसैले एक जना भए पनि भुटान फर्किनु पर्छ । त्यसका लागि पनि म नेपालमै बसेर संघर्ष गर्छु । जानै परे भुटान जान्छु होइन भने अनेत्र जाँदिन्न ।’ अर्को कुरा उहाँले नेपाललाई एकदमै माया गर्नुहुन्थ्यो । यहाँ त पार्ट टाइम जागिर थियो । अर्को वर्ष कक्षा भएन भने जागिर सकिन्थ्यो । तर उहाँ हामीहरु भन्दा पनि खुसी देखिनुहुन्थ्यो । उहाँलाई कुनै गुनासै थिएन र त उहाँले नेपालललाई स्वर्णभूमी भन्नुहुन्थ्यो । डा. गोविन्द भुटानीहरुको लायक नायक हुनुहुन्थ्यो ।
कसरी ?
उहाँ बौद्धिकरुपले परिपक्व, थप परिपक्व हुँदै गइरहनु भएको थियो । कमाउ मोजमस्ती गर भन्ने ध्यानै थिएन । जाँडरक्सी केही पनि कुलत थिएन । एकदमै ‘डाउन टु अर्थ’ खालको मान्छे हुनुहुन्थ्यो । सबैको सहयोगी मान्छे पनि हुनुहुन्थ्यो । भुटानी शरणार्थी नेताहरु त एकसे एक फुटमा छन् । एउटाको अनुहार देख्दा अर्को उता फर्किने अवस्था छ ।
तर पनि डा. गोविन्द नै यस्ता व्यक्ति हुनुहुन्छ उनले नै सबैलाई एक ठाउँमा राखेर काम गर्ने ल्याकत राख्नुहुन्थ्यो । उहाँको महान कुरा भनेकै सालिनता हो । पछिल्लो समय शिविरमै गएर बस्ने योजना पनि बनाउनु भएको थियो । शरणार्थीको मुद्दामा साह्रै नै बेथिति भयो अब यसलाई सफा गरेर आन्दोलन निकर्षमा पुर्याउनका लागि लाग्ने प्रण गर्नुभएको थियो । साथीहरुले पठाएका कामहरु रातभरी नसुतेर पनि गरिदिनुहुन्थ्यो । मलाई लाग्छ उहाँले कमाएको पैसा त भुटानी शरणार्थी शिविर जाँदा जाँदै सिद्धिन्थ्यो होला ।
नक्कली भुटानी शरणार्थी प्रकरण पछि
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजालको कुरा जब आयो त्यसबाट एकदमै दुःखी हुनुभयो । उहाँले पटक पटक भन्नुहुन्थ्यो, यो विषयलाई लिएर केही मुभमेन्ट गरौं । टेकनाथ रिजाललाई नराम्रोसँग फसाइयो यसबाट अन्याय भयो भन्ने उहाँको बुझाई थियो । उहाँले पहिलादेखि नै सघाउँदै पनि आउनु भएको रहेछ । उहाँको सबैसँग सम्बन्ध राम्रो थियो । भुटानी समूदायले एउटा हिरा नै गुमाएको छ । उहाँको निधन भएपछि यतिका चर्चा गर्नु भन्दा पनि पहिला नै चिनेर उहाँको योग्यता र क्षमता कदर गर्नु पर्ने व्यक्ति हो । हार्दिक श्रद्धाञ्जली ।
(त्रिवि अंग्रेजी विभागका उप प्राध्यापक डा. तारालाल श्रेष्ठसँगको कुराकानीमा आधारित)