एमाले र माओवादीको काखमा बसेर रास्वपाले लगाएको सुशासनको नारा ‘अस्वीकृत’
काठमाडौं । पुराना दलहरुलाई गाली गर्दै ‘जान्नेलाई छान्ने’ स्लोगन बनाएर टेलिभिजन कर्म छाडेर २०७९ मा पार्टी खोलेको ६ महिनामै संसदको चौथो ठूलो दल भएपछि निकै हौसियका रवि लामिछाने इलामको उप निर्वाचनसम्म आइपुग्दा पनि थचारिएका छन् । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री मात्रै नभइ सभासद पनि पद गुमाएका रवि उप निर्वाचनमार्फत सोही ठाउँबाट जित्दै गर्दा रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँमा भएको उप निर्वाचनमा कांग्रेसमै बसेर लामोसमय लाभको पद लिएका डा. स्वर्णिम वाग्लेलाई उठाएर रास्वपाले २० बाट २१ सिट बनाएको थियो ।
इलाम २ का नेता सुवासचन्द्र नेम्वाङको हृदयघातपछि निधन हुँदा खाली रहेको निर्वाचन क्षेत्रमा शनिबार भएको मतदानको मतपरीणाम सार्वजनिक भइसकेको छ । एमालेका सुहाङ नेम्वाङले जित निकाल्दा रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो हुँदा जमानत पनि जोगाउन असफल भए ।
चितवन र तनहुँमा एकलौटी जित हात पारेको रास्वपा पुर्वि पहाडी जिल्ला इलाममा भने जादु चलाउन असफल भयो ।
पुराना दलहरुले केही पनि गरेनन् भनेर गाली गर्दै संसदीय राजनीतिमा आएको छोटो समयमै सरकारमा जानका लागि खेलेको खेल, अनि स्वार्थ बाझिदा बझिँदै पनि गृहमन्त्री पदमा बसेका रविको पार्टीलाई जनताले भने अस्वीकार नै गरि दिएका छन् । सहकारीको रकम अपचलन गरेको विषय अहिले जोडतोडले उठिरहँदा समाधान गर्नु त कता हो कता उल्टै अरुलाई शक्तिको दुरुपयोग गरेर तर्साउने काम गरिरहेका छन् ।
इलाम आफैमा शिक्षित जिल्ला भएर पनि जान्नेलाई छान्ने भन्दै पत्रकारिता गरिरहेका मिलन लिम्बुलाई भने नरोज्नुलाई अब रास्वपाले गम्भीर भएर समिक्षा गर्नु पर्छ । साथै विगतमा प्रचण्ड र केपी ओलीलाई गाली गरेर नथाक्ने रवि अहिले उनैको फेरो समाएर सत्तामा टिकिरहन खोज्दा रास्वपाको मत घटेको पक्का छ । अझैं केही समय रास्वपा यसैगरी सरकारमा रहने हो भने मिसन ८४ भनेर सुरु गरेको उसको अभियान २०८४ सालमा सिला खोज्ने अवस्थामा पुग्न सक्ने धेरैले आँकलन पनि गरेका छन् ।
मिसन २०८४ भन्दै हिँडेको रास्वपाले यो चुनावबाट सिकेर अघि बढ्नु त पर्छ नै सँगसँगै हामीले जे गर्दा पनि जनताले मत दिइहाल्छन् भन्ने मानसिकता पनि एमाले र कांग्रेसले त्याग्नु पर्छ । हुन त अहिले एमालेले इलाम र बझाङमा चुनाव जित्दा आफ्नो संगठन बलियो भनेर फुर्ति लगाउने प्रशस्त आधार पनि छन् । उपनिर्वाचनले रास्वपा मात्र होइन हिन्दुसहितको राजावादी पक्षधर राप्रपा र नव गठित नेकपा एकिकृत समाजवादीको पनि हैसियत पनि प्रष्ट बनाइदिएको छ ।
एमालेबाट फुटेर गठन हुँदा एमालेको वैकल्पिक शक्ति भनिएको एकिकृत समाजवादी झलनाथ खनालको जिल्लामै जमानत जोगाउन नसक्ने अवस्थामा पुग्नुलाई पनि उक्त पार्टीले अब समिक्षा गर्नुपर्छ ।