ह्यारिसबर्गमा मनसराको दुई सो, नायिका मिरुना पनि आउने
पेन्सिल्भेनिया/ लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ह्यारिसबर्गमा दुई सो लाग्ने भएको छ। सुब्बा सुपर हिट चलचित्र जारीका समेत निर्देशक हुन्।
चलचित्रका लगानीकर्ता मध्ये एक ह्यारिसबर्ग निवासी पर्शु अधिकारीका अनुसार मे ११ र १८ तारिखका लागि ह्यारिसबर्गको हल बुक गरिएको छ।
अधिकारीका अनुसार रिगल सिनेमा हलमा साँझ ६ बजे चलचित्र सुरु हुने छ भने पाँच बजे देखि ढोका खोल्ने छ। टिकट अनलाइनबाट पनि काट्न सकिने छ।
ह्यारिसबर्ग सोमा नायिका मिरुना स्वयम उपस्थित हुने जनाइएको छ। यो चलचित्रमा मिरुना सहित दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ ।
‘चलचित्रको कथा बस्तु अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धमा रहेको छ।’ निर्माता अधिकारीले समाज टाइम्स सँग भने, ‘अन्तरजातीय विवाह गरेका पुरुष र उसको छिमेकीको रूपमा आएकी लिम्बुनी , उनीहरूबिचको सम्बन्ध, उतारचढाव, आकर्षण र श्रीमतीको खोजीमा हिँडेका पात्रलाई चलचित्रमा समेटिएको छ ।’
चलचित्रमा कवि विप्लव प्रतीक, शान्ति गिरी, हेमन्त बुढाथोकी, निनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेलको समेत अभिनय छ । चलचित्र अमेरिका अन्य शहरमा पनि देखाइने छ।