ओएनफ टेक्सस अध्यक्षमा राजु नेपाल
टेक्सस/ प्रवासी नेपाली मञ्च (ओएनफ) अमेरिका टेक्सस राज्य कमिटीको अध्यक्षमा राजु नेपाल चयन भएका छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा शनिवार ड्यालसको युलेसमा सम्पन्न अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले राज्य कमिटीका उपाध्यक्ष मधुसूदन ज्ञवाली र लक्ष्मण थापा, सचिवमा मनिष थापा, सहसचिवमा साधना पन्तलाई चयन गरेको छ । यसै गरी सदस्यहरूमा भीषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, विशाल मरासिनी, गगन दीप जिसी, अर्जुन त्रिपाठी, विक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारी चयन भएको निर्वाचन समितिका प्रमुख गोकर्ण दाहालले जानकारी दिए।
नव निर्वाचित पदाधिकारीहरूलाई प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले पद तथा गोपनीयताको शपथ गराए ।
अधिवेशनको विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभु थापा र प्रवासी नेपाली मञ्च अमेरिकाका क्षेत्रीय संयोजक ईश्वरी भट्ट थिए।
अधिवेशनमा ओएनएफ अमेरिका अध्यक्ष कृष्ण लामिछाने नेपालमा आयोजित अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा भाग लिई हिजो मात्र फर्किएको र अस्वस्थताका कारण उपस्थित हुन असमर्थ हुँदा उपाध्यक्ष गोकर्ण दाहाल मार्फत लिखित शुभकामना मन्तव्य पठाएका थिए।
लामिछानेको मन्तव्यको पूर्ण पाठ
टेक्सस राज्य कमिटीको अधिवेशन सन्दर्भमा शुभकामना मन्तव्य
टेक्सस राज्य अधिवेशन उद्घाटन कार्यक्रमका अध्यक्ष ज्यू,
प्रमुख अतिथि ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा ज्यू, विशेष अतिथि ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा ज्यु,
अमेरिका महादेश कमिटीका संयोजक ईश्वरी भट्ट ज्यू, ओएनएफ अमेरिकाका संस्थापक जनक राना ज्यु, ओएनएफ अमेरिकाका त्रय उपाध्यक्षहरू ( गोपाल कँडेल, भीम ओली, गोकर्ण दाहाल), ओएनएफका विभिन्न कमिटी एवं विभागमा रहनु भएका नेता साथीहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू साथै कार्यक्रममा उपस्थित सम्पूर्ण मित्रहरूमा म प्रवासी नेपाली मञ्च, अमेरिकाको तर्फबाट र मेरो व्यक्तिगततर्फबाट हार्दिक आभार सहित अधिवेशन भव्य सफलताको कामना गर्दछु ।
नेपालको गोदावरीमा आयोजित पार्टीको अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा भाग लिएर मात्र ६ दिनको काठमाडौँ बसाई पस्चात हिजो साँझ न्यु योर्क आई पुगेको छु । छोटो समयको हतारको यात्रा, बदलिँदो वातावरण, यात्राको खाना लगायतका कारणले अस्वच्छ भएको छ र यो महत्त्वपूर्ण अधिवेशनमा उपस्थित हुन असमर्थ भएकोमा क्षमा प्रार्थी छु ।
पार्टीको चितवनमा सम्पन्न १०औ महाधिवेशनमा अमेरिका महादेशबाट ६ जना सहित अन्तर्राष्ट्रिय कमिटी ( प्रदेश कमिटी सरहको हैसियतमा रहेको छ) बाट जम्मा ३२ जना प्रतिनिधिहरू सहभागी भएका थिए ।
प्रवासबाट ३२ जना नै यस अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा सहभागी हुन जानु पर्ने थियो तर यस बैठकमा नेपालमा बसिरहेका प्रतिनिधिहरू सहित जम्मा ८ जना सहभागी हुन पुगियो जुन सङ्ख्या प्रवासको संगठनको हैसियत अनुसार प्रतिनिधिहरू सहभागी नभएकोमा ओएनएफ इन्टरनेश्नल कमिटी मार्फत प्रवासका सबै देशहरूलाई सचेत गराउन अध्यक्षको ध्यान आकर्षण गराउन चाहन्छु ।
अमेरिका महादेश अन्तर्गतबाट म ओएनएफ अमेरिकाको अध्यक्ष एक जना मात्र सहभागी भए पनि मेरो नेतृत्वमा प्रवासमा मुख्य गरी अमेरिकामा गरेका कार्यहरूले समग्र प्रवासमा सकारात्मक प्रभाव परेको कुरा भेटमा सहभागी शीर्ष नेताहरूले बताउनु भयो ।
यो नेपालको जम्मा ६ दिनको बसाई अवधिमा पार्टी अध्यक्ष केपी सर्मा ओली, महासचिव शङ्कर पोखरेल एवं प्राय सबै नेताहरूसँग अन्तरङ्ग कुराकानी भएको छ र आगामी ओएनएफ अमेरिकाको चौथो अधिवेशनमा प्रमुख अतिथिको आतिथ्यता पार्टी अध्यक्ष एवं सम्मानित पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका आउने सल्लाह भएको कुरा यस अधिवेशनमा जानकारी गराउन चाहन्छु ।
प्रवासी नेपाली मञ्चको उद्देश्य, नीति, सङ्गठन बिस्तार र सञ्चालित कार्यक्रमहरूको सन्दर्भमा प्रमुख अतिथि एवं विशेष अतिथिहरूले बताउनु हुने नै छ भने अमेरिकामा संगठनको गतिविधि, प्राप्त उपलब्धिहरू र ओएनएफ अमेरिकाले यो अवधिमा खेलेको भूमिका बारेमा तपाईँहरू सबैले प्रत्यक्ष देखिरहनु भएको छ ।
टेक्सस राज्य कमिटीको अधिवेशनको सन्दर्भमा यस राज्य कमिटीले गरेको विस्तृत कार्यक्रमहरू सहितको कार्यप्रगती प्रतिवेदन र यसको समीक्षा अधिवेशनको बन्द सत्रमा गर्नु हुने नै छ । प्रतिनिधाहरूको सुझाव अनुसार नै आगामी वर्षको कार्य योजना निर्माण गरी सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
विगतमा टेक्सस राज्य कमिटीले एकल रूपमा र स्थानीय संघ संस्थासँग संयुक्त रूपमा विभिन्न जनमुखी सामाजिक, सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सर्व विदितै छ । स्थानीय संस्थाहरूको नेतृत्वमा कुशल नेतृत्वदायी भुनीका,एनएसटी निर्वाचन, एनआरएनए टेक्सस राज्य निर्वाचन,एनआरएनए राष्ट्रिय कमिटी निर्वाचन र आइसीसी निर्वाचनमा तपाईँहरूले खेलेको भूमिका प्रसंसानीय छ ।
उल्लेखित निर्वाचनहरूमा टेक्सस राज्यमा रहनु भएका केही ओएनएफ को नेतृत्वमा रहनु भएका साथीहरूको भूमिका भने नकारात्मक, ओएनएफको नीति विपरीत र विपक्षी उम्मेदवारहरूलाई फाइदा हुने खालका गतिविधिहरू गरेको पाइएको थियो । यस्ता कार्यमा संलग्न हुनेहरूलाई हामीले समय समयमा सजक गराउँदै आएको स्मरण गराउन चाहन्छु र भविष्यमा यस्ता नित विपरीत बोल्ने, लेख्ने र संलग्न नहुन सचेत गराउन चाहन्छु ।
टेक्ससमा ओएनएफको सदस्यता बिस्तार र सदस्यता नवीकरणको अभियानमा गत वर्ष अमेरिकामा नै प्रथम स्थान हासिल गर्न सफल भएकोमा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । बन्द सत्रबाट सर्वसम्मत निर्वाचित नेतृत्वले आज नै प्रथम बैठक बसी प्रमुख एवं विशेष अतिथिहरूको उपस्थितिमा आगामी दुई वर्षको कार्य योजना निर्माण गर्न पनि सुझाव दिन चाहन्छु र यही मे २६ २०२४ मा क्यालिफोर्निया राज्यको लस एन्जलसमा आयोजित ओएनएफ अमेरिकाको तेस्रो अधिवेशन पछिको दोस्रो वार्षिक साधारण सभामा टेक्ससबाट अत्यन्त ठुलो सङ्ख्यामा सहभागी हुने छ भन्ने पूर्ण विश्वास लिँदै, यो अधिवेशन भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्नताको शुभकामना व्यक्त गर्दछु ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अमेरिका राष्ट्रिय कमिटीका उपाध्यक्ष गोपाल कँडेल, भीम ओली लगायतका नेताहरूको सहभागिता रहेको थियो । बन्द सत्रमा प्रवासी नेपाली मञ्च राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेले प्रस्तुत गर्नुभएको साङ्गठनिक र आर्थिक विभाग प्रमुख मनोज धितालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।