नेपालमा विदेशी लगानी ल्याउन नीतिगत स्थिरता आवश्यक : अमेरिका
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन् ।
अमेरिकी चेम्बर अफ कमर्स नेपालको आयोजनामा आज राजधानीमा आयोजित ‘यूए–नेपाल व्यावसायिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नीतिगत तहमा स्पष्ट नभएसम्म नेपालले स्वदेशी वा विदेशी लगानी बढ्न कठिन हुने बताए । उनले आर्थिक समृद्धिका लागि नीति पारदर्शिता, स्थिरता र अनुमानयोग्य हुनुपर्ने भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारणलाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको जानकारी दिए । उनले नीतिमा स्पष्टता भए थप अमेरिकी लगानी नेपालमा आउनसक्ने विश्वास व्यक्त गर ।
यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकका समृद्धि हासिल बताए ।
अमेरिकी चेम्बर अफ कमर्स नेपाल (एमच्याम)का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावनाको मुलुक भएको बताए ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरुले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताइन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास विसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुनेमा जोड दिए ।
अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायक मन्त्री हेदर हेमले हस्ताक्षर गरेका थिए ।