डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
काठमाडौं । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ । यो रङ भारतीय जनता पार्टी बिजेपीको झण्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन् ।
लोकसभा चुनावमा दूरदर्शनको लोगोको रंग परिवर्तनको विपक्षी दलहरूले कडा आलोचना गरेका छन् । राज्यसभा सदस्य तथा पूर्व प्रसार भारती प्रमुख जवाहर सरकारले भनेका छन्, ‘यो प्रसार भारती होइन, यो प्रचार भारती हो । तर, प्रसार भारतीका वर्तमान प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदीले यी आरोपको खण्डन गरेका छन् । उनले भने, ‘लोगोमा चम्किलो रङको प्रयोग भनेको व्यापारिक रणनीति मात्र हो, यसको राजनीतिसँग कुनै सरोकार छैन ।’
गत वर्ष जनवरीमा ‘दूरदर्शन पोथिगाई’ टेलिभिजन च्यानलको नाम बदलेर ‘डीडी तमिल’ राखिएको थियो । त्यतिबेला यो समाचारलाई लिएर निकै विवाद भएको थियो । तर, तमिलको लोगो पनि अहिलेको डीडी न्युजकै जस्तो रङमा परिवर्तन गरिएको थियो ।
यस महिनाको सुरुमा केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दूरदर्शनमा फिल्म ‘द केरला स्टोरी’ प्रसारणको कडा विरोध गरेका थिए।
तर, यसका बाबजुद पनि फिल्म ५ अप्रिल राति ८ बजे दूरदर्शनमा प्रसारण भएको थियो । यो मामिला पनि टुंगिएको थिएन जब प्रसार भारती फेरि एकपटक डीडी न्यूजको लोगोको रंग परिवर्तनलाई लिएर विवादमा परेको थियो ।