देउवाको प्रश्न: मदन भण्डारीको हत्यारा किन नखोजेको ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् ।
उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।
उनले भने,‘मदन भण्डारीसँग मुलुकमा राम्रै कुरा गर्ने मन थियो । त्यो हामीले बुझेका छौं । तर कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो अनि हामीले पनि जवाफ दिनपरिहाल्यो नि । मलाई गाली गर्नेहरुले मदन भण्डारी कसरी मरे, किन भन्न सक्दैन् ? हत्यारा को हो आफू खोज्न नसक्ने अनि कांग्रेलाई गाली गर्ने ? हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको ?’
सभापति देउवाले अगाडि भने,‘हुँदा हुँदा भण्डारीको ड्राइभर पनि मारियो । मदन भण्डारी राम्रो नेता हुनुहुन्थ्यो, यसमा दुइमत नै छैन् । तर मार्ने को हो ? अहिलेसम्म पत्ता किन लागेन ? एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोई अहिलेसम्म मदनको हत्यारा पत्ता लागेको ? कांग्रेसको विरोध गर्नु सजिलो होला गर्नुहोस् । केही छैन् । तर मलाई गाली गरेर केहि हुनेवाला छैन् ।’