तेस्रो हिमालयन तेक्वान्दो अन्तर स्कुल च्याम्पियनसिप उत्साह पूर्वक सम्पन्न
पेन्सिल्भेनिया/ स्थानीय स्तरमा नेपाली भाषी- भुटानी समुदायले स्थापना गरेको हिमालयन तेक्वान्दोले तेस्रो अन्तर स्कुल च्याम्पियनसिप सम्पन्न गरेको छ।
ग्रेटर ह्यारिसबर्ग क्षेत्रमा रहेको नेपाली भाषीको पहिलो तेक्वान्दो स्कुलले शनिवार मिडलटाउनमा अन्तर विद्यालय च्याम्पियनसिपको आयोजना गरेको हो।
हिमालयन तेक्वान्दोका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्माले अघिल्ला दुई संस्करण भन्दा यस पटकको च्याम्पियनसिप बढी उत्साह पूर्वक रहेको बताए।
‘खेलाडीको सहभागिताले हामी उत्साहित छौ’ समाज टाइम्स सँग शर्माले भने,’अघिल्लो दुई संस्करण भन्दा यो पटक भेनु पनि व्यवस्थित रह्यो र खेलाडीको सहभागिता पनि पहिलाको भन्दा धेरै भयो।’
शर्माका अनुसार यस पटक ६ स्कुलका एक सय ३३ जना खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए।
हिमालयन तेक्वान्दो नाममा सञ्चालनमा रहेका पेन्सिल्भेनियाको ह्यारिसबर्ग, च्याम्बर्सबर्ग, सिपिङ्गबर्ग र पालमेराबाट खेलाडी सहभागी थिए। यस्तै पेन्सिल्भेनियाको कि स्टोन इनोला तेक्वान्दो र केन्टोकी राज्यको हिमालयन तेक्वान्दो लुइजभिलबाट पनि खेलाडीहरूले सहभागिता जनाएका थिए।
‘हामीले यस अगाडि आफ्नै स्कुल भित्र च्याम्पियनसिप आयोजना गरेका थियौ, यस पटक ठुलो हलमा च्याम्पियनसिप गर्यौ यसले अभिभावक पनि खुसी भएको हामीले पायौ।’ शर्माले भने।
उनले ह्यारिसबर्ग आसपासमा रहेका सबै तेक्वान्दो स्कुललाई च्याम्पियनसिपमा निमन्त्रणा गरिएको बताए। ‘केही अभिभावकले हामीले त खबर नै पाएनौ भन्ने गुनासा आएको थियो हामीले सबै स्कुललाई बोलाएका थियौ, नजिकैका केही आएनन्।’ उनले भने।
शर्माले सन् २०१८ मा ह्यारिसबर्गमा हिमालयन तेक्वान्दो स्कुल खोलेका हुन्। त्यस पछि यो क्षेत्रमा नेपाली भाषी भुटानी समुदायका व्यक्तिले आधा दर्जन भन्दा बढी स्कुल खोलेका छन्।
प्रशिक्षक शर्माले हार जित भन्दा पनि खेलाडीको क्षमता विकासका लागि आफूहरूले यस्तो च्याम्पियनसिप आयोजना गर्ने गरेको बताए।
‘हार जित भन्दा पनि खेलाडीलाई उत्साह जगाउने हो, भविष्यका चुनौतीहरूको लागि तयार पार्न डिजाइन गरिएको प्लेटफर्म हो, च्याम्पियनसिप निकै सफल भयो।’ उनले भने।
प्रमुख अतिथि पेन्सिल्भेनिया राज्य प्रतिनिधि डेभ म्याडसेनले च्याम्पियनसिप र हिमालयन तेक्वान्दो स्कुलको गतिविधिको प्रशंसा गरेका थिए।
यसै गरी स्वतारा टाउनशिप कमिश्नर टम कोनोली, इन्फिनिटी चार्टर स्कुल प्रिन्सिपल टेमी गाइगर र प्यास्टन इलिमिन्ट्री स्कुलकी शिक्षक कार्ला स्मिथले च्याम्पियनसिपको सफलताको शुभ कामना दिएका थिए।
पेन्सल्भेनिया शरणार्थी पुनर्वासका निर्देशक तथा ट्रेनर माधव शर्मा, एआरयूको कल्याण कार्यक्रम समन्वयकर्ता परशु अधिकारी, रियल्टर पदम खाना र बर्नार अफ साङ्ग्रिया रेस्टुरेन्टकी लीला कुइँकेले च्याम्पियनसिपको सफलताको कामना गरे।
उद्घाटनमा मेरो डान्स क्लबको अन्तिम सत्रमा प्रतिस्पर्धा गरेकी रेजिना सुब्बा द्वारा कोरियोग्राफी गरिएको नृत्य प्रस्तुत गरिएको थियो।
यस्तै हिमालयन तेक्वान्दो स्कुलका विद्यार्थीले तेक्वान्दो शुन्दर प्रदर्शनी गरेका थिए।
च्याम्पियनसिपका थप तस्वीरहरु…