निर्वाचनका काम रोक्न माग गर्दै अध्यक्षलाई ज्ञापन पत्र
हुट्टो, टेक्सस/ ग्रेटर अस्टिन नेपाली समाजको आसन्न निर्वाचनका लागि गरिएको सम्पूर्ण गतिविधि र प्रक्रिया तत्काल रोक्न माग गर्दै संस्थाका सदस्यहरूले अध्यक्ष भोजराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
समाजका सदस्यहरूले हिजो अप्रिल १७ गते संस्थाको कार्यालयमा अध्यक्षलाई बुझाएको ज्ञापन पत्रमा संस्थागतरुपमा भएका कमी कमजोरी सुधार नगरी निर्वाचन नगराउन माग गरेका छन्।
वर्तमान कार्य समितिका काम कारबाही प्रति असहमति जनाउँदै बुझाइएको पत्रमा निर्वाचनका लागि तोकिएको दिन अर्थात् अप्रिल २१ भन्दा अगाडि नै समुदायको भेला बोलाई संस्थाको विधानको मर्म, उद्देश्य र भावना अनुरूप निष्पक्ष र प्रक्रियागत रूपमा निर्वाचन समिति गठन, विधान संशोधन र आन्तरिक आयव्यय प्रस्तुत गर्न अनुरोध गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ “संस्थाको विधानलाई नमानी जबरजस्ती रूपमा कुनै किसिमका निर्णय, निर्वाचन र अन्य क्रियाकलाप गरिए स्थानीय अमेरिकी कानुन अनुसार अघि बढ्ने कुरा जानकारी गराइन्छ।”
संस्थाको बैक खाता कार्य समितिको आधिकारिक व्यक्तिको नाममा हुनु पर्ने, पशुपतिनाथको मन्दिर निर्माण गर्न चन्दा दिने सम्पूर्ण चन्दादातालाई स्वतः मतदातामा समावेश गराउनु पर्ने, मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि निर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु गरिनु पर्ने, निर्वाचन समितिको चयन संस्थाको विधान अनुसार हुनु पर्ने, निर्वाचन समितिका पदाधिकारी संस्थाको कुनै जिम्मेवार पदमा भएको व्यक्ति हुन नहुने, विधान अनुसार टेक्ससको १९ वटा काउन्टीमा साधारण सदस्यता वितरण प्रक्रिया खुल्ला गर्नु पर्ने माग ज्ञापन पत्रमा गरिएको छ ।
साथै ज्ञापन पत्रमा ग्रेटर अस्टिन नेपाली समाज अमेरिकी कानुनको ५०१सी(३) व्यवस्था अनुसार गैर नाफामूलक संस्थाको रूपमा सेक्रेटरी अफ स्टेट टेक्ससमा दर्ता भएकोले स्थानीय कानुनको उल्लङ्घन गरिए यहाँको कानुन अनुसार कारबाही प्रक्रिया अघि बनाउन सकिने जिकिर गरिएको छ ।