‘स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।
राजधानीको दशरथ रंगशालामा मंगलबार आयोजित १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने राष्ट्रपति पौडेलले बताए ।
देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उनको भनाइ छ ।
‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ,’ उनले भने, ‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन् । साथै विद्यार्थीमा अभिवृत्ति, सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् भन्ने मलाई लाग्छ ।’
पुस्तक र विद्यालयको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने उल्लेख गर्दै उनले खेलकुद र रचनात्मक प्रतियोगितात्मक क्रियाकलाप उन्नत सिकाइका विधि भएको बताए ।
राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारावालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘विशेषतः खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ ।’