एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुआत

काठमाडौं । एसीसी प्रिमियर कप टी २० क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । ओमानमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । ओमानले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा गुलसन झा र सन्दीप जोराले नटआउट पारि खेल्दै जित दिलाए ।
गुलसनले सात बलमा १९ रनको नटआउट पारि खेल्दा दुई छक्का र एक चौका प्रहार गरे । यसैगरी जोराले नौं बलमा १२ रनको नटआउट पारि खेले ।
त्यसअघि ओपनर आशिफ शेखले ३५ बलमा ३२ रुन बनाउँदा चार चौका प्रहार गरे भने अर्का ओपनर कुशल भुर्तेलले २४ बलमा २४ रन बनाउँदा तीन चौका प्रहार गरे । त्यस्तै कप्तान रोहित पौडेलले २४ बलमा २८ रन बनाउँदा एक छक्का प्रहार गरे । कुशल मल्लले छ बलमा सात रन बनाउँदा एक चौका प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीले ११ बलमा २० रन बनाउँदा एक छक्का र दुई चौका प्रहार गरेका थिए ।
मलेसियाका विरेनदीप सिंहले तीन विकेट लिँदा मोहमद वफिक र पवनदीप सिंहले एक एक विकेट लिए । ओमानमा आजदेखि सुरु भएको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
नेपाली बलरमाथि मलेसियाका कप्तान विरेनदीप सिंह र सार्भिन मुनिन्डे हावी देखिएका थिए । ३५ रनको स्कोरमा नेपालले पहिलो सफलता हात पारे पनि त्यसपछि बलरहरु जम्न सकेनन् । मोहमद अमिरले १८ बलमा १६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीबाट कट एन्ड बोल्ड भएका थिए । उनले तीन चौका प्रहार गरे ।
त्यसपछि कप्तान विरेनदीप र सार्भिनले मलेसियाको पारि सम्हालेका थिए । यी दुईबीच ६६ बलमा ८२ रनको साझेदारी भएको थियो । उक्त साझेदारीलाई नेपालमा अभिनाश बोहोराले तोडे । मलेसियाले १६.१ ओभरमा ११७ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । दोस्रो विकेटका रुपमा सार्भिन ३३ बलमा ४१ रनको पारि खेलेर आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे ।
त्यसपछि मलेसियाका विरेनदीप र सैयद अजिज मिलेर अघि बढाउन खोज्दा सैयद ६ रन जोडेर आउट भए । अन्तिमसम्म क्रिजमा रहेका विरेनदीपले ५७ बलमा ७२ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले चार छक्का र चार चौका प्रहार गरे । नजमुक सकिब ६ रनमा नटआउट रहे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालका सोमपाल कामीले दुई ओभरमा २१ रन खर्चिए । करण केसीले दुई ओभरमा ११ रन दिँदा ऐरीले चार ओभरमा ओभरमा १४ रन दिएर दुई विकेट लिए ।
यस्तै, ललितराज वंशीले ४ ओभरमा २८ रन खर्चिदा कुशल भुर्तेलले दुई ओभरमा १७ रन दिए । गुलसन झाले एक ओभरमा १२ रन दिँदा अभिनाश बोहोराले चार ओभरमा २८ रन खर्चिएर एक विकेट लिए । यसैगरी कुशल मल्लले एक ओभरमा दश रन खर्चिएका थिए ।