भयो एनआरएनएको दर्ता नविकरण
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए सरकारले नविकरण गरेको छ । दशौं अधिवेशनपछि विवाद सुरु भएको एनआरएनए ११ औं अधिवेशनका बेला संस्थाको म्याद सकिएको थियो ।
२०२३ को अक्टोबर ११ मा हरेक १० बर्षमा हुने नविकरणको म्याद सकिए पनि त्यतिबेला बद्री केसी र राजेन्द्रकुमार (आरके) शर्मा समूहले समानान्तर गतिविधि गरेपछि नविकरण भएको थिएन भने दशौं अधिवेशनपछि विनोद कुँवर समूह पनि समानान्तर गतिविधिमा रहेको थियो ।
तर, उच्च अदालत पाटनले नविकरण गर्ने या नगर्ने जिम्मा परराष्ट्र मन्त्रालयले फैसला गरेको थियो भने हालै सर्वोच्च अदालतको फैसला अनुसार एनआरएनएको दशौं र ११ औं अधिवेशनलाई अवैध घोषणा गर्दै २०७८ माघ १ गतेको ८१ औं बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई चैत २१ गतेको फैसलाले ब्युँताएको छ । सोही समितिले नै अबको ६ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पाएपछि परराष्ट्रले भने चैत २३ मा एनआरएनए नविकरण गरेको जनाएको छ । उक्त पत्र शुक्रबारमात्रै परराष्ट्रले सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाका शाखा अधिकृत जीतबहादुर कार्कीले हस्ताक्षर गरेको पत्र अनुसार गैर आवासीय नेपाली संघ बालुवाटार काठमाडौंका नाउँमा दर्ता नविकरण गरिएको हो ।
पत्रमा उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर संस्था नविकरण गरेको उल्लेख छ । एनआरएनए २००३ सालमा स्थापना भएको हो । हरेक १०–१० बर्षमा नविकरण गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । २००३ पछि २०१३ मा संस्था नविकरण भएको थियो । त्यसको अवधि २०२३ मा सकिए पछि संस्था विवादित बन्दा सरकारले पनि नविकरण गरेको थिएन ।