‘म फैसला पुनरावलोकनमा जान्न’: डा. बद्री केसी
पेन्सिल्भेनिया/ डा. बद्री केसीले गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा नजाने बताएका छन्।
सर्वोच्चले एनआरएनए आइसीसीको दसौँ महाधिवेशन पछिका कमिटी खारेज गर्दै नयाँ चुनाव गराउन फैसला गरेको थियो।
दशौँ महाधिवेशनमा प्रतिनिधि विवाद पछि दुई ठाउँमा अधिवेशन भएका थिए। तत्कालीन प्रमुख संरक्षक शेष घलेले गराएको अधिवेशनबाट विनोद कुँवरको अध्यक्षमा कमिटी बनाएको थियो भने अर्को पक्षले तीन तीन जना अध्यक्ष रहेको समिति बताएको थियो।
डा. बद्री केसी सहित कुल आचार्य र रविना थापा अध्यक्ष रहेको समूहले ११ औ महाधिवेशन गरिसकेको थियो। तर ११ औ महाधिवेशन पछि पनि त्यो समूहमा दुई गुट बनेका थिए।
काठमाडौँमा सम्पन्न महाधिवेशनको मत परिणाम सार्वजनिक गर्दा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको शून्य मत आए पछि विवाद भएको थियो। त्यस पछि केसीले आफू अध्यक्षमा निर्वाचित भएको घोषणा गरेका थिए भने अध्यक्षका अन्य प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले समानान्तर समिति बनाएका थिए।
उता विनोद कुवर समूहले पनि अघिल्लो महिना मात्र काठमाडौँमा साधारण सभा गरेको थियो।
सर्वोच्चको फैसलाको बद्री केसी समूह बाहेकले अन्यले औपचारिक रूपमा नै स्वागत गरेका छन्। बद्री केसी समूह भने खुल्न चाहेको थिएन।
केसीले आफू निकट सँग कानुनी सल्लाहमा रहेको मात्र बताउँदै आएका थिए। तर शुक्रवार समाज टाइम्स सँगको कुराकानीमा उनले आफू सँग सर्वोच्चको फैसला मान्नुको विकल्प नरहेको बताए।
‘सर्वोच्चले दिएको निर्णय पालन गर्न असाध्य ठुलो चुनौती छ, पूर्ण पाठ नआए सम्म धेरै अन्यौलता छ।’ डा. केसीले भने,’त्यस पछि थप धारणा बनाउँछु।’
‘०२३-०२५ को कार्यसमिति के हुने भन्ने छ, हामी सँग एक लाख भन्दा बढी सदस्य छन् तीनको के हुने भन्ने छ, पहिला पूर्ण पाठ आओस् त्यस पछि प्रतिक्रिया दिउला।’ उनले भने।
समूह भित्र फैसला पुनरावलोकनमा जानु पर्ने आवाज उठिए रहेको बेला उनले आफूले त्यस्तो नगर्ने बताए।
‘सर्वोच्चको फैसलामा विमति होला तर त्यसलाई नमान्ने भन्ने हुदैन्।’ उनले भने,’ म बद्री केसी फैसला पुनरावलोकनमा जाँदिन अरूको म जिम्मा लिन्न।’
यद्यपि यो समाचार तयार पार्दा सम्म केसीले फेसबुक प्रोफाइलमा आफूलाई एनआरएनएको अध्यक्ष नै राखेका छन्।