इस्काले जित्यो युएस ओपनमा तीन स्वर्ण
पेन्सिल्भेनिया / अमेरिकाको टेक्ससमा सम्पन्न युएस ओपनमा इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन अफ अमेरिका (इस्का) ले तीन स्वर्ण जितेको छ।
इस्का अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भुटानी समुदायले स्थापना गरेको संस्था हो। शनिवार र आइतबार गरी भएको प्रतियोगितामा इस्काका १५ जना खेलाडीले भाग लिएका थिए जसमा १३ जनाले पदक तिजेका हुन्।
इस्काका अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिव योगीका अनुसार हेबल राई, अंकित राई र समीर लिम्बुले स्वर्ण पदक जित्न सफल भए। हेबल राई युएस ओपनमा काता इन्टरमिडियट स्वर्ण जिते। उनी सोही विधाको कुमितेमा रजत पदकमा रोकिए। हेबल ओहायो सिनसिनाटी डोजोका खेलाडी हुन्।
सोही डोजोका अंकित राई इन्टरमिडियट कुमितेमा स्वर्ण पदक जिते। यस्तै समीर लिम्बुले एडभान्स डिभिजनमा कातामा युएस ओपनमा स्वर्ण जिते भने जुनियर इन्टरनेशन्ल कपमा कांस्य पाएका थिए।
यसै गरी समीर राई युएस ओपनमा नभिस डिभिजन कुमितेमा रजत पदक पाउन सफल भए।
ऋषिका माझीले युएस ओपनमा इन्टरमिडियट डिभिजनमा कुमिते र काता दुबैमा रजत पदक जितिन्।
सुभम दाहालले भने सर्वाधिक चार पदक पाए। इन्टरमिडियटमा खेलेका उनले युएस ओपनमा काता र कुमिते दुबैमा कांस्य पदक पाए। यस्तै जुनियर इन्टरनेश्लनल कपमा उनले कातामा रजत र कुमितेमा कांस्य पाए
यसै गरी भिजन ओलीले युएस ओपन र जुनियर कप दुबैमा कुमितेमा कांस्य पदक पाए। सेलिना क्षेत्रीले युएस ओपनमा कुमितेमा कांस्य, विप्लव पौडेले युएस ओपनमा काता र कुमिते दुबैमा कांस्य पदक पाए। यस्तै आयुश कुइँकेल युएस ओपनमा कुमिते कांस्य पदक पाएका थिए।
इस्का नेपाली भाषी भुटानी समुदायले कराते खेलको विकासका लागि सन् २०१६ मा स्थापना गरेको संस्था हो। यसको अमेरिकाका चार सहरमा डोजो रहेको छ।
अध्यक्ष योगीका अनुसार इस्काका खेलाडीले युएस ओपनमा खेलेको यो पहिलो पटकको हो। अहिलेको प्रदर्शनबाट आफू खुसी भएको योगीले बताए।
‘नजिता बाट खुसी छु, पहिलो सहभागिता यो नतिजा आउनु राम्रो हो।’ समाज टाइम्स सँग योगीले भने, ‘अब हाम्रो उद्देश्य राष्ट्रिय प्रतियोगितामा खेल्ने हो, जुलाई ११-१४ मा लुजियानमा हुँदै अब त्यसैको तयारी गर्छौ।’
उनले आफ्नो संस्थामा सबै समुदायको खेलाडी रहेको बताए। ‘हामी सँग नेपाली, नेपाली भाषी भुटानी र अन्य समुदायका खेलाडी पनि छन्, सबैको सहयोगमा हाम्रो अभियानलाई सहयोग भएको छ र भविष्यमा पनि यस्तो अपेक्षा गरेका छौ।’ योगीले भने।