एनआरएनमा समानान्तर आइसीसी हुँदा एनसीसीहरु अन्योलमा
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएका समानान्तर समितिहरु क्रियाशील भए पनि एनसीसीहरु भने अप्ठेरोमा परेका छन् । ११ औं महाधिवेशन पछि डा. वद्री केसी र राजेन्द्रकुमार (आरके) शर्मा समूहले समानान्तर गतिविधि गर्दै आएका छन् ।
गत अक्टोबरमा भएको निर्वाचनका बेला केसी समूहले धाँधली गरेको भन्दै शर्मा समूहले समानान्तर कमिटी गठन गरेको थियो । केसी समूहले एनआरएनको सचिवालयबाट काम गर्दा शर्मा समूहको कार्यालयको भने टुंगो छैन । शर्मा समूहले बन्द रहेको सचिवालयको लविमा बैठक भने गरेको थियो ।
अहिले सचिवालयको तालाचावी केसी समूहसँग रहेको छ भने सवै रिसोर्सेजहरु प्रयोग गरिरहेको छ । तर, एनसीसीहरुले कोसँग समन्वय गर्ने अन्योलमा पर्ने गरेका छन् । एनसीसीका एक पदाधिकारीले समाजटाइम्ससँग कुरा गर्दै आफूहरु समानान्तर समिति हुँद अहिले अप्ठेरोमा परेको गुनासो गरे । उनले सचिवालयको नाताले बालुवाटारको कार्यालयमा सम्पर्कमा रहे पनि अर्को शर्मा पक्ष रिसाउने गरेको बताए । त्यसले गर्दा अहिले केही एनसीसीहरुले कुनै पनि पक्षसँग समन्वय नगर्ने रणनीतिमा लागेको पनि उनले बताए ।
उनले भने ‘हामीहरु समाज सेवाको लागि एनआरएनएमा लागेका हौं, तर अहिलेको अवस्थामा काम गर्न निकै गाह्रो भएको छ, केसी पक्षसँग समन्वय गर्दा शर्मा पक्ष रिसाउने, अनि शर्मा पक्षसँग समन्वय गर्दा केसी पक्षले कारबाहीको धम्की दिने गरेका छन् ।’
अहिले एनआरएनको वैधता गत अक्टोबर ११ तारिखबाटै सकिएकाले आफूहरु कुनै पनि आइसीसीसँग समन्वय नगर्ने अवस्थामा पुगेको पनि उनले बताए ।
हरेक १०–१० वर्षमा परराष्ट्र मन्त्रालयमा एनआरएन नविकरण हुनुपर्नेमा त्यो अहिलेसम्म भएको छैन । त्यसैले जसले बैधता पाउँछ त्यसैसँग समन्व्य गरेर अघि बढ्ने रणनीतिमा एनसीसीहरु लागेका छन् ।