क्याँम्प कुन परो?
नबिन शर्मा भट्टराई/
यस शब्दावलीलाई भलाकुसारीको माध्यम भन्दा पनि कुनै परिस्थितिमा एक त्रासपूर्ण प्रश्न माने हुन्छ, “क्याँम्प कुन परो?”
फूलको आँखामा फूलै संसार भनेझैँ तिनको मानस्पटलमा सायद क्याँम्पै संसार हुन सक्छ। यहाँ काल्पनिक सीमारेखा खिच्न खोजिएको होइन, तर यस प्रश्नले कहीँ-कतै रेखा तानिन्छ कि जस्तो लाग्छ। यस प्रश्नलाई एक उपमा अर्थात् विम्बका रूपमा लिइएको छ। त्यसैले विरोध पनि गरिएको होइन। तर मानव जिज्ञासा भने यसै पृष्ठभूमिसँगै पलाउँछन्। सबैको मस्तिष्कमा न होला, तर केही जिज्ञासु यसबाट सतर्क रहनु स्वाभाविक हो। किनभने यसले विचार गर्नका लागि अतिरिक्त उप-प्रश्नहरू जन्माउँछ। कति ठाउँमा जङ्गिन मन लाग्न सक्छ, तर धेरै परिस्थितिमा भावनामा नडुबी आफूलाई संयमित राखी निरीह रहनु उचित हुन्छ।
यस प्रश्नको अधिकतम मापनले कहिले काहीँ सशंकित पनि बनाएर ल्याउँछ। कतै “क्याँम्प कुन परो?” ले आत्मीयता भन्दा दुरी र समुदायमा व्यक्तिगत स्थान त खोजेको होइन? गुनासो कहाँ हुन्छ भने, “क्याँम्प कुन परो?” ले “पहाड कुन परो” लाई चटक्कै विस्थापित गरेको छ। प्रश्न विशुद्ध नेपालीमै छ, केवल क्याँम्पको ठाउँमा शिविर राखिदिए। तर शिविरले त्यो भाव प्रकट गर्दैन। अब हामी क्याँम्प र शिविरको पर्यायवाची र विपरीतार्थ अर्थलाई केलाउन थाल्यौँ भने सानोतिनो दार्शनिक हुने डर रहन्छ, त्यसैले यसलाई कुनै विशेष समयमा विमर्ष गरौँला। साधारण बोलीचालीमा यत्तिको गहिरिएर जानु पनि उपयुक्त हुँदैन। जे होस दुवै वाक्यांश नेपालीमा भए पनि, नेपालीलाई क्याँम्पवाला र म्याँपवाला (सहजताका लागि “तगारो भित्रका र तगारो बाहिरका”) मा विभाजन गर्न प्रयाप्त छ। साथै यसले हामीलाई यस क्षेत्रमा “मेजोरिटी र माइनोरिटी” मा विभाजन गर्न यथेष्ट प्रयास गर्छ र गरेको पनि छ।
स्पष्ट छ पहाडले हामीलाई जोडी राखेको छ, तर क्याँम्पले तोड्न सक्ने सम्भावना प्रशस्तै छ। यो टुट्ने सम्भावना पहाडद्वारा फेरी स्थापित हुन सक्छ। तर क्याँपले जसरी पहाडको अवधारणा विस्थापित गर्दै छ, त्यसरी नै यस सभ्यतामा हाम्रो पुरै संस्कृति विस्थापित हुने सम्भावना उत्तिकै छ। यो झगडाको विषय होइन। हुनसक्छ यस्ता कुराले हामी बिच फाटो ल्याउन सक्छ, वा विवाद सृजना गर्छ, भनेर नै यसप्रति कसैले टिप्पणी नगरेका होलान्, तर मस्तिष्कमा परेको चापको कारण टाउको त अवश्य घुमेको हुनु पर्छ। मेरो पनि धारणा विवाद सृजना गर्ने होइन, यसमा विमर्ष गर्ने र समाजको नेतृत्व वर्गलाई आ-आफ्नो भूमिका निर्वाह गरी यसको वैकल्पिक उपाय तथा समाधान खोज्न आह्वान गर्ने हो। अर्थात् जोड्ने प्रस्ताव अवश्य हो। यही पुस्तादेखि हामी नेपाल बाहिर रहेका नेपालीभाषीले दुवै प्रश्न त्याग्न जरुरी हुन सक्छ, “पहाड कुन परो?” अथवा, “क्याँम्प कुन परो?”
यो पुस्ताले बिसदेखि चालिसको औसत उमेर नेपालमा बाँचेको छ। संघर्षरत जीवन थियो, मान्छु, तर अझै पनि हामी स्वर्गवासी भएका छैनौ। यहाँ कुन चाहिँ संघर्ष छैन? विशेष गरी संयुक्त राज्य अमेरिकामा। हिजो नेपालमा पनि हामीले गाँस-बास-कपासका साथसाथै अस्तित्वको संघर्ष गरेकै हो। यहाँ पनि संघर्ष त्यही नै छ। थोरै ध्यानपूर्वक चिन्तन गर्ने वातावरण पाएका छौँ, तर खुसी अझै पनि कागलाई बेल पाकेझैँ भएको छ। उस बेला शिविर भन्दा धेरै संघर्ष बाहिर थिएन र? हामीलाई त्यही तन्त्रले ढाड भाँच्चिने गरी धुरी कर तिरायो र त्यही तन्त्रले अड्डाबाट खालि हात घर पनि पठायो। कुनै समयमा त साँझ नपर्दै ढोकाको आग्लो लगाई निदाएको अभिनय गर्न पनि लगायो। खाद्यान्नमा दोब्बर दाम र थप कर पनि तिरायो। पाठशालामा जाने-नजानेको विभिन्न शुल्क तिरायो। धुरी नभएकालाई “ल! यहाँ थन्की” भनेर कसैले भनेन, न सारङ्गी जस्तो खोक्रो भुँडी देखेर “ला! यो घिच” भनेर कसैले भन्यो। यति हुँदाहुँदै पनि हामीले “श्रीमान् गम्भीर” पनि गायौँ “नेपाली हो वीर” पनि गायौँ। साँच्चै भनौँ भने, एकसट्ठी प्रतिशत भन्दा बडी हाम्रा प्रमाण-पत्रधारीले शिविरको रहन-सहन देखेर राल पनि काडे, र अझै पनि धेरै त्यही अवस्थामा छन्।
गृहयुद्ध, जनयुद्ध र भ्रष्टाचारबाट पिल्छिएको भिक्षुक राष्ट्रले पनि विशेष ठाउँको व्यवस्था गरेर, विदेशी एजेन्सीहरूसँग भिक्षा मागेर, लाखौँ याचकलाई तगारो भित्र राख्यो। ती याचक भन्दा दरिद्र थिएनन् र मुलुकमा? ती प्रमाण-पत्रधारी थिए – धुरी कर तिर्ने, बजार भाउ बोक्ने र शिविर ताकेर राल काढ्ने। किनभने उनीहरू त्यस तगारा बाहिरका थिए। हुन त भएको जायजेथा त्यागेर, मेची पुलमा हप्ता दिन परालमा सुतेर, आफ्नो अस्तित्व बचाउनु पनि सानो संघर्ष होइन। तर अठार-बिस वर्षमा त एउटा नवजात शिशु पनि वयस्क हुन्छ। मानिस अरू प्राणी भन्दा वरिपरिको वातावरणसँग चाँडै अनुकूल हुन सक्षम हुन्छ। त्यहाँ त हाम्रो भाषा एक, लवाई-ख्वाई, संस्कार र संस्कृति एक। त्यसैले आजसम्म पनि त्यस मातृभूमिलाई एक कर्मभूमिको रूपमा अपनाएर, आफ्नो भाग्यप्रति कृतज्ञ हुन नसक्नु चाहिँ अप्राकृतिक हो। हामीमा चेतनाको कमी हुनु हो।
हामी दुवै त्यहीँका थियौँ, तर हाम्रो शासक हाम्रो थिएन। हामी माटोका थियौँ, तर माटो हाम्रो थिएन। हामी दुवै तिनै मिडियामा आस्था राख्थ्यौँ, तर मिडिया पनि हाम्रो थिएन। शिविर बरु तपाईँको थियो, तर मेरो धुरी मेरो थिएन। तपाईँलाई जुन तगारो बाहिरकाले लाञ्छना लायो, उसैले मेरो पनि खेतको पानी चोरेको छ। केवल मानसिकता नै त हो हामीलाई फरक विचारधारा राख्न बाध्य गर्ने, त्यो पनि सिमाना र राष्ट्र पद्धतिले दिएको उपज थियो। “तेरो गोरुले मेरो तोरी बारी फाँड्यो” जस्तो गुनासो र “गोबर पनि नदिने जात” जस्तो सिद्धान्त, भनेको “हात्ती र हात्ती छाप चप्पल” जस्तै उस्ता-उस्तै हुन् र यो छर-छिमेकीमानै लागु हुन्छ। सिमाना पारीबाट कोही आउँछ र यो गुनासो बोकेर? हो! त्यही मानसिकताले हामीलाई भिन्न प्रतिक्रिया गर्न सिकाएको। त्यही मानसिकताका कारण हो, त्यस दुष्ट छिमेकीले बिगार गर्दा मैले दण्ड दिएँ, तपाईँले सहनु भयो, जसले गर्दा उसले अझै हेप्ने मौका पायो।
फरक त केवल मानसिकताको न रहेछ। कसैले सानो बनाएर शिविर सानो भएको होइन रहेछ। हाम्रै सोँचको उपज रहेछ त्यो भिन्नता। अन्याय सहनु पनि गोर्खालीको नियति होइन, त्यसैले धेरै कुरामा हामी दुवैले गल्ती स्विकार्नु पर्छ। तगारो बाहिरकाले पनि स्विकार्नु पर्छ, आफ्नै धुरी छाउने व्यस्ततामा तगारा भित्रकालाई लाञ्छना लाउनेसँग जोरी खोज्न सकिएन, तर त्यसैको आडमा लाठो बोकेर पछि उभिएको चाहिँ अवश्य होइन।
पहाडको कुरा गर्दा शिविरले पहिचान गुमाउँछ भने, यो पहिचान गुमाउन हामी तत्पर रहनु पर्छ। किनभने शिविरले हामी जहाँ गयो शरणार्थीको लेबल पनि लिएर जान्छ। पहाडै हाम्रो परिचयको माध्यम रहँदा बरु हामी नजिकिन सक्छौँ की ? पहाडको बारेमा जान्न खोज्दा पनि खुदुनाबारी, बेलडाँगी र टी-माई त ओझेल पर्दैनन् होला। “नेपालको कुन ठाउँ?” भन्दा पनि यी माथिका शिविरले आपसमा दुरीको सामना गर्नु पर्दैन, न त्यसताका तगारो बाहिरकाले यहाँ आएर अल्पसंख्यक महसुस गर्नु पर्छ। अतः यो गनथनको आशय यत्ति हो – तथाकथित तेस्रो मुलुकमा नेपाली बोल्ने साथी खोज्दा, उनान्सय प्रतिशत यो प्रश्नको सामना गर्नु पर्छ, “क्याम्प कुन परो?”
हिजो हामीले चाहेर पनि शिविर छोड्न सकेका थिएनौ, आज छोडेर हिँडेपछि त्यसैलाई हामीले मूल्याङ्कनको आधार बनाउनु कत्तिको उचित होला? अहिले हामी न शिविरमा छौँ, नत ऐलेनि जग्गामा खर र माटाले घेरिएका। तर हामी त्यतिखेर पनि नेपाली थियौँ, आज पनि नेपाली नै हौँ। नेपाली भाषी। हामीलाई दुरी हैन समिपता चाहिएको छ। अब के पहाड, के मधेस, के हिमाल, के तराई, के पूर्व, के पश्चिम र के तगारो के शिविर, यो प्रश्नले दुरी बढ्छ भने अर्को विकल्प किन नखोज्ने?
प्रश्न केवल “क्याम्प कुन परो?” को मात्र हैन। यसले प्रवाह गर्ने सन्देश तथा मानसिकताको हो। हो! केवल मानसिकताको मात्रै फरक थियो, त्यहाँ पनि र यहाँ पनि। वास्तवमा यहाँ पनि हामी दुवैले त्यही मानसिकता बोकेर आएका छौँ। किनभने पहाड भन्दा क्याम्पलाई तपाई चाँडो ग्रहण गर्न सक्नु होला, जुन तगारो बाहिरका लागि अर्थहीन हुन सक्छ। यो प्रश्नको जवाफमा कसैले कुनै एउटा शिविरको नाम लियो भने, त्यो त्यहीँको हुन्छ। त्यसले त्यो जीवन बाँचेको नभए पनि, नजिकबाट अवलोकन गरेको छ। यो प्रयोग गर्दा गलत हुँदैन, किनभने हाम्रो सांस्कृतिक एकताले गर्दा यस तथाकथित झूटो उत्तरलाई ठम्याउन “इन्द्रेका पिता चन्द्रे” आए पनि सक्दैन। अनुभवकै लागि भए पनि यो प्रयोग गरेर हेर्न सकिन्छ। हुन सक्छ यो धेरैको दृष्टिमा पाप होला, तर यही उत्तरले तपाईँको आँखामा उत्साह देखिन्छ। यो नियम तगारो बाहिरका लागि पनि लागु हुन्छ।
यस्ता प्रश्नलाई आजको भोलि नै निर्मूलन गर्न पनि सकिन्न। जसरी मानवले अनेक किम्बदन्ती र मिथकलाई आत्मसात् गरेर आफ्नो खोज र जिज्ञासाको सहायताले आज विकसित भएको परिकल्पना गरिरहेको छ, यो प्रश्न र उत्तर पनि फगत एक मिथक बाहेक केही होइन, जसको आधार काल्पनिक मात्र हो, तर हामीमा गहिरो गाडिएको छ, “क्याँम्प कुन परो?”
इतिहासकारहरू भन्छन्, मानव उत्पत्तिको सुरुवात पूर्वीय अफ्रिकाको जङ्गलबाट भयो र भोजन तथा सुरक्षाको खोजी गर्दा-गर्दै हामी विश्वमा फैलिन पुग्यौँ। हामी (मानव), जहाँ-जहाँ गयौँ, प्रकृतिलाई बिगार्दै, आफ्नै र अरू प्रजातिको शोषण र दमन गर्दै आयौँ। यो प्रक्रिया अझै पनि सकिएको छैन।
डार्विनको विकासको सिद्धान्त (Theory of Evolution) अझै निरन्तर छ र अवश्य परापूर्व कालसम्म चलिरहनेछ। संसारमा दैत्य कोही छ भने, त्यो मानव नै हो। जति-जति विकसित हुँदै गयो, त्यति-त्यति आफ्नै परिधि भित्र सङ्कुचित र सङ्कीर्ण हुँदै जादैछ। यसका लागि अनेक मिथकहरूको परिकल्पना गरी, त्यसैलाई सत्य मानेर, त्यसैको भर परेको छ। ईश्वर, धर्म, समुदाय, सङ्गठन, कर्पोरेसन, र पैसा देखि लिएर स्वर्ग अनि नर्क, यी सबै मानवको ठुलो मस्तिष्क र भाषाको देन हो।
समय सापेक्ष आवश्यकतालाई पूर्ति गर्न यस्ता मिथकहरूको आविष्कार भएको छ। जाने भन्दा अगाडिको इतिहास ईश्वरलाई सुम्पिदिएको छ, र आवश्यकता प्राप्तिका लागि गरिने कृत्यलाई धर्मको नाम दिएको छ। यसै क्रममा आफ्नो सहज स्थान (Comfort Zone) तयार गर्न समुदाय बनायो र त्यसलाई सञ्चालन गर्न सङ्गठित भयो। औद्योगिक क्रान्तिका क्रममा व्यापारमा व्यक्तिगत दायित्वबाट बच्न कर्पोरेसनको अर्को मिथक व्यक्ति निर्माण गऱ्यो, र आफ्नो व्यक्तिगत दायित्वको चापलाई कम गऱ्यो। जस्तो यहाँ यो प्रश्नको माध्यमबाट हुन खोज्दै छ, “क्याम्प कुन परो?”
पैसा, स्वर्ग र नर्क त जबदेखि घुमन्ते जीवन त्यागेर एक ठाउँमा गाउँ बसाली कृषि गर्न थाल्यौँ, तबदेखि नै चलनमा आएको तथ्य छ। हामी मध्ये सबै पैसालाई मिथकको रूपमा परिभाषित नगरौँला, तर यो पनि त यही ठुलो मस्तिष्कको परिणाम हो। उहिले घरमा नुन सकिएको बेला छिमेकीमा एक पाथी कोदो लिएर गएको सम्झना छ? के त्यतिखेर हामीले विनिमय गरेका थिएनौ? त्यतिखेर हाम्रो विनिमय नुन र कोदोमा हुने गर्थ्यो। कुनै-कुनै बेला त “फलानो दिन म तँलाई यो नुनको साटो डेढ पाथी कोदो दिउला” भनी बचन दिएर मात्रै पनि नुन खाएका छौँ। त्यतिखेर के कुराको विनिमय भएको थियो? वचन, भरोसा र विश्वासको, हैन र? बस! अहिले हाम्रो हातमा भएको हरियो डलरको काम त्यत्ति नै हो, भरोसा। त्यतिखेर पनि त्यो तामाको टुक्राले हाम्रो भरोसा कायम राख्ने गर्थ्यो। “ला! यो तामाको टुक्रा राख, जुन मैले फलानो महाजनलाई आठ माना मकै दिएर लिएको थिएँ। यो टुक्रा राजाले महाजनलाई दिएको हो, जसको मूल्य आठ माना मकै बराबर छ। यो मुद्रा आविष्कार गर्ने फलानो राजालाई जो-कोहीले भरोसा गर्छन्, तिनले आठ माना मकै बराबर मूल्यको कुनै पनि बस्तु यसको बदलामा दिनेछ।”
स्वभावतः तपाईँको वालेटमा भएको डलर बिल फगत एक भरोसा हो, राज्य कोषाध्यक्षको वचन, जसप्रति हामी पूर्ण विश्वास गर्छौँ। तर वास्तवमा हो त मिथक, जसलाई मानवको मस्तिष्कले आविष्कार गरेको हो। यसको भौतिक मूल्य भन्दा पनि क्रय-विक्रेताको आपसी भरोसामा बडी मूल्य हुन्छ। यही मूल्य यस प्रश्नमा निहित छ, जसले हाम्रो सामाजिक विनिमयमा सहजता र मिथक संगठनको आवश्यकता बारम्बार खोजिरहन्छ। के थाहा भोली यसमा भरोसा न्यून भएर जाला, विश्वास टुटेर जाला? यसको मूल्य घट्ने तथा लोप भएर जाने पनि सम्भावना त्यतिकै छ। हाम्रो सङ्गठन पनि एक मिथक हो, तर यसप्रति हामी नि:स्वार्थ विश्वास गर्छौँ। अब भन्नुहोस्, दुरी सृजना गर्ने मानसिकता देखिन्न र यस प्रश्नमा, “क्याम्प कुन परो?”
जीग्मेलाई हिजो आफ्नो समुदायको परिधि बढाउनु थियो, त्यसैले आफूभन्दा केही भिन्न देखिने आफन्तलाई छिमेकीको भर पर्न बाध्य बनायो। एउटा जनजातिको सुरक्षा गर्नु पर्थ्यो गरेन, उसको गल्ती हो तर त्यो गल्तीलाई हामी आफै कानुनको रूपमा परिभाषित गर्छौँ। खोजन्ते, घुमन्ते र सङ्ग्रहकर्ता मानव सभ्यताको इतिहास सम्झनुहोस् त! जतिखेर हामी एक अर्काको सुरक्षाकै लागि विशेष ठाउँमा बसाइँ सरी नयाँ सभ्यताको प्रादुर्भाव गर्थ्यौँ।
सिन्धु घाटीको सभ्यता पनि त्यसैको परिणाम थियो। त्यहाँबाट पनि हामी विस्थापित भएर गङ्गा किनार वरिपरि थन्किएका हौँ। अहिले पनि नयाँ सभ्यताको निर्माण हुँदै छ। यो सभ्यता त्यो सभ्यता भन्दा युगकै महत्त्वपूर्ण सभ्ययता हुनेछ, यदि हामीले हाम्रो साझा भाषा, संस्कृति र पुर्खाको धरोहरलाई संरक्षण गर्न सक्यौँ भने। झापा र मोरङका शिविरहरू पनि त्यही पूरक सभ्यताको मिलन थियो, जुन कालान्तरमा मिल्नु नै थियो, त्यो हाम्रो जीवनकालमै सफल भयो। फेरी यो नयाँ संसारमा फैलिएको छ र हाम्रो छुट्टै पहिचान बोकेको छ। अब हाम्रो पहाड झापा र मोरङ नभएर सिङ्गो नेपाल हुनु पर्छ, किनभने भाषाले, संस्कृतिले र आध्यात्मिक चेतनाले हामीलाई जोडेको छ। पहिचान र सम्बन्धको निकटता कायम गर्न र सहजताका लागि यो प्रश्न गरिन्छ भने अझ उचित छ, तर यसलाई दुरी बढाउन र तर्कमा विजयी हुन प्रयोग गरिन्छ भने कसैलाई नसोधेकै राम्रो, “क्याम्प कुन परो?”
मानवताको उत्पत्ति देखिनै मानवले छैटौँ इन्द्रिय, मन, को विकास गर्दै आएको छ। यो इन्द्रिय सबैमा अवश्य हुन्छ, तर यसको गुणस्तर उसको योग्यता अनुसार व्यक्तिगत रूपमा भिन्न हुन्छ। यसलाई परिवेश, वातावरण र सन्दर्भले पनि असर गर्छ। दृश्य, श्रव्य गन्ध, स्वाद तथा स्पर्शको आधारमा अनुभव प्राप्त गरी, त्यसको प्रतिक्रिया दिने कार्य मनले गर्छ। मस्तिष्क स्वतः त्यसमा सहायक हुन्छ, तर यसको पूर्व-ज्ञान तथा स्मृति अनुसार मानव मस्तिष्कले त्यसता सन्देशलाई संन्साधित गर्छ।
आधुनिक चिकित्सा शास्त्रका आधारमा यसलाई विश्लेषण गर्ने हो भने, मस्तिष्कले उत्पादन गरेको रासायनिक पदार्थका आधारमा मनले दुःख, सुख, आनन्द, तनाव तथा रोमाञ्चको अनुभूति गर्छ। तात्पर्य के भने, एउटा अङ्गुष्ठको छाप त पृथ्वीमा कुनै अरूसँग मेल खाँदैन भने, तन, मन र भावनाको विकास मेल खाने त कुरै भएन। यो त झन् मानवको जन्म, घर, समाज, श्रेणी, हुँदा-हुदै भौगोलिक, आर्थिक, राजनीतिक, वैधानिक र सामाजिक उत्प्रेरणाको असरका कारण भिन्नाभिन्नै हुन्छ। त्यसैले भावनामा सुधार गर्न साधना गर्नै पर्छ। यो साधना हामी विचारको आदान-प्रदानबाट गर्न सक्छौँ, प्रयास यही हो।
मनलाई छैटौँ इन्द्रिय भनेर सबै चिन्तक मान्दछन्। यद्यपि वैशेषिक दर्शनले यसलाई विस्तृत रूपमा विश्लेषण गरेता पनि, हामी सनातनीय वैदिक, वौद्धमार्गी तथा आधुनिक पाश्चात्य दर्शनका अनुयायी (जो योगलाई योगा भनी भड्किलो सङ्गीत बजाएर नाच्दछन्) पनि स्वतः स्विकार्दछन्। यसलाई ऋषिहरूले पनि धेरै महत्त्व दिने गरेको पाइन्छ, किनभने साधनाद्वारा पाँचै इन्द्रियहरूलाई नियन्त्रण गर्न, (जुन योगको मुख्य उद्देश्य पनि हो) जति सजिलो छ, मनलाई नियन्त्रण गर्न त्यति नै गाह्रो हुन्छ। यस्तो योगीहरू भन्ने र मान्ने गर्छन्। गीतोपनिषदको तर्क पनि यही हो। व्यक्तिगत तवरमा यही हाम्रो अहमको पनि मुख्य कारण हो। जसले यस्तो मानसिकता बोक्न हामीलाई बाध्य गराउँछ।
यहाँ “अहम्” शब्दलाई “अहङ्कार” सँग जोड्न खोजियो, किनभने हामी साधारणले जानेको “अहङ्कार” निन्दनीय र द्वेषपूर्ण छ। यसलाई मानव धर्मको विपरीत दृष्टिकोणबाट हेरिन्छ। तर यसैलाई आचार्यहरू मानव व्यक्तिगत रूपमा आँफु हुनुको सत्ता मान्दछन्। पाश्चात्य व्यक्तिवादी अवधारणालाई हेर्ने हो भने, व्यष्टिवाद (Individualism) को परिधिमा राखेर अहङ्कारलाई अध्ययन गरिन्छ। व्यष्टिवाद र यसको विपरीतार्थ समष्टिवाद (Collectivism) लाई सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने, पूर्वीय तथा पाश्चात्य सामाजिक संरचनाको उद्देश्य र अन्तर विरोध छर्लङ्ग हुन्छ। हामीले संयुक्त पारिवारिक संरचनाको आधार यहाँ पनि विस्तार गरेका छौँ र हामी समष्टिवादमा विश्वास गर्छौँ। यसमा पनि हाम्रो दर्शन मेल खान्छ। यत्तिका टाउको दुखाउनुको तात्पर्य के भने- हामी व्यक्तिगत रूपमा श्वेत, अश्वेत, ब्राह्मण, क्षत्रिय, वैश, शूद्र तथा गन्धर्व-किन्नर किन नहौँ, हामी यही समष्टिवाद अन्तर्गत रही विकास तथा प्रगतिलाई सामाजिक रूपमा स्विकार्दछौँ। तर व्यक्तिगत विचारमा तटस्थ रहन सक्दैनौ। किनभने बराबर हामी कसैलाई व्यवहार नै गर्न सक्दैनौ, र गर्नु हुन्न पनि। यो हाम्रो मानव धर्म र नैतिकता, दुवैले दिँदैन। यही कारण थियो, हिजो हामी अठार वर्षसम्म एकै परिधिमा रहेर पनि तगारो भित्र र बाहिर रहेका। त्यति बेला हामी एकै भए पनि राज्यसत्ताको दृष्टिकोण र आवश्यकताको आधारमा भिन्न थियौँ। त्यसैको उपज हो यो प्रश्न, “क्याम्प कुन परो?”
यस विषयमा “समानता” र “समता” को शाब्दिक अर्थलाई केलाइयो भने प्रस्ट हुन्छ। मानिलिनुहोस् तपाईँका तीन छोराहरू छन्। एक पैँतिस वर्षको छ, जसले आफ्नै बुता र तपाईँको पद क्रम पहिल्याई आज सक्षम वैवाहिक जीवन बिताइरहेको छ। दोस्रो भर्खरै कलेज सकेर आफ्नै व्यवसाय गर्न तम्सिएको छ। तेस्रो भर्खरै हाई-स्कुलमा छ। तपाईँले तीनै जनालाई भनेर केही नगद “आशीर्वाद” बचाउनु भएको छ। माईलोले आजको भोली नै व्यवसाय गर्ने मौका पायो र हत्ते हाल्न थाल्यो। तपाईँ पनि चाहनु हुन्छ, उसले गर्न खोजेको व्यवसाय सफल होस। तर माईलोको भागमा जति पर्छ, त्यो भन्दा बडीकै आवश्यकता पर्ने तपाईँले महसुस गर्नुभयो। जुन धनमा तीनै केटाहरूको बराबरको अधिकार थियो, सबै माईलोलाई दिँदा अरूलाई अन्याय हुने तपाईँको नैतिक पक्षले भन्छ।
यस्तो परिस्थितिमा तपाईँ समानताको मान्यता कसरी स्थापित गर्न सक्नुहुन्छ? उनीहरूको योग्यता, आवश्यकता र उपयोगको विचार नगरी, तीनैलाई बराबर भाग लगाएर “मसँग यत्ति छ, लौ! गरी खाओ” भनेर तपाईँ चिन्तामुक्त हुन चाहनु, यस सन्दर्भमा समानताको व्यवहार हो। यसको विपरीत तपाईँ विचार गर्नु हुन्छ, ठूलेको व्यवसाय राम्रै चल्दै छ र उ योग्य पनि छ। हालको व्यवसायमा तपाईँको सुझाव मात्रैले पनि उ चौतर्फी विकास गर्न सक्षम छ। सानो पढ्दै छ, उसमा न व्यापारको ज्ञान छ, नत सम्पत्ति व्यवस्थापन गर्ने योग्यता। यही बचतलाई योग्य ठुलो छोराको सहमतिमा माईलोलाई ऋण स्वरूप व्यवसायमा लगानी गर्न दिए, र “सानो भाइको लागि पनि विचार गरेस्” भनी माइलोलाई साहस दिए, उक्त परिस्थितिको सान्दर्भिक व्यवहार हुन्छ। यसमा ठुलेले बाबुको विश्वास प्राप्त गर्छ, सानेले दाजुहरू सहित पिताको माया र माईलोले तनाव रहित पिताको “आशीर्वाद।” यसमा धनको अंश बरावर हुँदैन, तर उनीहरूको योग्यता अनुसार समान न्याय पाउने कुरामा विश्वस्त हुन सकिन्छ। यही वास्तवमा समता हो।
यस स्थितिमा पिताले उनीहरूको उमेर, योग्यता तथा छोराहरूको अन्य सामर्थ्य र कमजोरीलाई नजरअन्दाज गरी समान व्यवहार गर्नु चाहिँ, वास्तवमा भेदभाव हुन जान्छ। अथवा यहाँ भेदभाव नगरी न्याय नै हुँदैन। त्यसैले श्वेत-अश्वेत तथा योग्य-अयोग्यको आन्तरिक समालोचना गरिनु पर्छ र व्यवहारमा उचित दृष्टिकोण राख्नै पर्छ। यसलाई अर्को दृष्टिकोणबाट हेरौँ। हामी एउटा खोरन्डोसँग जस्तो व्यवहार गर्छौँ, अर्को खोरन्डोसँग उस्तै व्यवहार गर्न सक्दैनौ। किनभने दुवै एक आपसमा विभिन्न पक्षमा भिन्न हुन सक्छन्। हुनसक्छ उनीहरूको उमेर फरक होला, या लैङ्गिक भिन्नता होला, वा फेरी उनीहरूमा शैक्षिक योग्यताको फरक होला। उनीहरूमा एकरूपताको धारणा स्थापित गरी बराबरीको व्यवहार गर्नु भनेको, नेपालमा दलितलाई उसको नामका आधारमा आर्थिक आरक्षणको घोषणा गर्नु सरह हो। अतः हामी बालक खोरन्डोलाई जसरी व्यवहार गर्छौँ, नाबालिग खोरन्डोलाई गर्न सक्दैनौ। उनीहरूलाई दिने धेरै ग्राह्यता फरक हुन्छ, तर हामी निःसङ्कोच भन्न सक्छौँ, हामीद्वारा उनीहरूलाई अन्याय हुन र दमन गर्ने प्रावधान रहन्न। हामी तथाकथित “कलर ब्लाइण्ड” हैनौ, जो रङ्गमा भेद छुट्याउन सक्दैनौ। हामी श्वेतलाई सेतै देख्छौँ र बाँकीलाई अश्वेत, तर हामी समताको अवधारणा ग्रहण गर्छौँ। हामीले दिने आदरमा दोष हुँदैन। मानवको आवश्यकता र अपेक्षा अनुसार नै हामीले दिने आत्मीयतामा भिन्नता हुन्छ। त्यसैले हामी बराबर छैनौ, तर यही विभिन्नता हाम्रो एकरूपताका लागि आवश्यक तथा जननी हुने सम्भावना रहन सक्छ, यदि हामीले हाम्रो दृष्टिकोणमा परिवर्तन ल्यायौँ भने। दृष्टिकोणबाट नै धारणाको विकास हुने हो भने, हामी माझ सूक्ष्म सम्प्रदाय किन खडा भइरहेको छ? यस्ता प्रश्नहरूको माध्यमबाट, “क्याम्प कुन परो?”
हिजो गुरागाईँ पुरेतको जम्मा एउटा गाई, त्यस प्राणीले कति गोब्र्याओस? त्यसमाथि एकादशीका दिन गोबर लिन जाँदा पुरेतले कति घर-छिमेकीलाई गोबर दिएर सक्नु? आफ्नो पनि त घर लिप्नु छ उनलाई। अति भएपछि भनिदिए होलान्, “छैन गोबर तिमेरू भोंटाँगेलाई।” बस्! काम पुगिहाल्यो। “गोबर नपत्याउने जात” सिद्धान्तको प्रादुर्भाव त्यही घटनाबाट भयो, जुन फगत एक छिमेकीको असन्तुष्टि मात्र थियो। पर्सिपल्ट त्यही गाईको दूध बाँडेर चिया खाएको गणना नै छैन। यस तथाकथित गोबर सिद्धान्तका बारेमा त्यहीताका तगारो भित्र बस्ने एक मित्रले भनेका हुन। ती मित्रसँग गुरागाईँ पुरेतको पनि घनिष्ठता छ, किनभने त्यो गोबर सिद्धान्तलाई दुवै हास्यास्पद मान्दछन्। ती दुवैलाई थाहा छ, त्यो भएकै घटना भए पनि आज किंवदन्ती भन्दा बडी यसको मान्यता छैन। त्यसैले हिजो हामी बिच न हाम्रा अभिभावकले कुनै विभेद गरेका थिए, न दाजुभाइमा कुनै भेदभाव थियो। यस्ता किम्बदन्ती, तथाकथित “गोबर नपत्याउने जात” र “क्याम्प कुन परो?” भन्ने सिद्धान्त सबै व्यक्तिगत हुन् र यी मिथक पनि हुन्, जसलाई हामीले आफ्नो धर्म ठानेर भरोसा गऱ्यौँ, अपनायौँ। यसलाई निरन्तरता दिने हो भने हामीले संयुक्त रूपमा खडा गरेको यो नयाँ सभ्यताको कुनै मूल्य रहँदैन। किनभने सभ्यता स्थापनाका लागि स्थान मात्र हैन, भाषा, संस्कृति, आदर्श तथा हाम्रो दर्शन जरुरी हुन्छ। जुन हामी एकरूपता तथा समताको दृष्टिकोणबाट प्राप्त गर्न सक्छौँ।
यति गन्थन गरेपछि यो व्यक्तिगत सिद्धान्त, जुन “क्याँम्प कुन परो?” भन्ने प्रश्नबाट स्थापित भएको थियो, स्वतः खारेज हुन्छ। तर मानवीय ठुलो मस्तिष्क मान्दैन। तपाई सँग पनि ठुलो मस्तिष्क अवश्य होला, त्यसैले यो आन्तरिक द्वन्दलाई निरन्तरता दिँदै, यस विषयप्रति आत्मालोचना गर्नु होला। त्यसपछि मात्र निर्णय लिनु होला – अब हामीले “जोडा मिलाऊ” अभ्यास गर्ने की “फरक छुट्याऊ” अभ्यास गर्ने, बारम्बार यस्ता प्रश्न तेर्स्याएर, “क्याम्प कुन परो?”