मधेशी एसोसिएसन इन अमेरिकाले आठ राज्यका नौ ठाँउमा होली मनाउदै
पेन्सिल्भेनिया/ मधेशी एसोसिएसन इन अमेरिका (मा) ले विभिन्न आठ राज्यका नौ ठाँउमा सामुहिक रुपमा होली मनाउने भएको छ।
माले मार्च २३ र २४ तारिख गरि दुई दिने होली मनाउने भएको हो।
माका अध्यक्ष डा. संगित रौनियारका अनुसार २३ तारिख शनिवार जर्जिया, न्यु योर्क र भर्जिनियामा होली कार्यक्रम राखिएको छ।
यस्तै मार्च २४ तारिख आइतवार टेक्सस, क्यालिफोर्निया, फ्लोरिडा, म्यासाचुसेट्स र पेन्सिल्भेनियामा होली कार्यक्रम तय भएको छ।
पेन्सिल्भेनियामा फिलाडेल्फिया र पिट्सबर्गमा गरि दुई ठाँउमा होली कार्यक्रम हुने छ। टेक्ससको डालासको ग्रेपभाइनमा कार्यक्रम राखिएको छ। जर्जियाको एटलान्टा सिटी र भर्जिनियामा च्यान्टिलीमा कार्यक्रम राखिएको छ।
क्यालिफोर्नियामा आर्टिसिया, न्यु योर्कको क्विन्स स्थित कोरोना पार्कमा होली उत्सव हुने छ। यस्तै फ्लोरिडाको लेकवर्थ विच र म्यासाचुसेट्सको विनचेस्टरमा होली खेलिने छ।
अध्यक्ष रौनियारले सबै समुदायलाई होली कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।
‘म अमेरिकामा रहेका सबैलाई आ-आफ्नो पाइक पर्ने ठाँउ उपस्थित भएर होली मनाउन आमन्त्रण गर्छु।’ समाज टाइम्स सँग रौनियारले भने,’हाम्रो संस्कृति र संस्कार जोगाउन सबैले सहयोग गर्नु पर्छ।’
अध्यक्ष रौनियारले होली पर्व आपसी मेलमिलापको प्रतिक भएकाले त्यसको सदुपयोग गर्नु पर्नेमा जोड दिए।
रौनियारले होली पर्व आयोजना गरेकोमा माका सबै च्याप्टर अध्यक्ष र सम्पूर्ण टिमलाई धन्यवाद दिए।