दीपक मनाङे बने गण्डकी प्रदेशमा मन्त्री
पोखरा । राजीव गुरुङ अर्थात दीपक मनाङे गण्डकी प्रदेशको सरकारमा मन्त्री भएका छन् । केन्द्रमा सत्ता समिकरण बदलिए पछि त्यसको असर प्रदेशमा पनि परेको छ । नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले मनाङबाट स्वतन्त्र सांसद मनाङले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीको सपथ लिएका हुन् ।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । गुरुङले हिजोमात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गर्दै आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।
गुरुङ २०७९ सालको चुनावमा मनाङ ‘ख’ बाट स्वतन्त्ररूपमा निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको गुरुङको भनाइ छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।
राप्रपाले गठबन्धनमा नजाने बताएकाले गुरुङ मन्त्री बनेपछि मुख्यमन्त्री पाण्डेलाई सरकार जोगाउन सजिलो भएको छ ।