रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु
काठमाडौं । अवैधानिक बाटोबाट रुसको सेनामा भर्नामा भएका थप ७ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । रुस युक्रेन युद्धका कारण रुसी सेनामा अवैधानिक बाटो हुँदै नेपालीहरु पनि भर्ना भएका थिए ।
मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।
यसैगरी, रुसी सेनामा भर्ना भएर मृत्यु भएका नेपालीहरूको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ ।
मन्त्रालयले यसअघि विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्नलाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रामा जानुपरे नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न भनेको थियो ।