अमेरिकी संसद्ले पारित गर्यो टिकटक प्रतिबन्ध लगाउने कानुन
पेन्सिल्भेनिया/ अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाले बुधवार टिकटकलाई प्रतिबन्ध लगाउने सम्बन्धी कानुन पास गरेको छ।
प्रतिनिधिसभाका कुल चार सय ३५ सदस्य मध्ये तीन सय ५२ जनाले टिकटक माथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन्। यस्तै ६५ जनाले विपक्षमा मतदान गरेका छन्।
यसले दस करोड भन्दा बढी टिकटक प्रयोगकर्ता र यही प्लेटफर्म मार्फत व्यवसाय एवम् जीवनयापन गरिरहेकाहरूलाई के होला भन्न प्रश्न खडा भएको छ।
त्यसो त यो कानुन लागु हुन्छ नै भन्ने छैन। यसलाई बेच्न ५ महिनाको समय दिइएको छ र यो समय सीमा भित्र कसैले किन्यो भने यो एप सुचारु हुन सक्छ। अमेरिकाको चासो भनेको यो कम्पनीको कनेक्सन चाइनिज कम्युनिस्ट पार्टीसँग भएकोले हो।
अमेरिकी जनताका डाटाहरू चीनको कम्युनिस्ट पार्टीले प्राप्त गर्ने र त्यस मार्फत अमेरिकाको चुनाव लगायत अन्य कुराहरूमा चीनले हस्तक्षेप गर्ने भन्ने आधारमा यो एपलाई बेच्न बाध्य पार्ने कदम स्वरूप यसो गरिएको जनाइएको छ। साथै चीनसँगको अन्य कटुता बढ्दै गएको अवस्थामा टिकटक मारमा परेको अनुमान गर्न सकिन्छ।
त्यसो त प्रतिनिधिसभाबाट पास भए पनि सिनेटमा गएर यो कानुन अड्किने सम्भावना पनि छ। युवाहरूबिच अत्यन्त लोकप्रिय रहेको यो एप प्रतिबन्ध लगाउन नहुने पक्षमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विचार व्यक्त गरे पछि पास भए हस्ताक्षर गर्दिन्छु भन्ने बाइडेनलाई पनि दबाब उत्पन्न भएको छ। यस्तोमा पास वा फेल भन्दा पनि सिनेटले यो कानुनलाई कमसेकम निर्वाचन सम्म छलफलमा नै नल्याउने सम्भावना पनि उत्तिकै छ।
त्यसैले टिकटक प्रयोगकर्ताहरूले भर्खरै आत्तिनु पर्ने अवस्था देखिँदैन। प्रतिबन्धित हुने नै अवस्थामा टिकटक बेचेर भए पनि यसलाई उद्धार गर्ने सम्भावना उत्तिकै छ।
अहिले टिकटकको मूल्य १०० बिलियन डलर मानिएको छ भने प्रतिबन्धित हुने अवस्थामा भने यसको मूल्य घट्न सक्छ र अमेरिकाको कुनै ठुलो कम्पनीले किनेर चलाउन सक्छ। सबै बाटाहरू बन्द भएको अवस्थामा २०२४ मा हुने निर्वाचन पछि आउने सिनेटले यसको भाग्य निर्धारण गर्ने सम्भावना देखिन्छ। प्रतिनिधिसभाबाट कानुन पास भए पनि छिट्टै टिकटक अमेरिकाबाट बिदा हुने सम्भावना भने निकै कम छ।