केपी ओली कप सुरु, आयोजक टोलि विजयी
काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ ।
उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ ।
उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध्यक्ष क्षितिज थेबेले नेपालको खेलकुद जगतको विकास र खेलाडीहरुको पलायनको अन्त्यका लागि खेलको सुरुवात गरेको बताएका छन् ।
उनले भने, ‘नेपालको खेलकुद जगतको सम्पूर्ण विकासको लागि र खेलाडीहरुको पलायनको अन्त्यको लागि खेलको सुरुवात गरेका छौ । सकारात्मक सोचको विकास र राजनीतिलाई हेर्ने नजर परिवर्तन गर्नको लागि पनि यो खेल अगाडि बढाईरहेका छौं ।’
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्यूरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्रसहित सात टिम र दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजकगरी कुल १० टिमबिच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टिमले ११ लाख र दोस्रो हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । उदघाटन समारोहमा पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारीलगायत उपस्थिति थिए ।
यसैबीच, केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।
एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३- ० गोल अन्तरले पराजित गरेको हो।
केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए।
यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ।
त्यसैगरी प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुने छन्।