एनआरएनए अमेरिकाको नेतृत्व कार्यसमितिबाट भाग्दै
बिष्णु बराल
मेरिल्यान्ड/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको गत जुलाई २०२३ मा सम्पन्न निर्वाचनको क्रममा अमेरिकाको धेरै स्टेटहरू डुल्ने मौका मिल्यो। यस अवसरमा विभिन्न विचार र स्वभाव भएका महानुभावहरू सँग प्रत्यक्ष तथा फोन बाट कुराकानीहरू भए।
अधिकांशमा एनआरएनए एनसीसी अमेरिको गतिविधि प्रतिको धारणा राम्रो पाइएन तर संस्था राम्रो हो भन्ने चाही सबैले भन्नुभयो । साँच्चै संस्था राम्रो हो भने किन नराम्रो धारणा राख्नु भयो त भन्दा लिडरसिपमा दोष थुपारेको पाए। उहाँहरूले मनोमानी गर्नुभयो अरूका कुरा सुनिएन भन्ने गुनासो गर्नु हुन्छ ।
त्यसो भए अबको चुनावमा राम्रा उम्मेदवारहरू छान्नुहोस् तर संस्था प्रतिको धारणा सकारात्मक राखी राख्नुहोला भन्दै गए। एनआरएनए एनसीसी अमेरिका को इतिहासमा नै पहिलो पटक फेस भेरीफीकेसन प्रक्रिया पुरा गरी निर्वाचन भएको थियो ।
यसरी गरीएको निर्वाचनमा चुनावी नतिजा प्रकाशित गर्ने क्रममा आईसीसीबाट हुन गएको अपरिपक्वताका कारण केही निराश बनाएता पनि अन्त्यमा सकारात्मक रूपमा कार्य सम्पादन गरी एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन समितिले निर्णय प्रकाशित गरेको थियो।
आज निर्वाचनको परिणाम पनि आइसक्यो र एनआरएनए एनसीसी अमेरिकाको बाह्रौँ साधरण सभा सम्पन्न गरी गरीएको एनआरएनए एनसीसी अमेरिकाको पहिलो फिजिकल मिटिङमा बोर्ड सदस्यको रूपमा उपस्थिति जनाई रहँदा परिवर्तनको कुनै गुन्जाइस देखिएको थिएन।
कतै फेरी पनि निराशाका बादल अमेरिकी एनआरएनए आकाशमा मडारिने त होइन भन्ने प्रश्नै प्रश्न उब्जाएको थियो। आजसम्म चार वटा मिटिङ भए, कुनै पनि मिटिङ बाट एनआरएनए एनसीसी अमेरिकाको लक्ष्य अनुरूप निर्णय भएन । हरेक विषयहरू विवादमा परिवर्तन भयो ।
दोस्रो फिजिकल मिटिङमा त कोरम समेत पुग्न सकेन । यो अवस्था कसरी आयो? नैतिकता को त खडेरी छ। कहाँ, कसलाई, के प्रश्न गर्ने ? देख्ने आँखा, सुन्ने कान र महसुस गर्ने क्षमता भएको मन भएको भए परिस्थिति नयाँ हुन्थ्यो तर यहाँ एउटा व्यक्तिको नियुक्तिको बारेमा पदीय हैसियतको लडाई चलिरहेको छ।
कार्यसमितिमा छलफल गर्न पनि नसक्ने नेतृत्वले अब त विवादित आइसीसीका होनहार साथीहरूलाई पनि विवादमा ल्याउने काम हुन थालेको समाचारहरू बाहिर आएका छन्। कार्यसमितिमा महासचिव हुँदाहुँदै महासचिवले गर्ने काममा सचिवलाई लगाएर विवादमा ल्याइयो । यस्तो गर्न हुन्थ्यो की हुँदैनथ्यो। सचिवको काम कर्तव्य र अधिकार के हो सचिव लाई थाहा हुन पर्ने हो। तर त्यस्तो देखिएन । यो सबै काम किन गरिन्छ ? यो कसको कारणले भएको हो त? बहुमत कार्यसमितिका साथीहरुको भावना माथि खेलवाड गरिएको छ। कुनै पनि विषयमा कार्यसमितिमा छलफल र परामर्श गर्नु पर्ने हो तर त्यो कहिल्यै गरिएन। कार्यसमितिलाई बैरी ठानिदै आएको छ। नेतृत्व कार्यसमितिबाट सदैव भागेर संस्था चल्छ?
कार्यसमितिको जिम्मेवार सदस्य भएकोले म नेतृत्व सँग तपाईँहरूका कारणले सम्पूर्ण कार्यसमितिले अपमान महसुस गरेको जानकारी दिँदै आफ्नो कमजोरी महसुस गरी कार्यसमिति समक्ष क्षमा माग्नको लागी अनुरोध पनि गर्दछु ।
म पनि वर्तमान कार्यसमितिमा रहेर सक्रिय रूपमा आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा नै छु। आज सम्मको स्थिति आइपुग्न मेरो पनि कमी कमजोरीहरू भएको भए मेरो भागमा परेको लिन तयार नै छु । तर परिस्थिति सधैँ यस्तै राखी राख्न भने हुँदैन। यसमा वर्तमान नेतृत्व अलि बढी सक्रिय र सजग हुन अत्यावश्यक छ। बोली व्यवहार र कार्यशैलीमा परिवर्तन अपरिहार्य छ।
हुन त अमेरिका जस्तो प्रजातान्त्रिक देशमा कसैलाई पनि यसो गर, उसो गर भन्ने अधिकार म सँग छैन तै पनि मेरो क्षमताले भ्याए सम्म कोसिस भने गरी रहेकै थिए र गर्दै जाने पनि छु । यस्तो अवस्था आउन सक्छ भन्ने कुरालाई नजरअन्दाज गरियो।
त्यसैले साथीहरू हामी सबैले आँफुले गरेका केही कमी कमजोरीहरू छन् भने महसुस गरी म म भनौँ र आगामी दिनहरूमा कसरी एनआरएनए एनसीसी अमेरिका जस्तो पवित्र संस्थालाई विवाद रहित बनाउन सकिन्छ भन्ने तर्फ घनीभूत छलफल गरौँ र वर्तमान कार्यसमितिले केही राम्रा कामहरू गरौँ । सहमति ,सहकार्य र हामी बिचको एकता नै आजको आवश्यकता हो।
(लेखक बिष्णु बराल एनआरएनए एनसीसी अमेरिकाका बोर्ड सदस्य एवं संयोजक न्यूज़ लेटर पब्लिकेशन समिति)