भूतपूर्व गोर्खा परिवारलाई ठगी गर्ने नेम्वाङलाई उम्कन नदिन पीडितहरूको माग
काठमाडौँ । भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौँ ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्व गोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् ।
पीडितहरूले मङ्गलवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुल उपर गरी नेम्वाङलाई हदैसम्मको कानुनी सजायका लागि सहयोग गर्न ध्यानाकर्षण पत्र समेत पेश गरेका छन् ।
बेलायत सरकारको नीति अन्तर्गत त्यहाँ जान कानुनी प्रक्रिया गरिदिने भनी साबिक पाँचथर घर भई हाल लन्डनमा बस्ने नेम्वाङले आफू जस्ता दर्जनौँबाट विभिन्न बहानामा मनोमानी ढङ्गले करोडौँ रुपैयाँ उठाएको १० जना पीडितहरूले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘हामीलाई नेम्वाङले अहिले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ । ऊ शक्तिकेन्द्र धाएर उम्किने हो कि भन्ने शङ्का भएकाले हाम्रो ठगिएको रकम असुल उपर गरी उसलाई हदैसम्मको सजाय गराउन माननीय मन्त्रीज्यूसमक्ष यो ध्यानाकर्षण पत्र पेश गर्दछौँ’, पत्रमा भनिएको छ ।
तीन जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले नेम्वाङलाई २९ जनवरी सोमबार पाँचथरमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काठमाडौँको हिरासतमा राखेको छ ।
नेम्वाङलाई प्रहरीले ठगी सम्बन्धी कसुरमा हिरासतमा राखेर जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
नेम्वाङ आफ्नो बाबुको काजक्रिया गर्न नेपाल आएका बेला पक्राउ परेका थिए । नेम्वाङ विरुद्ध पाँचथरकै एक ३२ वर्षीया महिलाले जाहेरी दिएकी थिइन् ।
जाहेरी अनुसार, नेम्वाङले भूपू गोर्खा सैनिकका दुई छोरीसँग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजार रुपैयाँका दरले ४ लाख ७६ हजार रुपैयाँ लिएर पनि काम नगरिदिएको आरोप छ । काममा आलटाल गरेपछि पीडितले पैसा फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ ।
सुरुमा नेम्वाङले दुई दिदीबहिनीलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजीकरण गरिदिने आश्वासन दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पेश भएको जाहेरी दरखास्तमा मुलुकी फौजदारी संहिता २०७४ को दफा २४९ (१) र (२) उल्लङ्घन गरी ठगी सम्बन्धी कसुर गरेको उल्लेख छ ।
आफ्ना पिताको मृत्यु भइसकेको अवस्थामा आमालाई बेलायत पुर्याएको र उनको खातामा बेलायत सरकारले जम्मा गरिदिने रकम नेम्वाङले आफ्नो नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ ।
विगत ४ वर्षदेखि जाहेरवालाको आमालाई प्राप्त हुने रकम नेम्वाङले खर्च गरेको र माग्दा तिमीहरूलाई बेलायत ल्याउन खर्च लाग्छ भन्दै टार्ने गरेको जाहेरवालाको दाबी छ । आफूलाई २४ हजार पाउन्ड (करिब ४० लाख ६० हजार रुपैयाँ) ठगेको नेम्वाङ विरुद्ध आरोप छ । दिल प्रसाद लिम्बु, उनका दुई दाजुहरू तथा एक दिदीले आफूहरूबाट नेम्वाङ्गले २१ लाख रुपियाँ ठगेको उजुरी दिएका छन्।
त्यस्तै रमिला राईले आफूबाट नेम्वाङले रु साढे ६ लाख ठगेको उजुरी दिएकी छन्। यसरी नै नेम्वाङले दर्जनौँ व्यक्तिहरूबाट करोडौँ रुपियाँ ठगेको पीडितहरू बताउँछन्। पत्रपत्रिकामा खबर आए पछि अहिले थप तीन जना पीडितहरू प्रहरीमा उजुरी गर्न काठमाडौँ आइ पुगेका छन्।
“भूतपूर्व गोर्खा विधवाहरू तथा तिनका परिवारलाई सक्दो मदत गर्नु पर्नेमा झुट्टा आश्वासन दिँदै करोडौँ ठगेको पीडितहरूले गुनासो गरे पछि उहाँहरूलाई न्याय दिलाउन हामीले माननीय गृह मैत्रीज्यूलाई भेटेका हौँ। विदेशमा बसेर बसेर नेपालीलाई ठग्ने जो कोहीले पनि छुट पाउनु हुँदैन भन्ने हाम्रो माग हो,” गोर्खा सत्याग्रहसँग आबद्ध एक जना अभियन्ता दीपक मास्केले भने।
बेलायतको बोन्ड आडम्स् एलएलपी सोलिसिटर्स फर्ममा भूतपूर्व गोर्खा परिवारका केस लैजाने नेम्वाङले बेलायतमा समेत भूतपूर्व गोर्खा सैनिकसँग हजारौँ पाउन्ड ठगी गरेको आरोप लागेको छ । यसरी ठगी गरेको पैसाबाट नेम्वाङले फिदिमस्थित आफ्नो घरमा लिफ्ट जडान गरेका छन् भने लन्डनमा विलासी जीवन बिताउँदै आएका थिए।
नेपाल वा बेलायतमा कुनै कानुनी अध्ययन नगरेका नेम्वाङले बेलायतमा नेम्वाङ लिमिटेड र नेपालमा दि एड्भाइजर गार्डियन कार्यालय खोलेर भूतपूर्व गोर्खा परिवारसँग पैसा उठाउने गर्दै आएका थिए ।