फिप्ना अध्यक्षमा तोरण गुरुङ निर्विरोध
न्यु योर्क / नेपाली आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) अध्यक्षमा तोरण बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
न्यु योर्कमा आइतबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले तोरणको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो। फिप्नामा अमेरिकामा रहेका १८ वटा संस्था आबद्ध छन्। कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ।
निवर्तमान अध्यक्ष राजकुमार विष्टका अनुसार विधानतः फिप्नाको कार्यसमिति १५ सदस्यीय हो। आइतबारको महाधिवेशनले आठ सदस्यको चयन गरेको छ। ‘बाँकी अब बोर्डले मनोनीत गर्ने छ।’ विष्टले समाज टाइम्स सँग भने।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा तुल बहादुर तामाङलाई चयन गरेको छ। महिला उपाध्यक्षमा ममता राई चयन भएकी छिन्।
दुई वटा क्षेत्रीय उपाध्यक्ष मध्ये एकमा रामकृष्ण महर्जन चयन भएका छन्। अर्को क्षेत्रीय उपाध्यक्ष पद खाली छ।
महासचिवमा दीपक चौधरी चयन भएका छन्। सचिवका दुई पद र कोषाध्यक्ष पद अहिले खाली रहेका छन्। यस्तै सह कोषाध्यक्ष पनि खाली रहेको छ।
सदस्यमा शान्ति गुरुङ, तीर्थ राज लामा र दावा साङ्बु ढोक्प्या निर्विरोध भएका छन्। सदस्यमा दुई पद खाली छन्।
नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त फिप्नाका सल्लाहकार नवीन शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
यसै बिच निवर्तमान अध्यक्ष विष्टले महाधिवेशन ऐतिहासिक भएको बताए। ‘म खुसी छु कार्यकाल सफल रूपमा हस्तान्तरण गर्न सफल भए।’ विष्टले भने, ‘महाधिवेशन ऐतिहासिक, सन्देश मूलक र सौहार्दपूर्ण वातावरणमा भयो।’
नवनिर्वाचित अध्यक्ष गुरुङले महाधिवेशनले सहमतिको वातावरण बनाएको बताए।
‘सहमतिको वातावरण खोज्नु राम्रो हो। चुनावको माहौलले विभाजन हुने भएकाले लामो समयको प्रयासले सहमति बनेको हो त्यो सफल भयो ।’ गुरुङले भने।
उनले अब आफूले सबैलाई समेटेर चेतना मूलक कार्यक्रम गर्ने बताए।
‘विभिन्न जातको छाता सङ्गठन भएकाले सबैलाई समेटेर चेतना मूलक कार्यक्रम गर्छौ।’ निर्विरोध निर्वाचित लगत्तै समाज टाइम्स सँगको संक्षिप्त कुराकानीमा गुरुङले भने, ‘राज्यले आदिवासीको माग सम्बोधन गरेको छैन त्यसमा शान्तिपूर्ण रूपमा आवाज उठाउँछौ।’