अखाद्य कटन क्याण्डी जफत
जनकपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अखाद्य वस्तुको रूपमा रहेको कटन क्याण्डी (हवाई मिठाई) जफत गरी नष्ट गर्ने अभियान सुरु गरेको छ ।
सरकारले स्वास्थ्यका लागि हानिकारक रहेको ठहर गर्दै कटन क्याण्डी विक्री वितरणमा रोक लगाएपछि कार्यालयले उक्त अभियान जनकपुरधाममा पनि सुरु गरेको छ ।
सो क्रममा कार्यालयका खाद्य निरीक्षक प्रवीण तिवारीको अगुवाइमा जनकपुरधामको भ्रमरपुराचौक स्थित उत्पादन गर्दै आएको बिना लेबल र कम्पनीको हवाई मिठाई जफत गरी नष्ट गरेका छन् ।
तयारी अवस्थामा राखिएको साढे चार सय थान कट्न क्याण्डी (हवाई मिठाई) र त्यसलाई बनाउनमा प्रयोग गरिएको रङ्ग सहित जफत गरी नष्ट गरिएको छ ।
हवाई मिठाई बेचिरहेको अवस्थामा जानकी मन्दिर प्राङ्गणबाट साढे चार सय प्याकेट कटन क्याण्डी जफत गरी नष्ट गरिएको खाद्य निरीक्षक प्रवीण तिवारीले बताए ।
उत्पादन गर्दै आएका उद्योगका सञ्चालक प्रभु प्रसाद पटेललाई अब देखि कट्न क्याण्डी बेच्नबाट रोक लगाउँदै विक्री वितरणका लागि अनुज्ञा पत्र लि लेबल विवरण पूर्णरुपमा खुलाई विक्री वितरण गर्न निर्देशन दिइएको खाद्य निरीक्षक प्रमोद बुढाथोकीले बताए ।
खास गरी बालबालिकाहरूले खादै आएको हवाई मिठाईमा रोडा माइन बि नामको अखाद्य रङ्ग प्रयोग गर्दै आएको र सो स्वास्थ्यका लागि निकै नै हानिकारक रहेकोले सरकारले माघ ८ गते देखि सूचना नै जारी गरी विक्री वितरणमा रोक लगाउन निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख हस्त बहादुर राईले बताए ।
उनले विना इजाजतको अब देखि पुनः बेचिएको पाइए या निर्देशन अटेर गरेको भेटिए कडा भन्दा कडा कारबाही गरिने बताए ।
यता कृषि तथा पशुपन्छी विकास कार्यालयले जारी गरेको सूचनामा विभिन्न स्थानमा सडक पेटी,बजार,मेला लगायतमा विक्री वितरण भइरहेको रङिन कट्न क्याण्डीमा मानव स्वास्थ्यमा असर पुर्याउने अखाद्य रङ्ग रोडा माइन विको प्रयोग भएकोले विभागबाट अनुज्ञा पत्र पत्र प्राप्त गरी लेबल लगाइएका बाहेकका कटन क्याण्डी उपभोग नगर्न अनुरोध गरेको छ ।
साथै विक्री वितरण नगर्न नगराउन र कानुनको बर्खिलाप गए कडा कारबाही हुने सूचनामा भनिएको छ ।
कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने चिकित्सकको भनाई छ ।
उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।