अफ्रिकामा पहिलो पटक प्रधानमन्त्री प्रचण्ड : त्यहाँ रहेका नेपालीहरुको समस्या समाधान गर्न पहल गर्ने बचन
कम्पाला , युगान्डा / अफ्रिका महादेशमा पहिलो पटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले यहाँका नेपालीहरुका समस्या आफुले प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन्।
असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा पुग्ने बित्तिकै गैर आवासीय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदुत युगाण्डाको संयुक्त आयोजनामा गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उनले समस्या समाधानमा जोड दिएका हुन् ।
त्यस अघि परराष्ट्र मन्त्री एनपी साउँदले बिदेशमा रहेका नेपालीहरुका समस्यामा सरकार जानकार रहेको र यसको समाधानको लागि कटिबद्ध रहेको छ बताएका थिए।
“अफ्रिकामा रहेका नेपालीहरुका थप समस्याहरु यहाँ आउदा जानकारी पाइयो, यसलाई समाधान गर्ने छौ।” उनले भने। कार्यक्रममा एनआरएनए युगान्डाका तर्फबाट अफ्रिकामा नेपालीहरुको स्थिती र बेहर्नु परेको समस्या जानकारी गराइएको थियो ।
मानव तस्करहरुले ट्रान्जिट र राम्रो कामको प्रलोभनमा यहाँ ल्याई अलपत्र पारिदिने , अबैध रुपमा नेपाली महिलालाई यहाँका डान्सबारमा ल्याउने , श्रम स्वीकृती , पासपोर्ट नविकरण , नेपाल एयर्पोर्टमा अध्यागमनले दिने दु:ख , बैंकिङ्ग कारोबार लगाएतका समस्या समधानका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत डा. सुधीर रुपारेलियाले युगाण्डामा प्रधानमन्त्री , परराष्ट्रमन्त्री लगाएत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
उनले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन पर्यन्त गर्नु पर्ने आवाश्यकतामा जोड दिए।
कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगाएत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।
एनआरएनए युगान्डाका अध्यक्ष रमा अर्यालको सभापतित्वमा संचालित कार्यक्रममा पुर्व अध्यक्ष रमेश कंडेल , बिनोद थापा, प्रेम श्रेष्ठ लगाएतले विशिष्ट अतिथीहरुलाई स्वागत गरेका थिए ।