बाटोले विकासको ढोका खोल्यो : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाश शरण महतले बाटोले विकासको धेरै ठुलो सम्भावनाको ढोका खुलेको बताएका छन् ।
नुवाकोटको शिवपुरी–५ मा शेराबगर विकास समाजद्वारा सोमबार आयोजित बृहत् गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्य पहाडी लोक मार्गले विकासको ठुलो सम्भावना खुलेको बताए ।
‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रूपान्तरित भएको छ,’ उनले भने, ‘०४६ सालपछि विकास गाउँ पस्यो । मध्य पहाडी लोक मार्गपछि सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तीकरणको बाटो खुल्यो ।’
त्यस्तै, उनले रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको बताए । उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री महतले भने, ‘उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत ल्याएको छ । पहिलाजस्तो गैर कृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’
देशमा आवश्यकता धेरै र आम्दानी थोरै रहेकाले सबै क्षेत्र समेट्न गाह्रो भएको उनको भनाइ थियो ।