पाल्मरामा गुन्जिए ‘कर्म ग्याल्छेन’
ह्यारिसबर्ग / डिसेम्बर ३० तारिख शनिवारको दिन। घडीले दिउसोको चार बजाउँदै थियो। अमेरिकाको पेन्सल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गको छेउमा रहेको पाल्मरामा वेष्ट पाइन स्ट्रेटको एउटा हलामा प्रवेश गर्ने नेपाली- नेपाली भाषी सङ्गीत प्रेमीहरूको लस्कर लाग्दै थियो।
स्टेजमा संगीतकर्मीहरुलाई भ्याइ नभ्याई थियो। किनकि दर्शक दीर्घाका कुर्सीहरू भरिन थालेका थिए, बहुमखी सङ्गीतकार तथा गायक कर्म ग्याल्छेन बम्जनलाई सुन्न।
‘ह्यारिसबर्ग क्षेत्रका सङ्गीत प्रेमी’ को तर्फबाट गोविन्द हुमागाईँ, अगोम गुरुङ, इन्द्र गुरुङ, खगेन बानियाँ, शेखर कोइराला, कुमार सीवाकोटी लगायतका थुप्रै हातहरूले यसको जमर्को गरेका थिए।
पछिल्ला वर्ष ह्यारिसबर्ग आसपासमा नेपाली सङ्गीतका मूर्धन्य व्यक्तित्व जसको ख्याति शिखरमा छ उनीहरूको उपस्थिति बाक्लो छ। सन् २०२३ मा मात्र दुई दर्जन बढी सङ्गीतकर्मी ह्यारिसबर्ग वरपर आए, आफ्नो प्रस्तुति दिए अनि गए।
तर यस पटक कर्म ग्याल्छेनको ‘कर्म’ अलि फरक थियो। पहिलो पटक अमेरिका आएका दार्जिलिङका नेपाली सङ्गीतकर्मी कर्म ग्याल्छेनले अन्यले जस्तो ट्र्याक होइन स्थानीय स्तरमा उपलब्ध वाद्यवादक माथि विश्वास गरे।
कार्यक्रममा गायन मात्र होइन वाद्यवादन नै ‘लाइभ’ थियो। ‘कर्म साङ्गीतिक साँझ’ मा ह्यारिसबर्गमा रहेको नेपाली भाषी समुदायमा छुट्टै पहिचान बनाएका मुस्कान बालम्पकीले किबोर्डको जिम्मा लिएका थिए।
यस्तै डीपी कोइराला बाँसुरी, चन्द्र कार्की तबला, इन्द्र गुरुङ किबोर्ड, राजेश गुरुङ पर्कसन/मडल, प्याड ड्रम, भीम गजमेर बाँसुरी, ढोलकमा भरत तामाङ, विशाल ढुङ्गाना बास गिटार र खगेन बानियाँले रिदम गिटारमा साथ दिएका थिए।
स्टेज हेर्दा ५० को दशकमा काठमाडौँको जमलमा रहेको राष्ट्रिय नाच घर वा प्रज्ञा प्रतिष्ठानको झल्को दिने खालको थियो। मादल, तबला, सारङ्गी…..
‘भुटानी-नेपाली भाषी सङ्गीत कर्मीहरूको इतिहास त्यति लामो नभए पनि अहिले सम्म आइपुग्दा धेरै राम्रा गायकहरू, सशक्त सङ्गीतकारहरू, मिठा कलमका धनी गीतकारहरू जन्मी सक्नु भएको छ।’ स्वागत मन्तव्य दिन आएका आयोजक मध्येका एक गोविन्द हुमागाईँले कार्यक्रम बारे अर्थाउँदै भने, ‘प्रताब सुब्बा सरबाट सुरु भएर आएको यो यात्रा चलिरहेछ र अनन्त सम्म चलिरहोस्।’
‘हाम्रो संगीतिक यात्रालाई यहाँ सम्म ल्याउनको निम्ति धेरै पसिना बगाउनु भएका एक आदर्श व्यक्तित्व, कुशल/विलक्षण गायक,उस्तै ओजिलो सङ्गीतकार, श्री कर्म ग्याल्छेन बम्जन ज्यूको असाध्यै ठुलो भूमिका रहेको छ।’ हुमागाईँले अगाडि थपे,’उहाँ भारतको उर्वर भूमि जहाँ आदरणीय स्रष्टा श्री गोपाल योञ्जन ज्यू जस्तो मूर्धन्य व्यक्तित्व जन्मनु भएको थियो, त्यही जन्मी हुर्केर अहिले नेपालको राजधानी काठमाडौँलाई कर्म थलो बनाउँदै नेपाली सङ्गीतको श्रीवृद्धिलाई धेरै गीतसङ्गीतमा आवाज अनि सङ्गीत दिएर टेवा पुराई रहनु भएको छ। आज हामी माझ हुनुहुन्छ।’
हुमागाईँको अभिव्यक्तिले कर्म ग्याल्छेनलाई पहिलो पटक सुन्नेलाई झन् सहज बनायो। ‘उहाँद्वारा गाइएका, सङ्गीतबद्ध धेरै सृजनाहरूले नेपाल तथा जहाँ जहाँ नेपालीहरू छन् त्यहाँ सम्म पुग्न अति नै महत्त्वपूर्ण सेतुको काम गरेको छ।’ उनले भने।
‘नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका रियालिटी सोहरूमा उहाँका गीत-सङ्गीतहरू जताततै गाइन्छ। उहाँको बारेमा अझै जति धेरै भने पनि कम लाग्छ ।’ मन्तव्यको बिट मार्दै गर्दा हुमागाईँले आफूहरूको जमर्कोको अर्थ फेरि प्रस्टाए, ‘आज उहाँलाई हाम्रो सहरमा ल्याउन पाएर हामी हर्षित छौ। सरल अनि शान्त ढङ्गले मिठा मिठा गीतसङ्गीतका साथमा रमाउन निम्ति सबै भेला भएका छौ ।’
कर्म ग्याल्छेन अगाडि नारायण खरेल,उसा गुरुङ,मनीकला राई, जीवन गुरुङ, कुन्ती गुरुङले पनि आ आफ्नो प्रस्तुति दिएका थिए।
प्रजित राणाको उद्घोषणले पनि कार्यक्रममा रस भरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सङ्गीतकर्मी रत्न गुरुङ, भुटानी कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले गायक कर्म ग्याल्छेनलाई स्वागत गर्दै आयोजकको आँटको प्रशंसा गरे।
कपालको चुल्ठो बाटेका हँसिलो र ठट्यौलो स्वभावका कर्म ग्याल्छेनले नेपाली सङ्गीतका नयाँ तथा पुरा गीत पस्किए। उनले सङ्गीतकर्मी राकेश काफ्लेलाई सम्झिए। ‘सङ्गीतकर्मीलाई कहिल्यै स्वर्गीय नभन्नु होला।’ कर्मको अनुरोध थियो। उनले काफ्लेद्वारा रचित गीत पनि दर्शकलाई सुनाए।
बिच बिचमा ठट्टा गर्दै कर्म ग्याल्छेनले हरेक पटक नयाँ गीत सुरु गर्न खोज्दा दर्शक दीर्घाबाट आवाज आउँथ्यो ‘बाबाको टोपी’ । अन्ततः उनले त्यो गीत नसुनाई धरै पाएनन्। हुन पनि ‘बाबाको टोपी’ नसुन्ने हो भने ‘कर्म ग्याल्छेन’ पूर्ण हुदैनन। अझ लाइभ वाद्यवादनमा झन् सुनमा सुगन्ध।
वरिष्ठ साहित्यकार गण्डकी पुत्र पनि यो तथ्यमा सहमत छन्। ‘चार वर्ष भयो म ह्यारिसबर्ग बस्न थालेको, मैले पहिलो पटक यस्तो कार्यक्रम देखे।’ गण्डकी पुत्र थप्छन्, ‘निकै राम्रो, व्यवस्थित, लाइभ बाजागाजा सहित, साङ्गीतिक मधुर साँझ शिष्ट खालको थियो। नेपालमै कुनै कार्यक्रम झल्को दिने। यसको आनन्द नै अर्को।’
कर्म ग्याल्छेनले पनि कार्यक्रमबाट आफू सन्तुष्ट भएको बताए। ‘म अमेरिका आउँदा ट्र्याकमा नै गाउँछु भनेर आएको तर यहाँ प्रत्यक्ष बाध्य वादनमा गाउन पाए खुसी छु।’ समाज टाइम्स सँगको कुराकानीमा उनले भने। उनले अमेरिकाको अन्य सहरमा पनि लाइभ वाद्यवादनमा नै गाएको बताए।
इनासका पेन्सिल्भेनियाका उपाध्यक्ष तथा विशाल ढुङ्गानाले अमेरिकामा नेपाली गायकका लागि लाइभ वाद्यवादन अब यतै तयार भएको बताए।
गोविन्द हुमागाईँले पनि आफुहरुको लक्ष्य पुरा भएको प्रतिक्रिया दिए। ‘दाजु (कर्म ग्याल्छेन) ले सहज रुपमा लिइदिनु भयो त्यसले पनि हामीलाई कार्यक्रम गर्न सजिलो भयो।’ उनले भने।
दीपेश चापागाईँको ‘भजन‘ विमोचन
‘कर्म साङ्गीतिक साँझ’ कै अवसर पारेर गजलकार दीपेश चापागाईँको भजन विमोचन गरिएको छ।
उनको भजन एल्बम ‘निर्मल सुधा’ विमोचन गरिएको हो। एल्बमको उद्घाटन गायक कर्मा ग्याल्चेन, अतिथि रत्न गुरुङ, महेश थुलुङ, विकास राईले गरेका थिए।
कार्यक्रमका थप तस्विरहरु



















