ह्यारिसबर्गमा मनाइयो सामूहिक रूपमा तमु ल्होसार, नयाँ पुस्ताको उत्साहजनक सहभागिता
पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग क्षेत्रमा रहेका गुरुङ समुदायले तमु ल्होसार सामूहिक रूपमा मनाएका छन् ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ ।
गुरुङ समुदायले हरेक वर्ष १५ पुसमा यो पर्व मनाउने गर्छन्। जसलाई तोला ल्होसार पनि भनिन्छ । नेपाल सहित विश्व भर रहेका गुरुङ समुदायले ‘ल्हो’ (बिरालो वर्ग) लाई बिदाइ गर्दै ’मुप्री ल्हो’ (गरुड वर्ग) को स्वागत गरेर भव्य रूपमा ल्होसार बनाएका छन्।
यसै क्रममा ह्यारिसबर्ग आसपासमा रहेका गुरुङ समुदायले एक ठाउँमा भेला भएर दिन हर्षोल्लासका साथ तमु ल्होसार मनाएका हुन्।
यो अवसर भुटनीज बौद्ध अर्गनाइजेशन (बी.बी.ओ) अन्तर्गत भुटनीज गुरुङ कम्युनिटी ग्रेटर ह्यारिसबर्गले जुराएको हो। लिङ्गलस्सटाउनमा आइतबार बिहान देखि भेला भएका समुदायका व्यक्तिले साँझ सम्म विभिन्न कार्यक्रम गरी ल्होसार मनाएका थिए।
कार्यक्रममा उपस्थितहरू आफ्नो भेषभुषामा सजिएका थिए। उल्लेख्य रूपमा सहभागी युवा पुस्ताका अधिकांशले गुरुङ जातिको मौलिक भेषभुषा पहिरिएका थिए। त्यसो त कार्यक्रममा गैर तमुहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा गुरुङ संस्कृति र परम्परालाई उच्च महत्त्व दिँदै नेपाली मौलिकता झल्कने आकर्षक नृत्य प्रस्तुत गरिएको थियो। गायक हिमेश केसाङ्गले सारङ्गीको धुन सुनाएका थिए भने उनले गीत पनि गाएका थिए। यस्तै गायिका मोनिका लोरुङ्ग र उसा गुरुङले पनि प्रस्तुति दिएका थिए।
अमेरिकामा नै जन्मिएकी दश बर्सिया अनुह्या तामाङले सुमधुर स्वरमा दुई वटा गीत गाएकी थिइन्। यस्तै स्थानीय कलाकार निहरिका गुरुङ र कान्छी ढुङ्गेलले पनि प्रस्तुति दिएका थिए।
सहभागीले नेपाली परम्परागत मिठो परिकार खाएर एक आपसमा ल्होसारको शुभ कामना साटासाट गर्दै रमाइलो गरेका थिए। छाता संगठन बीबीओका अध्यक्ष कुल पी गुरुङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। भुटानी गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गका अध्यक्ष हेम राज गुरुङको अगुवाईमा उपाध्यक्ष हर्क राज गुरुङ, महासचिव दिल बी गुरुङ, सचिव वीरेन गुरुङ,कोषाध्यक्ष पुष्प गुरुङ, प्रवक्ता अक्कल गुरुङ, गुम्बाका अध्यक्ष रत्न गुरुङ, सल्लाहाकारहरु ओम पी गुरुङ र टि बी गुरुङ लगायत लगायतको सक्रियता र समन्वयमा कार्यक्रम भएको थियो।
कार्यक्रममा बौद्ध धर्म गुरु ग्यालोङ कालसाङ रिम्पुछेको उपस्थिति रहेको थियो। धर्म गुरु रिम्पुछे कार्यक्रम स्थलमा प्रवेश गर्दा आयोजक संस्था भुटानी गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गका अध्यक्ष हेम (भूपाल) गुरुङ सहित आयोजकले स्वागत गरेका थिए।
सहभागीले गुरुबाट अभिषेक लिएका थिए।
कार्यक्रममा विशेष अतिथि समाजसेवी एवं वरिष्ठ मेडिकल चिकित्सक डा. खेम अधिकारी र भुटानी कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले शुभ कामना मन्तव्य दिएका थिए।
डा. अधिकारीले ल्होसार एउटा समुदायको मात्र नभएर सम्पूर्ण भुटानी-नेपाली समुदायको चाड भएको बताए। उनले ल्होसार आफ्नो समुदायको धरोहर भएको भन्दै एउटा मात्र नभई सबैको चाडको रूपमा लिनु पर्नेमा जोड दिए। अधिकारीले अन्य धर्ममा गएकाहरूलाई पनि चाडमा बोलाउनु पर्ने बताए।
यसै गरी बीसीएचका अध्यक्ष निरौलाले भुटानी गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गले संस्कृति संरक्षणमा उल्लेख्य भूमिका खेलेको भन्दै संस्थाको प्रशंसा गरेका थिए।
नेपाल सहित विश्वभर रहेका गुरुङसँगै तामाङ, शेर्पालगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरूले मनाउने ल्होसारको नाम भने फरक फरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । नेपालमा सरकारले ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
कार्यक्रम बिनोद गुरुङ र गौरी गुरुङले संचालन गरेका थिए।
कार्यक्रमका तस्बिरहरू