टेकनाथ रिजालले धरौटी बुझाए, अब बुधबार छुट्ने
काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उक्त आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए ।
आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिएका छन् ।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन्। रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनीसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।