आन्दोलन व्यवस्था परिवर्तन नहुञ्जेल जारी राख्ने दुर्गा प्रसाईंको घोषणा
काठमाडौं । दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ अघि बढ्नेसमेत चेतावनी दिए ।
उनले भने, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’
प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरे । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताए ।