भारत र क्यानडाको सम्बन्धमा सुधार, ई भिसा सेवा सुरु
काठमाडौं । करिब २ महिना पछि, भारतले क्यानाडाका नागरिकहरूको लागि ई–भिसा पुनस्र्थापित गरेको छ । क्यानडाका मानिसहरु अब भारत आउन सक्नेछन् ।
भारतका परराष्ट्रमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई भिसा दिने काम सुरु भएको जानकारी दिए । क्यानडा र भारतकाबीचमा दुई महिनाअघि विवाद हुँदा ई–भिसामा पनि प्रतिबन्ध लगाइएको थियो ।
क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि परराष्ट्र मन्त्री जयशंकरले प्रष्टिकरण दिएका छन् ।
ई भिसाको नियम साधारण राहदानी लिएकाहरुका लागि हो । अन्यले भौतिक अर्थात् कागजी भिसाको लागि आवेदन दिनुपर्ने छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा हरदीप सिंह निज्जर हत्या प्रकरणमा भारतीय एजेन्सीको हात रहेको बताएका थिए । उनको भनाई पछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।
एक भारतीय नागरिकलाई क्यानडा छोड्न आदेश दिएपछि यो सम्बन्ध थप बिग्रिएको थियो ।
भारत सरकारले ट्रुडो सरकारको यो निर्णयको बदला लिँदै क्यानाडाली नागरिकलाई भारत छोड्न आदेश दिएको थियो । ई–भिसामा प्रतिबन्ध पनि ती चरणहरू मध्ये एक थियो। खलिस्तान समर्थक हरदीप सिंह निज्जरलाई जुन २०२३ मा सरेमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए ।