योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग सांसद पौडेलको आग्रह

काठमाडौँ । नेपाली काँग्रेस नेता एवम् सांसद प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् ।नेपाल र दक्षिण कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठमा कोरिया नेपाल पार्लियामेंट्री कमिटीद्वारा आज कोरियाको राजधानी सिओलस्थित नेशनल एसेम्ली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् ।
उनले कोरियामा काम गर्ने नेपालीहरू काम गर्न आएको समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे ।
पौडेलले नेपाल र कोरियाबिच कनेक्टिभिटी बढाउने र दुवै देशका बिचमा सिधा हवाई उडानहरू दुवै तर्फका ध्वजावाहकहरूलाई उडान स्वीकृति प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । सीधा उडान भए सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने र यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एक अर्काको देशमा अवसरहरू अन्वेषण गर्न सहयोग पुग्ने पौडेलले उल्लेख गरे ।
सांसद पौडेलले गत कात्तिक १७ गते राति जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहेका नेपालीहरूलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै उनले दक्षिण कोरियाले छोटो अवधिमा हासिल गरेको प्रगति नेपालका लागि प्रेरणाको श्रोत बनेको बताए । नेपाल पनि सामाजिक९आर्थिक विकासमा अघि बढिरहेका बेला कोरियाको सफल रणनीतिलाई आत्मसाथ गरी कार्यान्वयन गरे नेपाललाई दिगो विकास र विकासतर्फ लैजान सकिने नेता पौडेलले उल्लेख गरे ।
लगानीलाई प्राथमिकतामा राखेर व्यवस्थित प्रक्रिया र प्रोत्साहनका साथ लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल प्रतिबद्ध रहेको भन्दै पौडेलले कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरे ।दुवै राष्ट्रलाई फाइदा हुने अवसरहरू सिर्जना गरेर लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल तयार रहेको उनले उल्लेख गरे ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि आजसम्म नेपाल र कोरिया बिचमा सांस्कृतिक आदानप्रदान, आर्थिक साझेदारी, शान्ति र समृद्धिको प्रवर्द्धन र जनता – जनता बिचको अन्तरक्रिया लगायत सांस्कृतिक आदानप्रदानले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्धलाई थप बलियो बनाउँदै लगेको पौडेलले दाबी गरे ।