अपहरणबाट जोगिएको त्यो दिन: नारायण भण्डारी

उपभोक्ताहरूमा सूचनाको पहुँचले स्थानीय सामुदायिक संस्थामा पारदर्शिता र सुशासनको विकास हुन्छ भन्ने विश्वास लिएर जीविकोपार्जनका लागि वन विकास कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वनमा एउटा सञ्चार नमुना कार्यक्रम सुरु गरियो । म नवलपरासी जिल्लाको रजहर गाउँ विकास समितिको बासिन्दा र यस स्थानीय यस धुसेरी सामुदायिक वन उपभोक्ता समूहको सदस्य भएकोले र सञ्चारमा क्षेत्रमा समेत अनुभव भएकोले समिति कै सिफारिसमा दातृसंस्थाले मलाई सामुदायिक वनमा सूचना सञ्चारको काम गर्न नमुना सञ्चार कार्यक्रमको संयोजकमा छनौट गर्यो ।
विक्रम सम्वत २०६१-६२ तिरको कुरो हो जीविकोपार्जनका लागि वन विकास कार्यक्रमको यो सञ्चार सहयोग नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा एकै पटक सुरु गरिएको थियो । तीन जिल्लाका एक एक वटा सामुदायिक वन समावेश गरी सबै सामुदायिक वन समितिलाई त्यहाँका सामुदायिक वनका गतिविधि र विकास कार्यक्रमलाई केन्द्रमा राखेर पाक्षिक पत्रिका प्रकाशन र अडियो टावर सञ्चालन गर्नु पर्ने जिम्मेदारी दिइएको थियो।
नवलपरासीको धुसेरी सामुदायिक वन समुदायमा हस्तान्तरण गरिएको नेपाल कै पहिलो सामुदायिक वन हो । २०५२ सालमा राष्ट्रिय वनको करिब तीन सय हेक्टर क्षेत्रफल पहिलो पटक समूहलाई हस्तान्तरण गरिएको थियो । यो सामुदायिक वन नेपाल कै सबैभन्दा पहिलो सामुदायिक वन भए पनि बेला बेलामा हुने गरेका ठुला आर्थिक भ्रष्टाचारका समस्याले नेपालको राष्ट्रिय समाचारमै पटक पटक स्थान पाईँ सकेको थियो । सञ्चार अभियान सँगै जीविकोपार्जनका लागि वन विकास कार्यक्रमले सामुदायिक वनलाई राम्रै आर्थिक सहयोग समेत गरेको थियो । दातृसंस्थाको तर्फबाट रमेश मास्केले सञ्चार अभियानको कार्यक्रम अनुगमन र सल्लाह दिने गर्नुहुन्थ्यो ।
विक्रम संम्वत २०५९-६० मा धुसेरी सामुदायिक वन उपभोक्ता समितिमा भएको ठुलो आर्थिक हिनामिनाको समाचार लेखेकै कारण म माथि समितिकै केही मानिसहरूले संघातिक आक्रमण गरेका थिए । त्यो वर्ष समितिले गरेको वनको दुरुपयोग र आर्थिक हिनामिनाले संस्थाको अस्तित्व नै सङ्कटमा परेको थियो । अनुसन्धान र छानबिनका लागि जिल्ला वन कार्यालयले सामुदायिक वनका केही महत्त्वपूर्ण कागजपत्र कब्जा गरेर सदरमुकाम पुर्याएको थियो ।
भ्रष्टाचार कै कारण देखाउँदै सरकारले समुदायलाई हस्तान्तरण गरेको प्रमाण नै खोस्न सक्ने अवस्था आएको थियो । त्यसैले करिब दुई वर्ष धुसेरी सामुदायिक वनका सम्पूर्ण गतिविधि रोकिएको थियो ।सामुदायिक वनमा भ्रष्टाचार नियन्त्रण गर्न र समूहका सदस्यहरूलाई वन संरक्षणको महत्त्व बुझाउन चुनौती नै थियो । त्यसैले त्यस पछिका समितिका हरेक बैठक र छलफलका हरेक प्रस्तावहरू र निर्णयहरू बुझिने र सरल भाषामा समाचार बनाएर समूहमा लैजानु र सामुदायिक वनको महत्त्व बुझाउन समाचार र लेखहरू मार्फत सुरु गरिएको थियो । मैले गाउँघरका कुराकानी नामको पाक्षिक पत्रिका मार्फत यो काम गरिरहेको थिए । तर भ्रष्टाचारीलाई र स्थानीय माओवादी नेतृत्वलाई यो कुरा पटक्कै मन परिरहेको थिएन ।
यो कार्यक्रमलाई निरुत्साहित गर्न र मलाई डर त्रास देखाएर कार्यक्रम बन्द गराउन मलाई निकै ठुलो मानसिक यातना दिएका थिए । सामुदायिक वनको गतिविधि केन्द्र सम्म पुर्याऊन यो कार्यक्रम निकै प्रभावकारी हुँदै गएको थियो । तर यही कार्यक्रम बन्द गराउन स्थानीय माओवादीका कार्यकर्ताले माओवादी पार्टीको उच्च तहमा पटक पटक उजुरी गरिरहेको सूचनाहरू आई रहेका थिए । ।
यसै क्रममा एक दिन म आफ्नो सम्पर्क कार्यालय कावासोती पुगेर घर फर्किरहेको थिए , रजहर बजारमा गाडीबाट ओर्लिएर बजारतिर स्थानीय साथीहरू सँगै गफिँदै थिए । म साथीहरू सँग गफिँदै गर्दा एक्कासि पछिबाट कसैले मेरो हात समातेको अनुभव भयो, पछाडि फर्केर हेरेको त धुसेरी सामुदायिक वन कै सचिव शिव वाग्ले हुनुहुँदो रहेछ । चिर परिचित मित्रले मित्रता जाहेर गर्दै कुनै सन्देश दिन चाहेको मैले बुझे ।
मैले गफिँदै गरेका साथी छोडेर मित्र शिव वाग्लेले इसारा गरेतिर उहाँ सँगै अधि बढ़ें । केही पर पुगेपछि शिवले मलाई रोक्दै मलाई अपहरण गर्न आफ्नो पार्टीका केन्द्रीय नेता सहितको टोली रजहर आएको र ऊनीहरूकै निर्देशनमा आफू मेरो राजीनामा पत्र लिन आएको उहाँले जानकारी दिनुभयो । शिव वाग्लेले आफूलाई यस क्षेत्रकै सक्रिय माओवादी कार्यकर्ता भएको बताउनु हुन्थ्यो ।
उहाँले माओवादीकै केन्द्रीय नेता सहितको टोली धुसेरी सामुदायिक वन समितिका अध्यक्ष पूर्ण प्रसाद गौतमको घरमा आएर बसेको जानकारी दिनुभयो । म डरले विचलित भए । विद्रोह उन्मादले चरम उग्र भएको बेला भएकोले विना कसुर नै कोही पनि माओवादी कारबाहीमा पर्न सक्थे । उहाँले मलाई एक घण्टाको समय दिँदै राजीनामा नदिए केहिबेरपछि अपहरण गर्ने पूर्ण तयारी रहेको जानकारी दिनुभयो ।
म विचलित हुँदै बजारबाट घर आए । मैले मेरा हर समस्यामा सल्लाह लिने मेरो साना बा (अङ्कल) ज्योति भण्डारी सँग गए । अङ्कलले मलाई राजीनामा लेखेर बुझाउनु नै राम्रो हुने सल्लाह दिनु भयो ।मैले तुरुन्तै राजीनामा लेखेर मित्र शिव कै हातमा राखिदिए ।
यसरी त्यो दिन म झन्डै माओवादी अपहरणको सिकार हुनु परेन । म जस्तो एउटा निरीह र निःशस्त्र मानिसलाई माओवादीले अपहरण गर्नु कुनै ठुलो र कठिन काम त थिएन न त मलाई अपहरण गर्न केन्द्रीय तहका नेता आउनु पर्थ्यो ! तर अन्तर्राष्ट्रिय दाता (डीएफआइडी) मार्फत बेलायत सरकारको सहयोगमा सञ्चालन गरिएको काम भएर हुनसक्छ मलाई राजीनामा गराएर उनीहरू त्यो कार्यक्रम बन्द गराउन चाहन्थे । त्यसका लागि माओवादीले मलाई निकै त्रास देखाएर मेरो राजीनामा मागेका थिए । मैले राजीनामा दिएपछि त्यो सञ्चार अभियानको सम्पूर्ण कार्यक्रम बन्द भयो ।
(लेखक अहिले अमेरिकाको टेक्ससमा व्यवसाय गर्दै आउनु भएको छ।सं)