नेपाली फुटबल टोली आइतबार युएई जाने

काठमाडौं । फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल्न युएई जान लागेको नेपाली फुटबल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका हुन् ।
एन्फाले फिफा विश्वकप छनोटको दोस्रो चरण र एएफसी एशिया कप २०२७ को छनोटका लागि तीन नयाँ खेलाडीसहित २३ सदस्यीय घोषणा गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई घिसिङले विदाई गरेका हुन् ।
घोषित टोलीमा मिडफिल्डर निशान हमाल ठकुरी, डिफेन्डर योगेश गुरुङ र फरवार्ड राजेश परियारले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल नेपालले समूह ‘एच’मा बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ ।
उक्त खेलका लागि नेपालका अनुभवी डिफेन्डर अनन्त तामाङ भने छैनन् ।
उनले अभ्यासका क्रममा घुँडामा चोट लागेपछि नखेल्ने भएका हुन् । नेपाली टोलीका तीन गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा तथा मिडफिल्डरमा लाकेन लिम्बू, उत्सव राई, कीर्तीशरत्न छुन्जू, मनीष डाँगी र सेसेहाङ आङदेम्बे छन ।
त्यस्तै फरवार्डमा अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव बिष्ट छन् । नेपालले कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्नेछ । त्यसका लागि नेपाली टोली आइतवार युएई प्रस्थान गर्दै छ ।
युएईसँगको खेललगत्तै नेपाल समूहको दोस्रो खेल खेल्न स्वदेश फर्किनेछ । नेपालले मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा यमनसँग खेल्नेछ । यो समूहमा नेपाल, युएई, यमन र बहराइन छन् ।
पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन् । युएई र बहराइनले भने फिफा वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका छन् ।