सन्दीपको मुद्दाको सुनुवाइले निरन्तरता बुधवार पनि पाउने
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबार हेर्दाहेर्दैमा परेको छ ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले वादी प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेको हो । पेसीले बुधबार निरन्तरता पाउने उच्च अदालतले जनाएको छ ।
बलात्कार मुद्दामा सजाय तोकिएका लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याएर आफूले सफाइ पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गएका थिए ।
काठमाडौं अदालतले बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष कैद, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । यसैबीच लामिछानेको मुद्दामाथि बहस हुँदै गर्दा उनका समर्थकहरु अदालत परिसर पुगेका थिए । उनीहरुले लामिछानेको मुद्धाको छिटो टुङ्गो लगाउन माग गरेका थिए ।