विश्वकप क्रिकेटमा अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै

लखनउ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । आज भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई १११ बल बाँकी रहँदा ७ विकेटले पराजित गरेको हो । पहिले खेलेको नेदरल्याण्ड्सको टोली ४६.३ ओभरमा १७९ रन बनाएर अलआउट भएको थियो, जवाफमा अफगानिस्तानले ३१.३ ओभरमा ३ विकेट गुमाएर १८१ रन बनाएर खेल जितेको थियो ।
नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जुन इनिङ्सको पाँचौं बलमा गलत सावित भयो र वेस्ली बारेसी (१) ३ रनमा मुजिब उर रहमानको शिकार बने । खराब फर्मसँग संघर्ष गरिरहेका म्याक्स ओ’डाउड (४० बलमा ४२ रन)ले दोस्रो विकेटका लागि कोलिन एकरम्यानसँग अर्धशतकीय साझेदारी गर्दै स्कोरलाई ७० भन्दा माथि पुर्याए पनि १२औं ओभरमा ७३ रनको स्कोरमा रनआउट भए । ।
१९ औं ओभरमा ९२ रनको स्कोरमा एकरम्यान पनि ३५ बलमा २९ रन बनाएर पभेलियन फर्किए । उनको विकेट पनि रनआउटमा परेको थियो । कप्तान स्कट एडवर्ड्स खाता खोल्न सकेनन् र ९२ रनको स्कोरमा रनआउट भए । २१औं ओभरमा बास डे लिड (३) पनि आउट भए र ९७ रनको स्कोरमा टोलीलाई पाँचौं झट्का लाग्यो। नेदरल्याण्ड्सले २२ औं ओभरमा १०० रन पुरा गर्यो ।
विकेटको क्रम जारी रह्यो र २६ औं ओभरमा ११३ रनको स्कोरमा साकिब जुल्फिकार (३) लाई नूर अहमदले पभेलियनको बाटो देखाए । १३४ रनको स्कोरमा लोगान भान बेक पनि ३१ औं ओभरमा २ रनको व्यक्तिगत स्कोरमा आउट भए । लगातार विकेटको पतनको बीचमा सिब्रान्ड एङ्गलब्रेचटले एक छेउ समातेर ३५ औं ओभरमा १५२ रनमा आउट हुनुअघि ८६ बलमा ५८ रनको इनिङ खेलेका थिए। उनको इनिङ्सकै मद्दतले नेदरल्यान्ड्सले १५० रनको अंक पार गर्न सफल भयो ।
नवौं विकेटका लागि रोइलोफ भान डर मर्वे (११)ले आर्यन दत्त (१०*) सँग १७ रन जोडे र १६९ रनको स्कोरमा आउट भए। नेदरल्याण्डको इनिङ्स ४७ औं ओभरमा सकियो र १७९ रनको स्कोरमा पल भान मिकरेन (४) अन्तिम विकेटका रूपमा मोहम्मद नाबीको शिकार बने । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक ३ विकेट लिए । नूर अहमदले दुई र मुजिब उर रहमानले एक विकेट लिए ।
लक्ष्य पछ्याएको अफगानिस्तानले २७ रनमा पहिलो विकेट गुमायो । छैठौं ओभरमा रहमानुल्लाह गुरबाज (१०) लोगान भान बेकको शिकार बने । रहमत शाहले इब्राहिम जाद्रान (२०) को साथमा १० औं ओभरमा स्कोरलाई ५० भन्दा माथि पुर्याए । ११ औं ओभरमा ५५ रनको स्कोरमा जाद्रान आउट भए ।
रहमत शाह र कप्तान हसमतुल्लाह शाहिदीले जारी विश्वकपमा तेस्रो विकेटका लागि लगातार तेस्रो अर्धशतकीय साझेदारी गर्दै ७७ बलमा ७४ रन जोडे। यस क्रममा अफगानिस्तानले १९ औं ओभरमा १०० रन पुरा गरेको थियो । २३औं ओभरमा १२९ रनमा आउट हुनुअघि रहमत शाहले प्रतियोगितामा लगातार तेस्रो अर्धशतक ४७ बलमा पूरा गरे । ५४ बलमा ५२ रन बनाएर साकिब जुल्फिकारको शिकार बने ।
उनको आउट भएपछि हसमतुल्लाहले जिम्मेवारी लिए र प्रतियोगिताको आफ्नो दोस्रो अर्धशतक ५९ बलमा पूरा गरे। उनले ६४ बलमा ५६ रनको अविजित इनिङ खेले र चौथो विकेटका लागि अजमातुल्लाह ओमरजाई (२८ बल ३१*) सँग ५२ रनको अविजित साझेदारी गर्दै ३२ औं ओभरमा आफ्नो टोलीलाई जित दिलाए। नेदरल्यान्ड्सका लागि लोगान भान बेक, रोइलोफ भान डर मर्वे र साकिब जुल्फिकारले एक एक विकेट लिए ।
विश्वकप २०२३ मा अफगानिस्तानको अर्को खेल अष्ट्रेलियासँग नोभेम्बर ७ मा मुम्बईमा हुनेछ। नेदरल्याण्ड्सको अर्को खेल इङ्ल्यान्डसँग नोभेम्बर ८ मा पुणेमा हुनेछ। जितपछि अफगानिस्तान तालिकाको पाँचौं स्थानमा उक्लदैँ सेमिफाइनल सम्भावना कायमै राखेको छ । नेदरल्याण्डस भने प्रतियोगिताबाट आउट भएको छ ।