एनआरएन हेडक्वाटरमा पत्रकार कुटिएको घटनालाई बद्री समूहको घुमाउरो समर्थन
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएन डा. बद्री केसी समूहले आरके शर्मा समूह पक्षका कारण काम गर्न नदिएको आरोप लगाएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे सबै अवगत भएको बताउँदै उप विजेता भएका पक्षले हुलहुज्जत गरेको र कार्यालय सञ्चालनमा बाधा पुगेको बताएका छन् ।
अक्टोबर १९ तारिखमा भएको निर्वाचनको नतिजा प्रकासनका क्रममा देखिएको त्रुटी पछि एनआरएनएमा दुइ समानन्तर समिति गठन भएको छ।
सो नतिजामा जितेका भनिएका केसी समुहले सपथ ग्रहण गरेपछि आरके शर्मा पक्षले समानान्तर समिति गठन गरेको थियो । उक्त समितिले एनआरएनएको सचिवालय बालुवाटारमा प्रवेश गर्न खोज्दा मंगलबार एमालेको भातृ संस्था युवा संघ नेपालका कार्यकर्तालाई लगाएर नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्षसमेत रहेका एनआरएनए अभियन्ता ओम शर्मा कुटिएपछि अहिले एनआरएनभित्रको रडाको छताछुल्ल भएको छ ।
यस्तोमा केसी र उनको समूहका महासचिव गौरीराज जीशीले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा उपविजयी भएको पक्षले संघको नियमित कार्यमा बाधा पुर्याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरुलाई आफू अनुकुल काम गर्न दबाब दिई मानसिक रुपमा प्रताडित गर्ने, संघको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैंकको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरु गर्दै आएकोले अहिले सचिवालयका कर्मचारीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने स्थिति पैदा भएको उल्लेख गरेका छन् ।
यस परिस्थितिबारे प्रहरी प्रशासनलाई जानकारी गराईसकिएको र प्रहरीले आफ्नो तर्फबाट निगरानी गरिरहेको बताएका छन् ।
मंगलबारको घटनापछि आरके शर्माले उजुरी दिए पछि आजै केसीले पनि उजुरी दिएका थिए । उजुरीमा पत्रकार ओम शर्मासहितलाई विपक्षि बनाएर जिउ ज्यानको सुरक्षा मागेका केसीले एनआरएनएको सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा पत्रकार शर्माको नाम भने उल्लेख गरेका छैनन् ।
यसलाई बद्री समूहले पत्रकार कुटीएको घटनलाई घुमाउरो शैलीमा समर्थन गरेको छ । विज्ञप्तिमा पत्रकार कुटीएको कुरालाई कही उल्लेख गरिएको छैन । तर, मंगलबारको घटनालाई लिएर अहिले एनआरएन बद्री समूहको भने चौतर्फी आलोचना भइरहेको छ ।
केसीले विज्ञप्ति जारी गरेको केही बेरमै सामानन्तर समिति गठन गरेर अध्यक्ष भएका शर्माले केसीको विज्ञप्तिबाट कोही पनि भ्रममा नपर्न सार्वजनिकरुपमा अपिल पनि गरेका छन् ।