नेपाली महिला फुटबलर एन्जिलाको बायोपिक बन्दै
काठमाडौं । महिला फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित रहेर चलचित्र छयांकन सुरु गरिएको छ । महिला टिमकी गोलरक्षकसमेत रहेकी एन्जिला तुम्बापो सुब्बाको बायोपिक छायाँकन सुरु गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
यो चलचित्रको दुई वर्षअघि नै निर्माण घोषणा गरिएको थियो । यो एन्जिलाको बायोपिक भएकाले यस चलचित्रमा एन्जिला आफैं मुख्य भूमिकामा रहनेछिन् । उनले हालै मात्र मण्डला थिएटरमा चार महिनासम्म अभिनयको प्रशिक्षण लिएकी थिइन् । उनको अभिनय प्रशिक्षण सकिएपछि चलचित्रको छायांकन सुरु गरिएको हो ।
चलचित्रको इलामबाट छायांकन सुरु गरिएको छ । इलाममा एन्जिलाको बाल्यकाल र फुटबलको संघर्षका दृश्य छायांकन गरेर बाँकी छायांकन तराई र काठमाडौंमा गरिने पनि उनले जानकारी गराएका छन् । एन्जिलाको जन्मथलोबाट चलचित्रको छायांकन सुरु गरिएकाले गाउँका कतिपय बास्तविक पात्र पनि यसमा समेटिएको निर्देशक चाम्सले बताएका छन् ।
२०५३ सालमा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यू–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी सन् २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी दुई वर्ष बेन्चमै सीमित भइन् ।
त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला ‘पल्सर स्पोर्ट्स अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यस विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।
एन्जिला ओलम्पिक क्वालिफाइङ राउन्डमा दोस्रो राउन्डसम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसैगरी, उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् ।
उनी साफको सिल्भर मेडलिस्ट गोलरक्षक हुन् भने श्रीलंकामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलंकालाई जितेर पहिलोपटक गोल्ड मेडल ल्याउने गोलरक्षक पनि हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि २ गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।