परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका आउने, यस्तो छ भ्रमण तालिका

पेन्सिल्भेनिया । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद आइतबार अमेरिका आउने भएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भेट गरेर उनी अमेरिका आउने जनाइएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर मन्त्री साउदले कात्तिक १२ गते आइतबारदेखि १९ गतेसम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्ने जनाएको छ ।
अमेरिका आइ पुगेपछि मन्त्री साउदले सोमबार वासिङ्टन डीसीमा समकक्षी एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन् । सन् २०१८ डिसेम्बर १८ देखि २१ मा केपी ओली नेतृत्वका सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए ।
त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए । यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्री साउद केही समयअघि न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगै अमेरिकाका आएका थिए ।
परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमणका बेला अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर, अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी. अलब्राइट र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । त्यसबाहेक परराष्ट्रमन्त्री साउदले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम छ भने नेपाली–अमेरिकी व्यापारिक समुदाय, प्राविधिकसम्बन्धी एडभाइजरी नेटवर्क र एनआरएनएका प्रतिनिधिहरूसँग कुराकानी गर्नेगरी कार्यतालिका बनाइएको छ ।
