एनआरएनमा पराजित समूहद्वारा विद्रोहको घोषणा : निर्वाचन परिणाम नमान्ने
काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको पराजित समूहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्याएको छ ।
असन्तुष्ट समूहले शनिवार ललितपुरस्थित एक होटेलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्द सत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताए।
पत्रकार सम्मेलनमा अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याउँदै मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको आरोप लगाए ।
‘१४ दिनभित्र अनुसन्धान गर्ने र कुनै गल्ती भेटिए पुनः मतदान गर्न उहाँहरू पनि सहमत हुनुभएको थियो । तर, आज नाटकीयरुपमा बिहानै आत्तुरी गरेर शपथग्रहण गर्नुभयो । यो जालसाँझी हो ।’ शर्माले भने ‘ उहाँ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ, तर उहाँ अध्यक्ष होइन ।’
सहमति विपरीत आजै सपथ खानुले धाँधली भएको पुष्टि हुने उनको तर्क छ ।
यही सम्मेलनको बन्द सत्रलाई निरन्तरता दिन र नयाँ बाटो तय गरेर जान उनको आग्रह छ ।