पेन्सिल्भेनिया गभर्नर शापिरोद्वारा अक्टोबरलाई ‘हिन्दु सम्पदा महिना’ घोषणा

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यका गभर्नर जोस शापिरोले अक्टोबर महिनालाई ‘हिन्दु सम्पदा महिना’ घोषणा गरेका छन्।
शापिरोले गत अगस्ट महिनामा यस्तो घोषणा गरेका हुन्। तर नेपाली भाषी समुदायलाई यसको औपचारिक जानकारी बुधवार दिइएको हो।
अर्गनाइजेशन अफ हिन्दु रिलिजन एन्ड कल्चर (ओएचआरसी) अन्तर्गत महिला जागरण एवं उत्थान समूहले ह्यारिसबर्गमा आयोजना गरेको ‘पञ्च दिवसीय सङ्गीतमय श्रीमद्कूर्मपुराण’ को उद्घाटन अगाडि गभर्नर शापरोका प्रतिनिधिले यसको जानकारी गाएका हुन्।
ह्यारिसबर्गमा रहेको लक्ष्मी नारायण हरिहर धाममा पुराण अगाडि आयोजित विशेष समारोहमा एसियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर (एएपीआइ) मामिलाहरूमा गभर्नरको सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिन कारुले मन्दिरका अध्यक्षलाई गभर्नरको पत्र हस्तान्तरण गरे।
कारुले श्री लक्ष्मी नारायण ‘हरिहर धाम’का अध्यक्ष प्रेम खनाल र श्री लक्ष्मी नारायण मन्दिरका अध्यक्ष टीका ढुङ्गानालाई गभर्नरको पत्र हस्तान्तरण गरेका थिए।


सो अवसरमा भुटनीज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले पनि सम्बोधन गरेका थिए।
‘म सबै पेन्सिलभेनियालीहरूलाई हिन्दु-अमेरिकी समुदायले हाम्रो राज्यमा गरेको विशाल योगदानलाई मान्यता दिन र विविधताको कदर र सबैका लागि सुरक्षित गरिएको राम्रो संसार निर्माण गर्न प्रतिबद्ध गर्न प्रोत्साहित गर्दछु।’ हिन्दु सम्पदा महिना घोषणा पत्रमा शापिरोेले भनेका छन्।
गभर्नरले उत्तर अमेरिकामा हिन्दु धर्मको यात्रा अठारौँ शताब्दीको उत्तरार्धमाबाट सुरु भएको उल्लेख गरेका छन्।
‘हिन्दु-अमेरिकी समुदायले हाम्रो विविध जातीय र सामाजिक इतिहासको एक महत्त्वपूर्ण भागको प्रतिनिधित्व गर्दछ र महत्त्वपूर्ण भूमिका खेलेको छ।’ गभर्नरले भनेका छन्,’ पेन्सल्भेनियाको आर्थिक, सांस्कृतिक, आध्यात्मिक र राजनीतिक विकासमा बहुमूल्य योगदान दिएको छ।’


कार्यक्रम भिडियोमा
कार्यक्रमको तथ तस्वीरहरु