एनआरएनएद्वारा ५० बालबालिकालाई सहयोग

काठमाडौँ/ गैर आवासीय नेपाली संघको महिला विभागको नेतृत्वमा सञ्चालित “एक गैर आवासीय नेपालीको प्रतिबद्धता एक असहाय बालबालिकाको सहायता” परियोजना हस्तान्तरण गरिएको छ ।
संघकी महिला सचिव टिका गुरुङको संयोजकत्वमा सञ्चालित परियोजनामा नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय बाल कल्याण समितिको निर्देशनमा सरोकारवाला साझेदार यूसेफ नेपालमा संरक्षित बालबालिकाको लालन पालन, शिक्षा तथा स्वास्थ्यका लागि यो परियोजना फलदायी हुनेछ ।
संघले युसेफ नेपालमा रहेका ५० जना बालबालिकाको लागि आर्थिक सहायता गरेको हो । आगामी ३ वर्षसम्ममा अन्य ५० जना बालबालिकाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा संघका कार्यकारी डा बद्री केसीले विशेष सम्बोधन गर्दै बालबालिकाको सहारा बन्न पाउँदा खुसी लागेको भन्दै भविष्यमा कुनै पनि बालबालिका सडकमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

युसेप नेपाल उपाध्यक्ष गणेशप्रसाद अधिकारीले एनआरएनएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै संघले यूसेपमाथि गरेको विश्वासमा खरो उत्रने उल्लेख गरे ।
कार्यक्रममा संघकी उपाध्यक्ष यास्मिन बेगम सैयद, एनसीसी हङकङका शान्तोष गुरुङ, सह कोषाध्यक्ष कञ्चन थापा, महिला संयोजक कविता गुरुङ र पूर्व सल्लाहकार चन्द्र ज्योति आले, एनआरएनए सहायक निर्देशक वन्दना शर्मा सहित यूसेप नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
